24th August | 2019 | Saturday | 12:06:59 AM

सरकार–राप्रपा वार्ता आज

हिमालय टाइम्स   POSTED ON : बैशाख १०, २०७६ (९:५९ AM)

सरकार–राप्रपा वार्ता आज

काठमाडौं । हिन्दू राष्ट्रको माग गर्दै चरणबद्ध आन्दोलन गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारसँग वार्ता गर्न टोली गठन गरेको छ । सोमबार बिहान बसेको राप्रपाका शीर्ष नेताहरूको बैठकले वरिष्ठ नेता दीपक बोहराको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको हो ।

बोहरा नेतृत्वको वार्ता टोलीमा महामन्त्री राजेन्द्र लिङ्देन र नेता नीरञ्जन थापालाई सदस्य राखिएको राप्रपाको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन् । सरकारले आइतबार राप्रपा अध्यक्ष कमल थापालाई पत्र पठाएर औपचारिकरूपमै वार्तामा आउन आहृवान गरेको थियो ।

राप्रपाले गत फागुन ७ गते नेपाल सरकारसमक्ष पेस गरेको २२ बुँदे मागका सम्बन्धमा वार्ता गर्न आइतबार कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले सरकारकातर्फबाट पत्र लेखेर वैशाख १० गतेका लागि वार्तामा आमन्त्रण गरेका थिए ।

सरकारको पहलकदमीलाई राप्रपाले सकारात्मकरूपमा लिँदै वार्ता कमिटी गठन गरेको हो । प्रचार विभाग प्रमुख श्रेष्ठले मंगलबार दिउँसो १ बजे सिंहदरबारमा सरकारसँग वार्ताको समय तय भएको जानकारी दिए । नेपाललाई हिन्दू राष्ट्र बनाइनुपर्ने, राजासहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलन गरिनुपर्ने, संघीयताबारे जनमतसंग्रह गरिनुपर्ने लगायतका २२ बुँदे माग राख्दै राप्रपाले चरणबद्ध संघर्ष गर्दै आएको छ । 

राप्रपाले गत फागुन ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई २२ बुँदे ज्ञापनपत्र बुझाउँदै आप्mनो माग पूरा गराउन सरकारको ध्यानाकर्षण गराएको थियो । ज्ञापनपत्रमा उल्लिखित तिथिभित्र सरकारले माग सम्बोधनका लागि पहल नगरेपछि राप्रपा आन्दोलनमा होमिएको थियो । पूर्वनिर्धारित आन्दोलनअनुसार राप्रपाले १५ दिने मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा, हिन्दू राष्ट्रका लागि देशव्यापी हस्ताक्षर संकलन अभियान,  संघ,  प्रदेश र जिल्लाका प्रशासनिक र विकास केन्द्रित कार्यालयमा धर्ना, धर्म निरपेक्षताको ब्यानर र पोस्टर जलाउने कार्यक्रम सम्पन्न गरिसकेको छ । 

संघर्षका कार्यक्रमअनुसार राप्रपाले चैत २८ गते देशैभर स्थानीय तहमा धर्ना दिएको थियो भने वैशाख ४ र ५ गते घरदैलो कार्यक्रम गरेको थियो । वैशाख ६ गते धर्मनिरपेक्षको प्लेकार्ड र ब्यानर जलाएको राप्रपाले आइतबार राजमार्ग र चोकमा सत्याग्रह गर्ने कार्यक्रम तय गरेको थियो ।

यसअघि, चैत १५ बाट पहिलो चरणको आन्दोलन सुरु गरेको राप्रपाले चैत १६ सम्म प्रचारप्रसार, १७ देखि २३ सम्म देशव्यापी हस्ताक्षर संकलन र चैत २५ मा जिल्ला सदरमुकाम, प्रदेश राजधानी र संघीय राजधानीमा एक घण्टा धर्ना कार्यक्रम गरेको थियो । 

प्रचार विभाग प्रमुख श्रेष्ठका अनुसार राप्रपाले दोस्रो चरणको संघर्षका कार्यक्रमलाई थप प्रभावकारी बनाउन वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा महामन्त्रीत्रय राजेन्द्र लिङ्देन, डा. धवलशमशेर राणा, भाष्कर भद्रा, प्रदेश–३ कार्य समितिका अध्यक्ष विक्रमबहादुर थापा, महिला संगठनकी अध्यक्ष कुन्तीकुमारी शाही र युवा संगठनका अध्यक्ष प्रकाश रिमाल सदस्य रहेको कार्यदल गठन गरेको छ । राप्रपाले दोस्रो चरणअन्तर्गतको सरकारविरुद्धको संघर्ष जिल्ला सदरमुकाम तथा अन्तिम चरणमा राजधानी केन्द्रित हुने यसअघि नै बताइसकेको छ । 


Views: 49