27th June | 2019 | Thursday | 4:50:27 AM

नेकपा एकता : कहाँ मिलेन कुरा ?

हिमालय टाइम्स   POSTED ON : बैशाख १९, २०७६ (६:४० AM)

नेकपा एकता : कहाँ मिलेन कुरा ?

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता प्रक्रिया अझै केही दिन लम्बिने सम्भावना बढेको छ । गत वैशाख ९ गते जिल्ला तहको नेतृत्वको टुंगो लगाएको नेकपाको सांगठनिक एकताको विषय पछिल्लो समय पेचिलो बन्दै गएको छ । आन्तरिक शक्ति संघर्षका कारण पोलिटब्युरो गठन, केन्द्रीय सदस्यको कार्यविभाजन र जनवर्गीय संगठनको एकीकरण गर्न नेकपालाई सकस परेको हो । आइतबार सचिवालय बैठक बसेर यी विषयमा छलफल गर्ने भनिए पनि आन्तरिक विषयमा सहमति जुट्न नसक्दा बैठक बस्न नसकेको स्रोतले बतायो । त्यसपछि सोमबार सचिवालय बैठक बस्यो तर उक्त बैठकमा एकताको विषयले प्रवेश नै पाएन । 

सोमबारको बैठकमा वैशाख २० गने संघीय संसद्मा पेस गरिने नीति तथा कार्यक्रम र बालुवाटार जग्गा प्रकरणका विषयमा छलफल भए पनि पोलिटब्युरो गठनको विषयले प्रवेश पाएन । स्रोतका अनुसार भागबण्डामा कुरा नमिल्दा पोलिटब्युरो गठनको विषयमा छलफल हुन नसकेको हो ।

यसअघि नै १४७ सदस्य रहने पोलिटब्युरोमा पूर्वएमालेबाट ८१ र पूर्वमाओवादीबाट ६६ सदस्य रहने सहमति जुटेको दाबी नेताहरूले गरे पनि यही विषयले अहिले एकता प्रक्रिया लम्बिँदै गएको छ । पूर्वमन्त्रीसमेत रहेका नेकपाका एक नेताले भने, ‘पोलिटब्युरोमा रहने सदस्यहरूको विषयमा यसअघि नै सहमति जुटेको थियो तर अहिले संख्यामा केही तलमाथि गर्नुपर्ने बाध्यात्मक अवस्था आएको छ ।’ 

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार तत्काल सचिवालय बैठक बस्ने सम्भावना छैन । वरिष्ठ नेता माधवकुमार नेपाल अमेरिकामा रहेका कारण तत्काल बैठक बस्ने सम्भावना नरहेको उनले बताए । सांगठनिक एकीकरणका काम पनि सँगै गर्ने गरी छलफल अगाडि बढेको र नेता नेपाल अमेरिकाबाट फर्केपछि सचिवालय र स्थायी कमिटी बैठक बोलाएर निर्णयमा पुग्न सकिने उनले बताए । 

२१ जनवर्गीय संगठन रहेको नेकपामा अध्यक्षद्वयबीच नै कुरा मिल्न सकेको छैन । अध्यक्ष पुष्पकमल दाहालले विद्यार्थी, मजदुर, महिला र युवामध्ये दुईको नेतृत्व पाउनुपर्ने अडान राखेका छन् । तर, प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले चारवटै संगठनको नेतृत्व आपूmले पाउनुपर्ने अडान राखेको स्रोतले बतायो । वरिष्ठ नेता नेपाललाई पनि सहमतिमा ल्याउनुपर्ने बाध्यात्मक अवस्थामा दुई अध्यक्षबीच गृहकार्य भइरहेको र केही दिनमै प्रस्ताव तयार पारी छलफलका लागि सचिवालयमा लग्ने तयारी गरिएको बताइएको छ ।


Views: 62