22nd May | 2019 | Wednesday | 2:14:54 AM

पार्टी एकता टुंग्याउँदा विपक्षप्रति आक्रोश

हिमालय टाइम्स   POSTED ON : बैशाख १०, २०७६ (६:१९ AM)

पार्टी एकता टुंग्याउँदा विपक्षप्रति आक्रोश

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीका जिल्ला अध्यक्ष र सचिव घोषण गरेको छ । पार्टी एकता घोषणा भएको ११ महिनापछि कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर नेकपाले उक्त घोषणा गरेको हो । 

गत जेठ ३ गते मदन–आश्रित स्मृति दिवस पारेर तत्कालीन एमाले र माओवादीबीच पार्टी एकता घोषणा भएको थियो । आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ जिल्लाकै जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको थियो । सचिवालयको निर्णयअनुसार ४४ जिल्लामा तत्कालीन नेकपा एमालेले नेतृत्व लिएको छ भने ३३ जिल्लाको नेतृत्व तत्कालीन नेकपा माओवादी केन्द्रले पाएको छ । तत्कालीन एमालेले अध्यक्ष पाएको जिल्लामा तत्कालीन माओवादी केन्द्रका जिल्ला अध्यक्षले सचिव पदको जिम्मेवारी पाएका छन् । यस्तै, तत्कालीन माओवादी केन्द्रले अध्यक्ष लिएको जिल्लामा तत्कालीन एमालेको नेतृत्वलाई सचिव बनाइएको छ । 

कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एकताको दिन सिंगो मुलुकका लागि नै खुसीको क्षण भएको बताए । उनले पार्टी एकीककरण टुंगिएको प्रसंगमा उक्त कुरा बताएका हुन् । ओलीले भने, ‘वामपन्थीका लागि मात्रै नभएर सिंगो देशका लागि आजको दिन खुसीको क्षण हो ।’ प्रधानमन्त्री ओलीले दुई पार्टीबीचको एकीकरणपछि बनेको संसद्को ठूलो दल नेकपाले राष्ट्रियताको रक्षा गर्दै राष्ट्रियताको आन्दोलनलाई उचाइमा पु¥याएको दाबीसमेत गरे । 

‘यो पार्टीले राष्ट्रियताको रक्षा, राष्ट्रियताको आन्दोलनलाई ठिक उचाइमा पु¥याएको छ । यसैले लोकतन्त्रका निम्ति संघर्षपूर्ण बलिदानी गरेको छ । मुलुकबाट निरंकुशतन्त्र, सामन्तीतन्त्रलाई फालेर लोकतन्त्रमा पु¥याएको छ,’ प्रधानमन्त्री ओलीले भने । उनले आफ्नो देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनताका पक्षमा रहेको जग थप मजबुत भएको बताए । 

कार्यक्रममा प्रधानमन्त्री ओली विपक्षी दल नेपाली कांग्रेसप्रति आक्रामक ढंगले प्रस्तुत भए । उनले कांग्रेसका नेताहरू राजतन्त्र ब्यूँताउने सपना देखेर हिँडेको भन्दै आश्चर्य प्रकट गरे । उनले ७० वर्षको संघर्षपछि मात्र लोकतन्त्र प्राप्त भएको भन्दै राजतन्त्र ब्यूँताउने सपना नदेख्न चेतावनी दिए । ओलीले भने, ‘अब यो मुलुकमा राजतन्त्र ब्यूँताउने सपना नदेख्न म साथीहरूलाई आग्रह गर्दछु । हामीले राणाविरुद्ध, राजाविरुद्ध, पञ्चायतविरुद्ध लड्यौं, असमानताविरुद्ध, थिचोमिचो र शोषणविरुद्ध लडेर आज सही ठाउँमा आएका छौं ।’ 

प्रधानमन्त्री ओलीले प्रतिपक्षी कांग्रेस अहिलेसम्म सच्चिन नसकेको टिप्पणी गरे । २००८ सालमा कांग्रेसको एकल सरकारले सहयात्री कम्युनिस्ट पार्टीका कुरा सुनेर राष्ट्रियताको पक्षमा उभिने सही बाटो समात्नुको सट्टा प्रतिक्रियावादी शक्तिसँग मिलेर सहयात्रीविरुद्ध खनिने र सहयात्रीमाथि प्रतिबन्ध लगाउने लगत बाटो समातेको ओलीको आरोप थियो । 

‘सामाजिक न्यायका लागि नेपाली कांग्रेस देशभक्त शक्ति, जनवादी शक्ति, वामपन्थी शक्तिसँग मिलेर अगाडि बढ्नुपर्थो । तर, नेपाली कांग्रेस एक–दुईपटक हामीले धेरै दबाब दिएर, सम्झाएर बाध्य पार्दा मात्रै सहकार्यमा आयो,’ ओलीले भने, ‘प्रगतिशील शक्तिविरुद्ध प्रतिक्रियावादी शक्तिसँग साँठगाँठ गर्ने, प्रतिक्रियावादी शक्तिसँग घाँटी जोडिने तर जनताको शक्तिसँग जहिले पनि बेइमान गर्ने गलत नीति अंगालेको कांग्रेसले इतिहासका अनुभवबाट केही सिक्नुपर्छ ।’ कांग्रेसले अहिलेको बाटो त्यागेर प्रगतिशील शक्ति, देशभक्त शक्ति, जनवादी शक्तिसँग एकता गर्ने उनले सुझाव दिए । 

प्रधानमन्त्रीले देश टुक्र्याउँछु भन्ने सिके राउतको पृथकतावादी समूहलाई पनि संविधानभित्र ल्याउन आफू सफल भएको दाबी गरे । उनले भने, ‘केही तŒवहरू त्यसबाट छटपटाएका छन् । पृथकतावादी राजनीति सकिएपछि केबाट खाने भनेर खेल खेल्दाखेल्दै तासको पत्ती हराएजस्तै गरी छटपटाएका छन् ।’

प्रधानमन्त्री ओलीले गतवर्ष देशको अर्थतन्त्र ‘डामाडोल’ भएका कारण वृद्धभत्ता बढाउन नसकेको प्रस्टीकरण दिँदै यो वर्ष वृद्धभत्ता बढाउने वाचा गरे । कम्युनिस्ट पार्टीको नेतृत्वको सरकारका कारण नेपाल अहिले विश्वकै तीव्रतर आर्थिक वृद्धिदर गर्ने मुलुकमध्येमा परेको उनको जिकिर थियो । सरकारका केही कमीकमजोरी रहेको स्वीकार गर्दै प्रधानमन्त्री ओलीले भने, ‘केही कमीहरू छन्, ठेकेदार भाग्यो मेलम्ची आउन ढिला भयो । ठेकेदार भागे पनि मेलम्ची ल्याउँछौं ।’ 

ओलीले पार्टी एकजुट रहेको र कुनै हालतमा विभाजित नहुने बताए । ‘पार्टीमा कुनै समस्या छैन सबै ढुक्क हुँदा हुन्छ’, उनले भने, ‘हल्ला यसरी चलाउन थालिएको छ । हुँदाहुँदा यो महिना पार्टी टुक्रिन्छ भनेर ज्यातिषीले पनि भन्न थालेका छन्, यस्तो थाहा पाउनेले एमाले र माओवादी मिल्छ भनेर किन थाहा पाएनन् ?’ ओलीले प्रश्न गरे । उनले पार्टी कुनै भवितव्यले नभई देश विकासको उद्देश्य राखेर एकता भएको बताए ।

 ‘महाधिवेशन एक वर्षभित्रै’   

काठमाडौं । सत्तारूढ नेकपाका एक अध्यक्ष पुष्पकमल दाहालले पार्टीको महाधिवेशन एक वर्षभित्रै सम्पन्न हुने बताएका छन् । प्रज्ञा भवनमा पार्टी स्थापना दिवसका अवसरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी आठ महिनाभित्र जिल्ला र अन्य कमिटीका अधिवेशन गरिसक्ने र एक वर्षभित्र महाधिवेशन गर्ने बताए । महाधिवेशनका लागि अबको एक वर्षभन्दा टाढा जानसक्ने समय नरहेको दाहालको भनाइ छ । 

दाहालले एकतालाई अन्तिम रूप दिने कुराको एउटा फलामे ढोका फोडेको बताए । ‘एकता प्रक्रिया अगाडि बढिसकेको छ । जिल्ला नेतृत्व चयन गर्ने कुरा फलामे ढोकाजस्तै थियो । गाँठो हाम्रो त्यही परेको थियो’ उनले भने, ‘मुख्य गाँठो फुकेपछि अरू सजिलै फुक्ने वातावारण तयार भयो । आज गौरवका साथ भन्ने ठाउँमा नेतृत्व आएको छ । केही ढिला भएकोमा क्षमा माग्छौं ।’

लामो समयसम्म एकताको सांगठनिक स्वरूपलाई अन्तिम रूप दिन नसक्दा जंगलमा हराउन थालेको अनुभूति पनि विगतमा भएको दाहालले बताए । एकता प्रक्रिया समयमै टुंगिन नसक्दा पार्टी र नेतृत्वप्रति प्रश्न उठेको भए पनि अन्ततः सफलताका साथ एकताको सन्दर्भमा जटिल बनेको समस्या समाधान भएको दाहालको भनाइ थियो ।

निर्वाचनको समयबाट नै आन्तरिक र बाहृय शक्तिहरूले नेताहरूलाई रोक्ने खोजेको आरोप लगाउँदै दाहालले भने, ‘निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गर्दा आशंकाहरू पैदा गर्ने कोसिस भए । यो एकता सम्भव हुँदैन, भइहाले पनि टिक्दैन अथवा देशमा कम्युनिस्टहरूको एकता भयो भने अधिनायकवादतिर देश जाने खतरा हुन्छ भन्ने आशंका पैदा गर्ने अहिले कम भए ।’

नेपाली जनताको अगाडि गरिएका संकल्प र प्रतिबद्धताअनुसार एउटा मिसन पूरा भएको दाहालको भनाइ थियो । उनले भने, ‘एकताले कम्युनिस्ट आन्दोलनको कोशेढुंगा पार ग¥यो । नेपाली जनतामा ठूलो भरोसा कम्युनिस्टहरू जे भन्छन् अन्ततः त्यही गर्छन् भन्ने एउटा नयाँ उदाहरण हामीले स्थापित ग¥यौं,’ उनले भने ।

पार्टीभित्र जम्मा भएको फोहोरमैला जिल्ला अधिवेशनबाट सफा गर्नुपर्ने दाहालले बताए । उनले भने, ‘पार्टी धेरै नै फोहोरमैला जम्मा भएको छ यो फोहोर मैला जिल्ला अधिवेशनबाट सफा गर्नुपर्छ । यो कार्यकर्ता र जनताको सहयोगबिना गर्न असम्भव छ ।’ उनले अब नयाँ सांस्कृतिक आन्दोलनको आवश्यकतासमेत औंल्याए । उनले भने, ‘नयाँ पिडीका साथीहरूको जोस र पुराना साथीहरूको अनुभवले भ्रष्टाचारविरुद्ध, ढिलासुस्तीविरुद्ध र जालझेलविरुद्ध नयाँ सांस्कृतिक आन्दोलन आवश्यक छ ।’


Views: 84