22nd May | 2019 | Wednesday | 3:13:45 AM

राष्ट्रपतिको चीन भ्रमण : पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर हुने

हिमालय टाइम्स   POSTED ON : बैशाख १०, २०७६ (६:१६ AM)

राष्ट्रपतिको चीन भ्रमण : पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर हुने

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणमा यातायात पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर हुने बताएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालको गरेको साक्षात्कारमा परराष्ट्रमन्त्री ज्ञवालीले वैशाख ११ गते सुरु हुने राष्ट्रपति भण्डारीको राजकीय भ्रमणले दुई देशबीचको सम्बन्ध थप उचाइमा पुग्ने बताए । राष्ट्रपतिको भ्रमणमा चीनसँग सन् २०१६ मा भएको यातायात पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर हुन लागेको जानकारी दिँदै उनले भने, ‘प्रोटोकलमा हस्ताक्षर भएसँगै नेपालका उत्तरी नाकाहरू उपयोग गरेर चीनको जुनसुकै बाटो प्रयोग गरेर पनि हामीले चीनका चारवटा समुद्री बन्दरगाह र तीनवटा सुक्खा बन्दरगाहा प्रयोग गर्ने सुविधा प्राप्त गर्नेछौं ।’ 

राष्ट्रपतिको चीन भ्रमणलाई नेपाल सरकारले विशेष महŒव दिएको स्पष्ट पार्दै उनले चीनको विकाससँग नेपालको विकास जोड्ने विभिन्न माध्यम र उपायहरूको खोजी गरिने बताए ।

बेल्ट एण्ड रोड इनिसिएटिभ फोरममा राष्ट्रपति भण्डारीले दुईपटक सम्बोधन गर्ने मन्त्री ज्ञवालीले जानकारी दिए । सयभन्दा बढी राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख सहभागी हुने सम्मेलन उद्घाटनसत्रलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने उनले बताए । चिनियाँ राष्ट्रपति सि चिन फिङले सञ्चालन गर्ने राउण्ड टेबलमासमेत राष्ट्रपति भण्डारीबाट सम्बोधन हुनेछ । 

मन्त्री ज्ञवालीले अप्रिल २९ मा चिनियाँ राष्ट्रपतिसँग द्विपक्षीय औपचारिक वार्ता गर्ने र सोही दिन विभिन्न सन्धि, सम्झौता तथा प्रोटोकलमा हस्ताक्षर हुने जानकारी दिए । मन्त्री ज्ञवालीले राष्ट्रपति भण्डारीले चीनको प्राचीन सहर र चिनियाँ राष्ट्रपतिको गृहनगरसमेत रहेको सियानको भ्रमण गर्ने कार्यक्रम रहेको जनाए । राष्ट्रपति भण्डारीले चीनको स्वायत्त क्षेत्र तिब्बतको ल्हासामा भ्रमणका क्रममा प्रान्तीय गभर्नरसँग भेटवार्ता गर्ने कार्यक्रम छ । मन्त्री ज्ञवालीले नेपाल–चीन सम्बन्धमा कुनै समस्या नरहेको जिकिर गरे । उनले भने, ‘हामीबीच सौहाद्र्धपूर्ण र समझदारीपूर्ण सम्बन्ध छ ।’ विगतमा चीनसँग जोडिएर नेपालले जसरी लाभ लिनुपर्ने थियो, त्यो लिन नसकेको टिप्पणी गर्दै मन्त्री ज्ञवालीले भने, ‘अब हामी चीनसँग सार्थकरूपमा आर्थिक लाभ लिनेगरी अघि बढ्छौं ।’ आफू यसअघि चीन भ्रमणमा जाँदा चिनियाँ समकक्षीसँगको भेटवार्तामा नेपाल–चीन विकासको ‘फ्रेमवर्क’ तय भइसकेको पनि ज्ञवालीले सुनाए । उक्त ‘ट्रान्स हिमालयन मल्टि–डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क’अन्तर्गत सीमा वारपार रेल, सडक, बन्दरगाहा, हवाई यातायात, सूचना प्रविधिलगायत थुप्रै विषय पर्ने उनको भनाइ थियो ।

हालै नेपालले चीनसँग बिआरआईअन्तर्गत आफूहरूले गर्न खोजेका कामका सूचीसमेत आदान–प्रदान गरिसकेको मन्त्री ज्ञवालीको भनाइ छ । उनले भने, ‘हामीले छलफल सुरु गरेका छौं । लगानीको ढाँचा के हुनेछ, कति अनुदानमा र कति सप्mट लोनमा निर्माण होलान्, कति चिनियाँ लगानीकर्ताको प्रत्यक्ष वैदेशिक लगानीअन्तर्गत आऊलान्, कति संयुक्त लगानीका रूपमा आऊलान्, कति बहुपक्षीय वित्तीय संस्थाबाट ऋण सहयोगबाट आऊलान्, कुन–कुन परियोजना कुन मोडालिटीमा गर्ने भन्नेबारे अहिले सघन छलफलमा छौं ।’

मन्त्री ज्ञवालीले केरुङ–काठमाडौं रेल उच्च प्राथमिकतामा रहेको सुनाए । उनले भने, ‘प्री–फिजिविलिटी अध्ययन सकिएको छ । सम्भवतः हामी फिजिविलिटी अध्ययन र यसको निर्माण कार्य सुरु गर्नेगरी निष्कर्षमा पुग्न सक्छौं भन्ने विश्वास छ ।’

त्यस्तै, कोसी, कालीगण्डकी र कर्णाली आर्थिक कोरिडोरभित्र सडक र विभिन्न उत्पादनका पकेटहरू र त्यहाँका जनताको जीवनस्तर उकास्ने कुरालाई पनि आफूहरूले अगाडि बढाएको मन्त्री ज्ञवालीले बताए । योग्य जनशक्ति निर्माण गर्नु अहिलेको आवश्यकता रहेको भन्दै उनले प्राविधिक र वैज्ञानिक शिक्षामा केन्द्रित बहुआयामिक विश्वविद्यालय बनाउन चाहेको पनि सुनाए । 

मन्त्री ज्ञवालीले आगामी मे महिनामा तातोपानी नाका खुल्ने जानकारी गराए । उनले भने, ‘उताबाट तीव्र रफ्तारमा काम भइरहेको छ । उताको सुक्खा बन्दरगाहाको करिब–करिब ९८ प्रतिशत काम सम्पन्न भइसकेको छ । नेपालले कस्टम, क्वारेन्टाइन र इमिग्रेसनलगायत सुविधा राख्दै छ । मितेरी पुल अन्तिम चरणमा पुगेको छ ।’

नेपालको मुख्य विदेश नीति नै सबैसँग मित्रभाव राख्ने र कसैसँग पनि वैरभाव नराख्ने रहेको मन्त्री ज्ञवालीले बताए । उनले भने, ‘हामी कुनै क्याम्पमा छैनौं । हामी कुनै एक कित्तामा उभिएर अर्को कित्तालाई असर पार्ने गरी विदेश नीति सञ्चालन गर्दैनौं ।’ आफूहरूले राष्ट्रिय सर्वोपरी ठानेर मात्रै विदेश ऋण र अनुदान लिने गरेको मन्त्री ज्ञवालीको भनाइ छ । 

‘संक्रमणकालीन न्याय मौलिक’

नेपालले शान्ति प्रक्रियाको काम मौलिक ढंगले सम्पन्न गरेको भन्दै मन्त्री ज्ञवालीले संक्रमणकालीन न्यायका काम पनि मौलिक ढंगले सम्पन्न गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘नेपालले आफैं समस्या समाधान गर्न सक्छ भन्ने कुराको प्रमाण प्रस्तुत गरिसकेको छ । नेपालको नेतृत्वदायी क्षमतामा विश्वास गर्न म सबैमा आग्रह गर्न चाहन्छु । नेपालप्रति सद्भाव र साथ राखिराख्न म आग्रह गर्न चाहन्छु ।’


Views: 57