24th April | 2019 | Wednesday | 10:35:10 PM

‘होशियार ! सिंहदरबार बेच्लान्’

हिमालय टाइम्स   POSTED ON : बैशाख ३, २०७६ (५:४५ AM)

‘होशियार ! सिंहदरबार बेच्लान्’

काठमाडौं । विवेकशील साझा पार्टीले प्रधानमन्त्री निवासको जग्गा व्यक्तिको नाममा सारिएको विरोधमा सोमबार प्रदर्शन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सो दलका नेता तथा कार्यकर्ताले एक घण्टा प्रदर्शन गरेका हुन् ।

प्रधानमन्त्री निवासको जग्गा नै गम्भीर अपचलनमा परेको समाचार बाहिर आएपछि सरकारलाई सचेत गराउन प्रधानमन्त्री निवासअगाडि विरोध प्रदर्शन गर्नुपरेको पार्टीका प्रवक्ता सूर्यराज आचार्यले जानकारी दिए । उनले विरोध प्रदर्शनको माध्यमबाट भ्रष्टाचारी र बिचौलियाको फन्दामा नपर्न पनि सरकारलाई दबाब दिइएको बताए । 

प्रधानमन्त्री निवासको जग्गा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलसमेतले किनेको भन्ने तथ्य बाहिरिएपछि विवेकशील साझा पार्टीले त्यसको विरोधमा सडक प्रदर्शन सुरु गरेको हो । प्रदर्शनमा ‘बालुवाटार बेच्नेले सिंहदरबार पनि बेच्लान, होसियार’, ‘चर्को स्वरमा बोलौं, भ्रष्टाचारको पोल खोलौं’, ‘नेताहरूको सम्पत्ति छानविन गर’, ‘ठूलो माछा कता छ ? सिंहदरबार जता छ’ । लेखिएको प्लेकार्ड बोकेका थिए ।

हायात होटललाई सार्वजनिक जग्गा दिइएको तथा प्रधानमन्त्री निवासकै जग्गासमेत व्यक्तिको नाममा सारिएको विरोधमा प्रदर्शनकारीले विभिन्न नारासहितका प्लेकार्ड बोकेका थिए ।

राज्य दोहन र भ्रष्टाचारको ‘क्यान्सर’विरुद्धको अभियानमा समाजका सबै अंगको खबरदारी अपरिहार्य रहेको सो पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले बताए । उनले सरकारलाई खबरदारी गर्न प्रदर्शन गरिएको बताए ।

सिंहदरबार अगाडि विवेकशील नेपाली 

विवेकशील साझाले प्रधानमन्त्री निवासअगाडि विरोध प्रदर्शन गरेकै दिन विवेकशील नेपाली दलले भने देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारअगाडि प्रदर्शन गरेको छ । विवेकशील साझाबाटै फुटेर गठित विवेकशील नेपालीले सरकारी तथा सार्वजनिक जग्गालाई राजनीतिक दलका नेताको सहयोगमा निजीकरण भएको भन्दै विरोध प्रदर्शन गरेको हो ।

‘लुटतन्त्र का अनेक कथा’ नाम दिइएको कार्यक्रममा सहभागीहरूले सार्वजनिक जग्गा अतिक्रमण हुँदा लोकतन्त्र लुटतन्त्रमा परिणत भएको बताएका थिए । ठूला पार्टीका शीर्ष नेताहरू नै यसरी माफियाको पक्षमा उभिँदा नेता र माफिया छुट्याउन गाह्रो भएको उनीहरूको भनाइ थियो ।


Views: 34