22nd November | 2019 | Friday | 4:44:33 PM

समाचार लेखेकै भरमा पत्रकार पीडित बन्नुपर्ने अवस्थाको अन्त्य हुन्छ : मन्त्री बाँस्कोटा

श्रमजीवीको शोषण अब स्वीकार्य नहुने

  POSTED ON : बैशाख २०, २०७६ (२:२७ PM)

समाचार लेखेकै भरमा पत्रकार पीडित बन्नुपर्ने अवस्थाको अन्त्य हुन्छ : मन्त्री बाँस्कोटा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आगामी वर्ष नेपाली पत्रकारिता क्षेत्र सुरक्षा र सम्मानको वर्ष हुने बताएका छन् । सोह्रौँ अन्तरराष्ट्रिय प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासङ्घ, युनेस्को र निर्वाचन आयोगको संयुक्त आयोजनामा आज यहाँ आयोजित कार्यक्रममा उनले प्रेसमाथि अङ्कुश लगाउने सरकारको कुनै पनि योजना नरहेको स्पष्ट पार्दै समाचार लेखेको भरमा पत्रकार पीडित बन्नुपर्ने अवस्थाको अन्त्य गरिने बताए ।

सञ्चारगृह कसैको अभीष्ट पूरा गर्ने थलो बन्न नहुने बताउँदै मन्त्री बाँस्कोटाले सञ्चारगृह सरकारप्रति होइन जनताप्रति उत्तरदायी बन्नुपर्छ भने । सबै सञ्चारगृहमा न्यूनतम पारिश्रमिक लागू गराएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्दै उनले श्रमजीवीको शोषण अब स्वीकार्य नहुने स्पष्ट पारे ।

उनले सरकारले सामाजिक सञ्जाल नियमन गर्न खोजेको बताउँदै यो संसारभर चलेको सिद्धान्त हो भने ।  समाचारको विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा भएको बताउँदै उनले सञ्चारगृहलाई विश्वासिलो सूचना प्रवाह गर्न र जनविश्वास आर्जन गर्न आग्रह गरे ।

सो अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सङ्ख्यात्मक हिसाबले नेपाली मिडिया बढेको तर  सङ्ख्या बढेसँगै गुणस्तर खस्किएको बताए । फरक प्रसङ्गमा उनले निर्वाचन प्रणालीलाई आमूल परिवर्तन गर्ने प्रक्रिया आफूले थालनी गरेको उल्लेख गरे ।

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्य, पूर्वअध्यक्ष हरिहर विरहीलगायतले सशस्त्र द्वन्द्वकालमा मारिएका पत्रकारका हत्यारालाई कारवाही नहुँदा मुलुकमा दण्डहीनता बढेर गएको बताए । प्रेस स्वतन्त्रता उल्लङ्घन हुनुमा पत्रकार पनि दोषी भए नभएको खोजी गर्ने बेला आएको उनीहरुको धारणा थियो ।

सो अवसरमा महासङ्घले महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झा, वरिष्ठ पत्रकारद्वय गोपाल गुरागाईं र सङ्गीता लामालाई ‘प्रेस स्वतन्त्रता सेनानी सम्मान’ प्रदान ग¥यो । उनीहरुलाई मन्त्री बाँस्कोटाले दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरे । सो अवसरमा महासङ्घद्वारा प्रकाशित प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा वार्षिक प्रतिवेदन सार्वजनिक गरियो । प्रतिवेदनमा प्रेस स्वतन्त्रता उल्लघङ्नका ६०  घटनामा ७७ पत्रकार र पाँच सञ्चारगृह प्रभावित भएको जनाइएको छ ।


प्रतिवेदनमा यस वर्ष मकवानपुरका सञ्चारकर्मी मनोहर ढकालको कार्यालयबाट घर फर्कंदै गर्दा लागुऔषध दुव्र्यसनीबाट हत्या भएको उल्लेख छ । त्यसैगरी गिरफ्तारीमा १२, बेपत्तामा एक, कब्जामा छ, आक्रमणमा १५ तथा दुव्र्यवहार÷धम्कीमा २५  घटना भएका छन् । गत वर्षको तुलनामा यस वर्ष प्रेस स्वतन्त्रता हननका घटनामा केही कमी भए पनि अझै पनि प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षाको अवस्थालाई सन्तोषजनक मान्ने नसकिने अवस्था नभएको महासङ्घको भनाइ छ ।


Views: 131