19th September | 2019 | Thursday | 9:37:37 PM

प्रदेश– १ नाम र स्थायी राजधानी तोक्न नसकेपछि बैठक स्थगित

  POSTED ON : बैशाख १९, २०७६ (३:२० PM)

प्रदेश– १ नाम र स्थायी राजधानी तोक्न नसकेपछि बैठक स्थगित

विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको तेस्रो अधिवेशनको ३४औँ बैठक आज विशेष कारण स्थगित भएको छ ।

प्रदेशसभा सचिवालय सचिव गोपालप्रसाद पराजुलीले आज जारी गरेको सूचनाअनुसार सो बैठक वैशाख २२ गते दिउँसो १ बजे बस्ने भएको छ ।

प्रदेशसभाको वैशाख १५ गते बसेको बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभा नियमावली (पहिलो संशोधन), २०७५ नियम ५८ (क) बमोजिम प्रदेशको स्थायी राजधानी तोक्नेसम्बन्धी प्रस्ताव र सोही नियमावलीको नियम ५८ (ख) बमोजिम प्रदेशको नामकरणसम्बन्धी प्रस्ताव वैशाख १९ गतेभित्र पेश गर्नु हुन प्रदेशसभाका सदस्यलाई निर्देशन दिएका थिए ।

नाम र स्थायी राजधानीको विषयमा सहमति जुट्न नसकेर नै आजको बैठक स्थगन भएको नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले जानकारी दिए ।

उनले सत्तापक्षको दुई बहुमत हुँदा पनि नाम र स्थायी राजधानीका विषयमा सहमति जुट्न नसकेको भन्दै प्रतिपक्षले प्रस्ताव आएपछि मात्र सहमति वा असहमतिको भूमिका खेल्ने हो त्यतिबेला नै थाहा हुने बताए । रासस


Views: 57