27th June | 2019 | Thursday | 3:35:57 AM

चारतारे, लालतारे जो भएपनि छोडिदैन– सञ्चारमन्त्री बाँस्कोटा

हिमालय टाइम्स   POSTED ON : बैशाख १९, २०७६ (२:१३ PM)

चारतारे, लालतारे जो भएपनि छोडिदैन– सञ्चारमन्त्री बाँस्कोटा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बालुवाटारको जग्गा प्रकरणमा जोडिएका चारतारे, लालतारे जो भए पनि नछोडिने बताएका छन् । 

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले जग्गा प्रकरणमा जोसुकै जोडिए पनि दोषी देखिए कारबाही गर्ने दृढता व्यक्त गरे ।

‘प्रमाणले देखाएपछि सरकारी जग्गा हडप्ने चारतारे लालतारे कसैलाई पनि छुट दिने सरकारको अवस्था छैन’, उनले भने, ‘छानबिन समिति यही सरकारले बनाएको हो । सबैलाई कारबाही हुन्छ, यसमा कुनै सम्झौता हुँदैन ।’

उनले थपे, ’ यहाँ प्रश्न पार्टी महासचिव विष्णु पौडेल वा नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवा वा सुवर्ण शमशेरको होइन । प्रमाण भेटिए कारबाही हुन्छ, सरकार यस विषयमा आँखा चिम्लिने, पिठ्यूँ फर्काउेवाला छैन ।’

बालुवाटारको जग्गा व्यक्तिको नाममा पुगेको विषय बाहिर आएपछि सरकारले छानबिन समिति बनाएर काम अघि बढाइरहेको बेला उल्टै सरकारको  बदनाम गराउनेहरु सित उनले आपक्ति जनाए । बाँस्कोटाले भने, ’यो विषय उठान भएपछि सरकारले काम गरिँरहँदा उल्टो खेदो खनेकोमा टिठ लागेर आउँछ।’

नेकपा महासचिव विष्णु पौडेललाई क्षतिपूर्ति दिन सरकार तयार भएको हो भन्ने पत्रकारको जिज्ञासामा उनले भने, ‘सरकारी जग्गा लिनेलाई मैले क्षतिपुर्ति दिनुपर्छ भनेको छैन । पूर्वाग्रह साँधियो,’ उनले भने, ‘कसैको जग्गा छ भने त्यो गयो, सरकारले क्षतिपुर्ति तिर्दैन।’

टुँडिखेललगायत देशका विभिन्न ठाउँमा सार्वजनिक जग्गा बेचिएको भन्ने सिलसिला सुरु भएको उल्लेख गर्दै मन्त्री बाँस्कोटाले सरकार यस विषयलाई गम्भीर रुपमा छानबिन र कारबाही अगाडि बढाउने पक्षमा रहेको बताए ।


Views: 89