24th April | 2019 | Wednesday | 9:40:06 PM

कांग्रेसको ठहर : वर्ष २०७५ मा सरकारका ‘७ शून्य प्रगति’

हिमालय टाइम्स   POSTED ON : बैशाख ३, २०७६ (५:५६ AM)

कांग्रेसको ठहर : वर्ष २०७५ मा सरकारका ‘७ शून्य प्रगति’

काठमाडौं । मुख्य विपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विगत वर्षका असफलताबाट पाठ सिकेर आगामी दिनमा जिम्मेवार ढंगले सरकारको नेतृत्व गर्न सचेत गराएको छ । गत वर्ष सरकारले गरेका कामहरूको समीक्षा सार्वजनिक गर्न सोमबार पत्रकार सम्मेलन गर्दै कांग्रेसले प्रधानमन्त्री ओलीलाई जिम्मेवार अभिव्यक्ति दिन र जिम्मेवार ढंगले सरकारको नेतृत्व गर्न सचेत गराएको हो ।  

‘वर्ष २०७५ को समग्र असफलताबाट पाठ सिकेर वर्ष २०७६ मा जिम्मेवार अभिव्यक्ति र जिम्मेवार व्यवहार साथ जिम्मेवार ढंगले सरकारको नेतृत्व गर्न नेपाली कांग्रेस प्रधानमन्त्रीजीलाई सचेत गराउन र शुभकामना दिन चाहन्छ,’ उपसभापति विलेन्द्र निधि र सहमहामन्त्री डा. प्रकाशशरण महतसँगै पत्रकार सम्मेलनमा उपस्थित भएका प्रवक्ता विश्वप्रकाश शर्माले भने ।

२०७५ साल प्रधानमन्त्री ओली दिएको अभिव्यक्तिझंै ‘नयाँ आशाका साथ प्रारम्भ’ भए पनि वर्षको बिदाइले आशालाई विश्वासमा बदल्न नसकेको कांग्रेसको ठहर छ । प्रधानमन्त्री ओलीसामु यसअघिका प्रधानमन्त्रीहरूले सामना गरेकाजस्ता राजनीतिक चुनौती नभएकाले २०७५ साल सुरु हुँदै गर्दा जनताले उनीबाट मुलुकको समृद्धिका लागि गरेको आशा वर्षको बिदाइमा पुग्दा तुषारापात भएको कांग्रेसको ठहर छ । 

‘प्रधानमन्त्री ओलीसामु अघिल्ला प्रधानमन्त्रीहरूले सामना गरेका गम्भीर राजनीतिक चुनौती छैनन्, अतः उहाँले तीव्र ढंगले कार्य गर्न सक्नुहुनेछ । दुई तिहाइको सरकार, सबै प्रदेश सरकारको साथ र बहुमत स्थानीय तहको समर्थन प्राप्त छ, ओली सरकारले छोटो समयमै प्रशस्त कार्य गर्नेछ भन्ने आशा थियो,’ प्रवक्ता शर्माले भने । सरकारलाई काम गर्न कुनै असर नपरोस् भनेर कांग्रेसले जिम्मेवार प्रतिपक्षका रूपमा शालीन भूमिका निर्वाह गर्ने नीति लिएको उनले स्मरण गराए । ‘सरकारले शान्ति सुरक्षा, संविधानप्रति अपनत्व विस्तार र समृद्धिमा तीव्र गति प्रस्तुत गर्न सक्नेछ भन्ने आशा थियो तर त्यो आशा निराशामा परिणत भएको छ,’ उनले भने । 

२०७५ प्रारम्भ हुँदै गर्दा आम देशवासीका मस्तिष्कमा अनेक आशा र जाँगर देखिए पनि ओली सरकारले वर्षभरी त्यहीरूपले कार्यसम्पादन गर्न नसकेको प्रवक्ता शर्माले बताए । कांग्रेसले ओली नेतृत्वको सरकारले गएको वर्षमा ‘शून्य ७ प्रगति’ गरेको टिप्पणी गरेको छ । कांग्रेसले सरकारका ‘शून्य ७ प्रगति’ मा ‘संघीयता कार्यान्वयन र शक्ति केन्द्रीकरणको विरोधाभास’ पहिलो नम्बरमा राखेको छ । संवैधानिक परिषद् र न्यायपालिकामा पनि सरकारको शून्य प्रगति देखिएको कांग्रेसको दाबी छ ।

मुलुकको अन्तर्राष्ट्रिय छविमा ह्रास आएको, शान्ति सुरक्षामा प्रगति शून्य देखिएको, भ्रष्टाचारमा शून्य सहनशीलताको घोषणा ०७५ सालमा ‘शून्य सहनशीलता’ परिवर्तन भएको, समृद्धि यात्रामा वितरित सपना र अपेक्षाको तुलनामा प्रगति न्यून देखिएको र प्रधानमन्त्रीको अभिव्यक्तिमा संस्कार शून्य रहेको कांग्रेसको ठहर छ । 

सरकारको विरोधमा ‘कसैले बोले बूढापाकाले लाठी लगाउलान्’ भनेर नयाँ वर्षमा दिएको प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसले आपत्ति जनाएको छ । ‘जिम्मेवार प्रधानमन्त्रीले राखेको यो अभिव्यक्ति भनेको नेपालको संविधानले प्रत्याभूत गरेको शान्ति सुरक्षाको सन्दर्भमा राख्नुपर्ने अभिव्यक्तिअनुरूप छ कि द्वन्द्व सिर्जना गर्नेअनुरूपको अभिव्यक्ति छ ?’ प्रवक्ता शर्माले प्रश्न गरे ।

कांग्रेसले प्रधानमन्त्री ओलीको भाषण सुनेर बालबालिकामा नकारात्मक असर नपरोस् भनेर अभिभावकले टेलिभिजन बन्द गर्नुपर्ने अवस्था आएको टिप्पणीसमेत गरेको छ । ‘प्रधानमन्त्री जब टेलिभिजनमा बोल्न थाल्नुहुन्छ, बूढापाकाले मनोरञ्जन प्रशस्तै प्राप्त गर्नुभएको छ । बूढाबूढीले मनोरञ्जन प्राप्त गरेको अभिव्यक्तिसम्म त ठीकै हो तर केही नकारात्मक अभिव्यक्ति आउँछन्, जसको नकारात्मक असर नपरोस् भनेर टेलिभिजन च्यानल बन्द गर्नुपर्ने अवस्था आएको छ,’ शर्माले भने । 

२०७५ सालले प्रधानमन्त्रीको सफलता बोल्नमा हुन्छ कि कर्म गर्नमा हुन्छ भन्ने विषयलाई छलफलका विषयका रूपमा छोडेर गएको उनको भनाइ थियो । ‘२०७५ सालले एउटा छलफल गर्नुपर्ने विषय छोडेर गएको छ, बहस गर्नुपर्ने विषय छोडेर गएको छ– प्रधानमन्त्रीको सफलता बोल्नमा हुन्छ कि कर्म गर्नमा हुन्छ भन्ने,’ शर्माले भने । 

प्रधानमन्त्री ओलीले २०७५ सालमा कम्युनिस्ट कार्यकर्तालाई अरिंगाल बन्न, बुद्धिजीवीलाई थलापार्ने र प्रतिपक्षी दल कांग्रेसलगायतलाई नन्दी–भृंगीको संज्ञा दिएर आप्mनो नकारात्मक सोच, शैली र संस्कारको उपहार दिएको कांग्रेसको टिप्पणी छ । ‘अरिंगाल बन भनेर दिएको अभिव्यक्ति कम्युनिस्ट कार्यकर्तालाई उपहार, थला पार्छौं भनेर दिएको अभिव्यक्ति उपहार थियो बुद्धिजीवीहरूलाई । विपक्षी दललगायत सबैलाई नन्दी–भृंगीको संज्ञा दिनु प्रधानमन्त्रीको नकारात्मक सोच, शैली र संस्कारको एउटा उपहार थियो देशका लागि,’ प्रवक्ता शर्माले भने ।

पत्रकार सम्मेलनमा कांग्रेस उपसभापति विलेन्द्र निधिले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्तालाई धन्यवाद दिएका छन् । निधिले भने, ‘कम्युनिस्ट कार्यकर्ताहरूले अरिंगाल बन्न चाहेनन् । म ती कार्यकर्ता सबैलाई धन्यवाद दिन चाहन्छु ।’ 

कार्यकर्ताहरू अरिंगाल नबनेपछि प्रधानमन्त्री ओलीले केटाकेटीलाई ढुंगा हान्न उक्साएको आरोप उनले लगाए । ‘प्रधानमन्त्री ओलीले नन्दी–भृंगी आन्दोलन गर्न आउँदै छन् रे भन्दै आप्mना कार्यकर्तालाई ढुंगामुडा गर है भन्दै उक्साउनुभएछ । यो प्रधानमन्त्रीले दिएको अभिव्यक्ति शोभनीय होइन,’ निधिले भने, ‘ओली प्रधानमन्त्रीजस्तो देखिनुहुन्न, के भएको होला यो ?’ 

उनले प्रधानमन्त्री ओलीले नयाँ वर्षका दिन राष्ट्रका नाममा गरेको सम्बोधनका क्रममा कांग्रेसलगायत दललाई लक्षित गरेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै थपे, ‘घोर भत्र्सना छ, अभिव्यक्ति आपत्तिजनक छ ।’ 


Views: 31