26th March | 2019 | Tuesday | 1:29:53 AM

सजिलो छैन प्रचण्ड बन्न : दाहाल

हिमालय टाइम्स   POSTED ON : चैत्र १, २०७५ (५:१३ AM)

सजिलो छैन प्रचण्ड बन्न : दाहाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले ‘प्रचण्ड’ बन्छु भनेर आफ्नो नक्कल नगर्न नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको समूहलाई सुझाव दिएका छन् । ‘प्रचण्ड’ उपनामबाट १० वर्षे जनयुद्धको नेतृत्व गरेका दाहालले कसैले चाहना गर्दैमा प्रचण्ड बन्न नसक्ने पनि प्रस्ट पारेका छन् ।

बिहीबार वाइसिएल नेपालले पेरिसडाँडास्थित नेकपा कार्यालयमा आयोजना गरेको शहीद तथा बेपत्ता परिवार सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले नक्कल गरेकै भरमा कोही प्रचण्ड हुन नसक्ने बताए । ‘साथीहरू कतिपयले प्रचण्डले यस्तो ग¥यो, यो भयो, अब म अर्को प्रचण्ड बन्छु भनेर भन्दै हिँडेको पनि सुन्या छु मैले,’ दाहालले भने, सजिलो छैन प्रचण्ड बन्न पनि, कसैले चाहेर पनि भइहाल्ने हैन, म पनि प्रचण्ड बन्छु भनेर हिँडेको थिइनँ, जनताको काम गर्छु भनेर हिँड्दा हिँड्दै जनताले मलाई प्रचण्ड बनाइदिए ।’

उनले नक्कल गरेर पास नभइने पनि स्मरण गराए । आफूले युद्धकै मैदानबाट विगतमा तत्कालीन राजा ज्ञानेन्द्रलाई ‘महेन्द्रको कलाविहीन नाटक प्रदर्शन खोज्या छ, यो सफल हुने कुरा होइन’ भनेर टिप्पणी गरेको स्मरण गर्दै दाहालले भने, ‘महेन्द्रले आफ्नो जमानामा जे गरे, अब अर्कोले षड्यन्त्रपूर्णढंगले आएर म पनि त्यही गर्छु र देखाउँछु भन्यो भने त्यो सफल हुने कुरा होइन, यो एउटा कलाविहीन नौटंकीमात्र हुन्छ भनेको थिएँ, भयो त्यस्तै ।’

विप्लवतर्फ लक्षित गर्दै उनले भने, ‘यो ०५२ साल होइन । अहिले नेपालमा राजतन्त्र छैन । अहिले नेपालमा महिला, दलित, जनजाति सबैको लागि समावेशी, समानुपातिक प्रतिनिधित्वसहितको हिजोसँगै लडेका आफ्नै साथीहरूको सरकार छ । अनि परिस्थिति हेर्नुपर्दैन ?’ प्रचण्डकै नक्कल गरेर प्रचण्ड हुन्छु भनिठान्यो भने त्यो भ्रममात्र हुने दाहालको भनाइ थियो । ‘त्यो भ्रमले कहीँ पनि पुग्दैन,’ उनले भने, ‘दुर्भाग्यपूर्ण परिणाममात्र पुग्छ ।’

विप्लव समूहबाट आफ्नो हत्याका लागि योजना बनाएकोबारे सरकारले आफूलाई जानकारी गराएको पनि दाहालले बताए । ‘पछिल्लो चरण मेरो कार्यालयको सचिव भएर बसेका विप्लवहरूले,’ दाहालले भने, ‘प्रचण्डलाई नै एक नम्बरमा मार्नुपर्छ भनेर उहाँहरूले माइन्युट गर्नु भा छ रे ¤ मलाई ती साथीहरू सम्झिदा दया, माया लाग्या छ वास्तवमै ।’

दाहालले प्रश्न गरे, ‘मलाई मारेर यो संघीय लोकतान्त्रिक गणतन्त्र अथवा यो परिवर्तन बच्ने हो त ?’ राज्यले संविधान अनुसार, ऐनकानुन अनुसार नै व्यवहार गर्ने प्रस्ट पार्दै उनले परिस्थितिलाई ठीक ढंगले विश्लेषण गर्न विप्लव समूहलाई सुझावसमेत दिए । ‘हाम्रै कारणले यो परिवर्तन आएको हो,’ उनले भने, ‘यसलाई उल्टाएर फेरि मुलुकलाई निरंकुशतातर्फ लैजाने हो त ? म विचार गर्न आग्रह गर्दछु ।’

देशमा भएका सबै परिवर्तनको पछाडि महान् शहीदहरू र बेपत्ता योद्धाहरूको त्याग र तपस्या नै मुख्य कारण भएको दाहालले बताए । दशवर्षे जनयुद्धको क्रममा ज्यान गुमाउने शहीद तथा बेपत्ताको बलिदानीपूर्ण संघर्षकै कारण नेपालले नयाँ राजनीतिक व्यवस्था पाएको उनको भनाइ थियो ।

उनले सत्यनिरूपण तथा मेलमिलाप आयोगको काम र बेपत्ता छानबिन आयोगकाबारे प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र आफूबीच छलफल भएर समझदारी बनेको पनि बताए । ‘छिट्टै आयोग पुनर्गठन गर्ने, आवश्यक पर्ने सिफारिस कमिटी बनाउन सरकारलाई सुझाव दिने र छिट्टै यो प्रक्रियालाई निष्कर्षमा पु¥याउने भन्नेबारे राम्रो समझदारी भएको छ,’ उनले भने ।

एकथरी मानिसलाई अहिले पनि शहीदलाई सम्मान गर्ने, परिवर्तनको मुख्य कारण माओवादी आन्दोलन हो भन्ने कुरा स्वीकार्न मन नरहेको उल्लेख गर्दै दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान र यो परिवर्तनलाई संस्थागत गर्ने कुरामा इतिहासका योगदानलाई अवमूल्यन गर्न नहुने बताए ।


Views: 45