24th July | 2019 | Wednesday | 2:45:16 PM

नेकपा एकता टुंग्याउन ‘बालुवाटार बैठक’

हिमालय टाइम्स   POSTED ON : बैशाख ३, २०७६ (५:५८ AM)

नेकपा एकता टुंग्याउन ‘बालुवाटार बैठक’

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी एकता घोषणा भएको वर्षदिन पुग्दासमेत एकता प्रक्रिया टुंगोमा पु¥याउन नसकिरहेको बेला सोमबार साँझ बालुवाटारमा शीर्ष तीन नेताबीच ‘गम्भीर’ छलफल भएको छ ।

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच पार्टी एकताको विषयमा छलफल भएको हो । विभिन्न जनवर्गीय संगठन र जिल्ला कमिटीहरूको एकताका विषयमा नेताहरूबीच छलफल भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले पुष्टि गरे । 

‘पार्टीको तल्लो तहको एकताको कुरा फाइनल गर्ने प्रोसेसका लागि मात्रै नेताहरू भेला भएका हुन्,’ अर्यालले भने, ‘बैठकमा के भयो भन्ने विषयमा केही औपचारिक जानकारी छैन ।’ 

नेकपा स्रोतका अनुसार अध्यक्षद्वय ओली र दाहालसहित पार्टीका महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापाले केही दिनअघि चन्द्रागिरि बैठकमा तयार पारेको एकता प्रस्तावका विषयमा वरिष्ठ नेता नेपाललाई ब्रिफिङ गरिएको छ । बिहीबार चार नेता चन्द्रागिरि पुगेर एकता प्रस्ताव तयार पारेका थिए । उक्त बैठकमा नेता नेपाल समूहका कुनै पनि नेता सहभागी थिएनन् । 

सोमबार साँझ अबेरसम्म बसेको तीन नेताको बैठकले वैशाख ९ गतेभित्र एकता प्रक्रिया टुंग्याउने विषयमा छलफल गरे पनि सहमति जुट्न नसकेको नेकपा स्रोतको भनाइ छ । ‘माधव कमरेडले विधि र प्रक्रियाअनुसार नै एकताका बाँकी काम टुंगो लगाउनुपर्ने अडान राख्नुभएको छ,’ नेता नेपालनिकट एक नेताले भने, ‘अध्यक्षहरूले तयार पारेको प्रस्तावले शीर्ष नेतृत्वमा मात्रै होइन, अन्य कार्यकर्ताहरूमा पनि वितृष्णा पैदा गर्छ ।’

नेता नेपालले एकता टुंग्याउन पार्टी स्थायी कमिटीले बनाएको कार्यदलका अधिकांश सदस्यले सुझाबका रूपमा दिएको प्रतिवेदनलाई टेकेर बाँकी काम टुंगो लगाउनुपर्ने अडान राखेको ती नेताले जानकारी दिए । स्थायी कमिटीले यसअघि दिएको म्यान्डेटको मर्म र भावनालाई पनि समेट्नुपर्ने नेपाल पक्षको अडान छ । 

एकताको विषयमा छलफल गर्न सोमबार बिहान पनि नेता नेपाल बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीको व्यस्तताका कारण बिहान बैठक बस्न नसकेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताए । 

‘दाहाल–नेपाल नजिकिँदै’

चन्द्रागिरि बैठकपछि अध्यक्ष दाहालले वरिष्ठ नेता नेपालसँग अनौपचारिक भेट गरेका छन् । वैशाख ९ गते नै एकता प्रक्रिया टुंगो लगाउने चर्चा बाहिर चले पनि दाहाल भने नेपाल समूहलाई रिझाएर एकता टुंगो लगाउने पक्षमा देखिन्छन् । उनले नेपाल समूहसँग छलफल गरेपछि अर्का अध्यक्ष ओलीलाई सर्वसम्मतिअनुसार एकताको प्रस्ताव तयार पार्न सुझाब दिएको स्रोतले बतायो । 

अध्यक्षद्वयले यसअघि एमाले र माओवादी केन्द्रबीच भागबण्डा गरिएको ४५ र ३२ जिल्लाका जिल्ला अध्यक्ष र सचिवहरूको सूचीमाथि छलफल गरेको नेकपा स्रोतले बतायो ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण घोषणा भएको एक वर्ष पुग्न लागेको छ । २०७५ जेठ ३ गते दुई पार्टीबीच एकता घोषणा भए पनि अझैसम्म जनवर्गीय संगठन र तल्लो तहको एकता टुंगो नलाग्दा नेतृत्वको आलोचना हुँदै आएको छ । पार्टी एकताका लागि विभिन्न कार्यदल गठन गरे पनि एकता प्रक्रिया टुंगोमा पुग्न सकेन । एकताका विषयमा पूर्वएमाले समूहभित्र नै बढी विवाद देखिएको छ ।

एकताको नाममा एकलौटी ढंगले जिम्मेवारी दिइए आफूले समानान्तर कमिटी गठन गर्ने चेतावनी वरिष्ठ नेता नेपालले दिँदै आएका छन् । यसअघि प्रदेश कमिटीमा गरिएजस्तै नेतृत्वले आपूmखुसी निर्णय गरेमा त्यस्ता कमिटीमा आप्mनो पक्षले समानान्तर कमिटी गठन गर्ने उनको चेतावनी छ ।


Views: 51