20th September | 2019 | Friday | 9:55:09 AM

गणतन्त्रमा पहिलो पटक ‘मेरो सरकार’

हिमालय टाइम्स   POSTED ON : बैशाख २१, २०७६ (११:३४ AM)

गणतन्त्रमा पहिलो पटक ‘मेरो सरकार’

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त सदनलाई सम्बोधन गर्दै प्रयोग गरेको ‘मेरो सरकार’ निकै चर्चाको विषय बनेको छ । ‘मेरो सरकार’ ले राजतन्त्रमा राजाले प्रयोग गर्ने शब्दको स्मरण गराएको भन्दै सामाजिक सञ्जालमा टिप्पणी भइरहेको छ । 

सम्बोधनमा २१ पटक ‘मेरो सरकार’ प्रयोग भएको छ । ‘संघीय संसद्का माननीय सदस्यहरू....’ भन्दै सुरु भएको सम्बोधनमा पहिलोपल्ट ‘मेरो सरकार’ प्रयोग भएको वाक्य थियो, ‘राष्ट्रिय कार्यभार पूरा गर्न मेरो सरकार काम गर्दैछ, नतिजा ल्याउँदै छ र अघि बढ्दै छ ।’ त्यसपछि यो शब्द २० पटकसम्म प्रयोग भएको थियो । 

सम्बोधनको पाठ सरकारले राष्ट्रपतिलाई पेश गरेको हुन्छ । 

राष्ट्रपति भण्डारीले संसद्मा ‘मेरो सरकार’ वाक्यांश प्रयोग गरिरहँदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटरमा आपत्ति प्रकट गरे । उनले नेपालमा श्री ५ को सरकार भएका बेला राजाले ‘मेरो सरकार’ भनेर सम्बोधन गर्ने गरेको स्मरण गर्दै राष्ट्रपति भण्डारीले राजाकै शैलीमा ‘मेरो सरकार’ शब्द प्रयोग गरेको टिप्पणी गरे । 

‘कुनै बेला श्री ५ को सरकार थियो, राजाले मेरो सरकार भनेर सम्बोधन गर्थे । आज राष्ट्रपतिले उही शैलीमा भन्न मिल्ने हाम्रो संविधानको कुन धारामा व्यवस्था छ ?,’ प्रवक्ता शर्माले प्रश्न गरेका छन् । राष्ट्रपतिले प्रयोग गरेको ‘मेरो सरकार’ शब्दप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्वीटरमा सोधे, ‘सम्माननीय प्रधानमन्त्रीज्यू, मेरो देशमा नेपाली जनताले बनाएको नेपाल सरकार छ कि राष्ट्रपतिको सरकार  ?’

राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिसक्नेबित्तिकै प्रवक्ता शर्माले फेरि ट्वीट गर्दै गएको दशैंको टीका प्रकरण र शुक्रबार प्रयोग गरिएको ‘मेरो सरकार’ वाक्यांश सामान्य त्रुटि नभएको उल्लेख गरे । ‘राष्ट्रपतिलाई राष्ट्रपति नै रहन दिऊँ सरकार, राजतन्त्र बिदा गरेका नेपाली नागरिकलाई रानी बोक्ने कुनै रहर छैन !,’ उनले लेखे, ‘दशंैको टीका प्रकरण अनि आजको मेरो सरकार सामान्य त्रुटि बिल्कुलै होइन ।’

कांग्रेसका युवा नेता तथा प्रतिनिधिसभा सदस्य गगन थापाले संसद् भवनभित्रैबाट राष्ट्रपतिले प्रयोग गरेको वाक्यांशप्रति आपत्ति जनाए । ‘म त नेपाल सरकारको (जनताको सरकार) नीति तथा कार्यक्रम सुन्न संसद्मा उपस्थित भएको, यहाँ त राष्ट्रपतिज्यूबाट महामहिमज्यूको निजी सरकारको कार्यक्रमको पो घोषणा भइरहेको छ,’ उनले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भइरहेकै स्थानबाट ट्विट गरे । 

नेता थापाल सोधे, प्रधानमन्त्रीज्यू, नेपाल सरकारको नीति तथा कार्यक्रम सुन्न कहाँ, कहिले आऊँ होला ?’

यस्तै, कांग्रेसका अर्का युवा नेता प्रदीप पौडेलले पनि ट्वीट गर्दै भनेका छन्, ‘गणतन्त्र नेपालमा विगत जस्तै राजाको झल्को आउने गरी राष्ट्रपतिको सम्बोधन सुनियो । नीति तथा कार्यक्रम सरकारले तयार पारेर राष्ट्रपतिलाई पढ्न दिने हो । सरकार नेपाल र नेपालीको होइन, राष्ट्रपतिको हुन चाहन्छ तर आरोप लगाउँछन् कांग्रेसले राजा फर्काउन खोज्यो भनेर !’

कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रमेश लेखकले ट्वीटमा लेखेका छन्, ‘देशमा राजतन्त्र भएको बेला नेपाल सरकारलाई श्री ५ को सरकार भनिन्थ्यो र सरकारको नीति तथा कार्यक्रम वाचन गर्दा राजाले मेरो सरकार भन्थे । अहिले राष्ट्रपतिजीले सम्बोधनमा मेरो सरकार भन्नुभएको बुझिएन ।’

साझा विवकेशील पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पनि राष्ट्रपतिको ‘मेरो सरकार’ सम्बोधनप्रति असहमति जनाएका छन् । उनले ट्वीट गरेका छन्, ‘राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा मेरो सरकार भन्नु अत्यन्त गैरजिम्मेवार र लोकतान्त्रिक भावनाको बरखिलाफ छ । यो राष्ट्रपतिको सरकार होइन । नेपाली जनताको सरकार हो । संविधानमा नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहित रहेको उल्लेख छ ।’

Views: 101