27th May | 2019 | Monday | 4:42:23 AM

राप्रपाको एकल अभियान : राजासहितको लोकतन्त्र र पूर्ण धार्मिक स्वतन्त्रता

हिमालय टाइम्स   POSTED ON : चैत्र २, २०७५ (७:१० AM)

राप्रपाको एकल अभियान : राजासहितको लोकतन्त्र र पूर्ण धार्मिक स्वतन्त्रता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले आगामी दिनमा सत्तामुखी राजनीति नगर्ने संकल्प गरेका छन् । उनले राप्रपाले जस्तोसुकै प्रतिकूल अवस्था पनि हिन्दु राष्ट्र र राजासहितको लोकतन्त्रको एजेण्डा नछाड्ने पनि बताएका छन् । उनले पूर्ण धार्मिक स्वतन्त्रता र समानताका लागि आहृवान पनि गरेका छन् । 

‘जनताले हामी पटक–पटक सरकारमा गएको मन पराएनन् । हामीले बाटो बिराएको ठाने जनताले,’ शुक्रबार राजधानीमा आयोजित सभामा अध्यक्ष थापाले भने, ‘म आज यहीँबाट संकल्पका साथ भन्छु– राप्रपाले आगामी दिनमा सत्तामुखी राजनीति गर्ने छैन । राप्रपाले जस्तोसुकै प्रतिकूल अवस्था किन नहोस् हिन्दु राष्ट्र र राजसंस्थाको एजेण्डा छोड्ने छैन् ।’

‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ समापनका अवसरमा शुक्रबार राप्रापाले सभा आयोजना गरेको हो ।

थापाले मुलुकमा कठिन अवस्था सिर्जना भए पनि नेपाली जनतालाई धोका नदिने र बेइमानी नगर्ने पनि प्रतिबद्धता जनाए । उनले विगतमा आफू र आफ्नो पार्टीले गरेका त्रुटीका कारण जनतामा पर्न गएको दुःखप्रति क्षमा याचनासमेत गरे । 

‘विगतका त्रुटी, कमी–कमजोरीका कारण जनतामा पर्न गएको खिन्नताप्रति दुःख प्रकट गर्दै क्षमा याचना पनि गर्न चाहन्छु’ थापाले भने, ‘जना जनार्दन हुन्, हामीले बाटो बिराएकै हौं भने साँझ घर फर्किदा जनता जनार्दन, देशका मालिकले हामीलाई सुध्रिने मौका दिनुहुनेछ भन्ने विश्वास लिएको छु ।’ 

राप्रापले गत फागुन १५ गते ताप्लेजुङबाट सुरु गरेको ‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ शुक्रबार राजधानीमा समापन गरेका हो । 

थापाले मुलुकमा सिर्जना भएको विषम परिस्थितिका बारेमा जनतालाई जागरुक गराउन स्वाभिमान यात्रा गरेको बताए । ‘हाम्रो यात्रा कुनै रमाइलो र घुमफिर होइन । हामी भोट माग्न पनि आएका होइनौँ,’ थापाले भने, ‘हामी स्वाभिमानी नेपालीलाई देश गम्भीर संकटमा परेको छ भनेर सन्देश प्रवाह गर्न चाहन्छौँ ।’

थापाले स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतसँग भएको ११ बुँदे सहमतिको खुलेर आलोचना गरे । उनले सहमतिलाई राष्ट्रघातको संज्ञा दिए । 

राप्रापाका अनुसार स्वाभिमान यात्राको मुख्य उदेश्य हिन्दु राष्ट्र स्थापना हो । भ्रष्टाचार नियन्त्रण गरेर गरिबी अन्त्य र अन्य समस्याको समाधानका लागि जनतालाई जागरुक गराउनु र सरकारमाथि दबाब सिर्जना गर्नु यात्राको अर्को उद्देश्य हो । यात्राले हिन्दुराष्ट्र, राजसंस्थासहितको लोकतन्त्र र राष्ट्रिय अखण्डताको पक्षमा गाउँ–गाउँमा जनलहर सिर्जना गरेको राप्रपाको दाबी छ । 

सभामा अध्यक्ष थापाले सिंहदरबार र बालुवाटारमा वास्तविक लुटेराहरू बसेको आरोप लगाए । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि सरकारले लगाएको प्रतिबन्धप्रति धेरै टीका–टिप्पणी नगर्ने उनले बताए । 

अध्यक्ष थापाले नेपालीको धार्मिक पहिचान मेटिँदा पनि माओवादी फेरि जंगल पस्ला भन्ने डरले आफूहरू चुप लागेर बसेको बताए । ‘जनयुद्ध सकिएपछि हिन्दु राष्ट्रको पहिचानमाथि विदेशीको दबाबमा र प्रभावमा परेर आक्रमण गरियो,’ उनले भने, ‘धर्म निरपेक्षता लागू भएपछि शान्ति खल्बिलिएला भन्ने डर, माओवादी फेरी जंगल पस्ला भन्ने डरले चुप लागेर बस्यौँ ।’ 

अध्यक्ष थापाले तत्कालीन राजा ज्ञानेन्द्र शाहले माओवादी वा अन्य कुनै पार्टीको डर, त्रासले सत्ता नछोडेको पनि बताए । ‘तत्कालीन आन्दोलनकारी र राजाबीच वैशाख ११ मा सम्झौता भएको थियो । त्यतिबेलाको गृहमन्त्री भएको नाताले एउटा सत्य भन्नैपर्छ,’ उनले भने, ‘आन्दोलनले राजा फालेको होइन । सम्झौता विपरीत चुनाव अगावै षड्यन्त्रपूर्वक राजालाई पाखा लगाइएको हो ।’

सभामा राप्रपा नेता तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले स्वाभिमान यात्रालाई भोट जोड्ने, पार्टीको संगठन सुदृढ गर्ने आन्दोलनका रूपमा नलिन आग्रह गरे । उनले राप्रपा देश बनाउन जनतासामु सहयोग माग्न स्वाभिमान यात्रा लिएर जिल्ला–जिल्ला पुगेको बताए । उनले ठूला दलका नेताहरू देशलाई सिक्किमीकरण गर्ने बाटोमा अगाडि बढेको आरोप लगाए । राष्ट्रिय अखण्डताका लागि एकताबद्ध हुन आहृवान पनि गरे । 

अर्का नेता बुद्धिमान तामाङले राष्ट्रिय अखण्डताका लागि हरेक नेपालीले शरीरमा एक थोपा रगत रहँदासम्म पनि लड्नुपर्ने बताए । उनले पृथकतावादी नेता सिके राउतलाई सरकारले रातारात ‘हिरो’ बनाएको भन्दै ११ बँदे सहमतिप्रति आपत्ति जनाए । उनले विप्लव नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध पनि ठिक नभएको जिकिर गरे । 

ताप्लेजुङ सदरमुकामबाट अध्यक्ष कमल थापाले उद्घाटन गरेर सुरु भएको स्वाभिमान यात्रा ताप्लेजुङ, पाँचथर, इलाम, झापासहित तराईका २२ जिल्ला र देशका विभिन्न भाग हुँदै सुदूरपश्चिमको कञ्चनपुर पुगेको थियो । कञ्चनपुरबाट फर्केर बुटवल हुँदै पाल्पा, स्याङ्जा, कास्की भएर काठमाडौं प्रवेश गरेको थियो । यात्राका क्रममा ३६ जिल्लामा १५२ वटा सभा भएको राप्रापले जनाएको छ । 


Views: 70