24th August | 2019 | Saturday | 12:00:07 AM

स्व नेता ताम्राकारलाई अन्तिम श्रद्धाञ्जलि

  POSTED ON : बैशाख ११, २०७६ (६:०२ PM)

स्व नेता ताम्राकारलाई अन्तिम श्रद्धाञ्जलि

काठमाडौं । नेपाली काङ्ग्रेसका पूर्वकोषाध्यक्ष एवं पूर्वमन्त्री रामकृष्ण ताम्राकारको पार्थिव शरीरमा सभापति शेरबहादुर देउवाले पार्टी झण्डा ओढाइ सम्मान गरे ।

  स्व ताम्राकारको शवलाई अन्तिम श्रद्धाञ्जलिका लागि आज बिहान १०ः३० बजेदेखि दिउँसो १ बजेसम्म पार्टीको केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो । सभापति देउवाले पार्टीको चारतारे झण्डा ओढाएका थिए । सो अवसरमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा शशाङ्क कोइराला र पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, सहमहामन्त्री डा प्रकाशशरण महतलगायत राजधानीमा उपलब्ध केन्द्रीय सदस्य उपस्थित हुनुभएको काङ्ग्रेसले जनाएको छ । 

पार्टीका धेरै केन्द्रीय सदस्य एवं नेता आजदेखि शुरु हुने घोषणा गरिएको जनजागरण अभियानका लागि जिल्ला जिल्लामा पुगेका थिए । लोकतन्त्र दिवसको अवसर पारेर आजदेखि काङ्ग्रेसले ७७ वटै जिल्लामा जनजागरण अभियान शुरु गर्ने तयारी गरेको थियो । नेता ताम्राकारको निधन भएकाले कार्यक्रम वैशाख २५ गतेदेखि शुरु हुने नयाँ कार्यतालिका बनाइएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले राससलाई जानकारी दिए ।

  नेता ताम्राकारको उपचारका क्रममा मङ्गलबार दिउँसो ३ः४५ बजे ललितपुरस्थित अल्का अस्पतालमा निधन भएको थियो । निमोनिया बढेपछि यही वैशाख ३ गते अस्पताल भर्ना हुनुभएका ७५ वर्षीय नेता ताम्राकारले स्वास्थ्य र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार सम्हालेका थिए । उनले पार्टीका श्रद्धेय नेता बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शम्शेर, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको सानिध्यमा रही प्रजातान्त्रिक आन्दोलनमा जीवनपर्यन्त क्रियाशील रहेको काङ्ग्रेसले जनाएको छ ।

 


Views: 109