23rd August | 2019 | Friday | 3:48:59 PM

आजबाट कांग्रेसको राष्ट्रिय जागरण अभियान

हिमालय टाइम्स   POSTED ON : बैशाख २५, २०७६ (११:२५ AM)

आजबाट कांग्रेसको राष्ट्रिय जागरण अभियान

हिमालय टाइम्स काठमाडौं । नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान आज सुरु हुँदैछ । 

महासमिति बैठकले पारित गरेको नीति कार्यक्रम तथा संशोधित विधान बारे पार्टीको स्थानीय तहसम्मलाई जानकारी दिने उद्देश्य सहित सहित अभियान सुरु गर्न लागेको कांग्रेसको भनाइ छ ।   

काठमाण्डौको राष्ट्रिय सभागृहमा मध्यान्ह पछि आयोजना हुने एक कार्यक्रम बीच सभापति शेरबहादुर देउवाले अभियानको सुरुवात गर्ने कार्यक्रम छ । 

आमजनतालाई सरकारका संविधान र संघीयताविरोधी गतिविधिबारे जानकारी गराउने र जनस्तरमा खस्केको पार्टीको शाख फिर्ता गराउने उद्देश्यका साथ कांग्रेसले राष्ट्रिय जागरण अभियान सञ्चालन गर्न लागेको हो । 
‘हिमाल, पहाड, तराई–मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ नाम दिइएको पहिलो चरण जेठ २५ गते सम्पन्न हुनेछ । पहिलो चरणमा एक महिनासम्म ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटिनेछन् । कांग्रेसले जागरण अभियानमा पार्टीको केन्द्रीय समितिदेखि सबै तहको नेतृत्व र सदस्यहरूलाई सक्रियतापूर्वक सहभागी गराउने भएको छ । नेताहरूले अभियानका क्रममा ‘साझा र संगठित एउटै आवाज’ बोल्ने बताइएको छ । 

सबै जिल्लामा एकसाथ उद्घाटन हुने भनिएको जागरण अभियानको पूर्वनिर्धारित मन्तव्यको कार्यतालिका भने संशोधन भएको छ । पार्टीमा आबद्ध महिला नेत्रीहरूले मन्तव्यमा महिला सहभागिता सुनिश्चित गर्न माग गरेपछि कांग्रेसले पूर्वनिर्धारित मन्तव्यको कार्यक्रम संशोधन गरेको हो । प्रवक्ता विश्वप्रकाश शर्माले संविधानमा गरिएको व्यवस्थाअनुसार कांग्रेसले महिला सहभागिता सुनिश्चित गर्न पूर्वनिर्धारित मन्तव्यको कार्यक्रम संशोधन गरिएको जानकारी दिए । 
कांग्रेसले जागरण अभियानबाट नेताहरूलाई फूलका माला पहिराउने र ब्याच लगाउने परम्परा तोड्ने भएको छ । ‘यसअघि विभिन्न दलका नेताहरूलाई सानादेखि कैयौं किलोसम्मका माला लगाउने प्रचलन देखिँदै आएको थियो । अभियानबाट हामीले माला नलगाउने र ब्याच प्रयोग गर्ने परम्पराको अन्त्य गर्न लागेका छौं,’ प्रवक्ता शर्माले भने । 

कांग्रेसले खादा पनि हटाउने भनेको थियो । केही समुदायको परम्परागत संस्कृति नै खादा ओढाउने भएकाले त्यसलाई मान्ने प्रवक्ता शर्माको भनाइ छ । कांग्रेसले १२ भाषामा जागरण गीत तयार पारेको छ । प्रवक्ता शर्माले मैथिली, मगर, नेवारी, तामाङ, गुरुङ, भोजपुरी, राई, लिम्बू, थारू, राजवंशी, देउडा भाका र नेपाली भाषामा जागरण गीत तयार पारेको जानकारी दिए । 

कांग्रेसले भ्रातृ र शुभेच्छुक संस्थाहरूलाई राष्ट्रिय अभियानअन्तर्गत पार्टीले तय गरेका मुख्य कार्यक्रमहरूको मिति र समय प्रभावित नहुने गरी अलगअलग कार्यक्रम गर्न पनि निर्देशन दिएको छ । मुलुकका विद्यमान समस्या, विभिन्न मुद्दाहरू उठाउने कांग्रेसले तयारी गरेको छ । 

‘सिंगो पार्टी पंक्ति नेपाली समाजमा रहेका भिन्न मुद्दा, भिन्न विषय र भिन्न सन्दर्भहरूमा पार्टीका भ्रातृ र शुभेच्छुक संस्थाहरूको अगुवाइमा प्रवेश गर्नेछ र परिणाममुखी ढंगले परिचालित हुनेछ’ प्रवक्ता शर्माले भने, ‘विषयगतरूपले सम्बन्धित वर्ग र क्षेत्रलाई भ्रातृ–शुभेच्छुक संस्थाले जागरण अभियानका समग्र विषय सुसूचित गर्नेछन् र आगामी दिनका लागि निरन्तर संवाद र सहकार्यलाई घनिष्ट तुल्याउनेछन् ।’

कांग्रेसले भ्रातृ संगठन नेपाल महिला संघलाई अभियानअन्तर्गत महिलाहरूको आत्मसम्मान, सुरक्षा र सशक्तीकरणका लागि विभिन्न कार्यक्रम गर्न निर्देशन दिएको छ । यस्तै, नेपाल तरुण दललाई ‘भ्रष्टाचारविरुद्ध तरुण जागरण’ नारा दिएर अभियानअन्तर्गत कार्यक्रम आयोजना गर्न भनिएको छ । 

कांग्रेसले नेपाल विद्यार्थी संघमार्फत जागरण अभियानका क्रममा ‘विद्यार्थी जागरण प्लस टु प्लस अभियान’ अघि बढाउने तयारी गरेको छ । देशव्यापीरूपमा सदस्यता विस्तार, संगठन निर्माण र व्यवस्थापन गर्न नेविसंघलाई परिचालन गर्ने शर्माले जानकारी दिए । 

कांग्रेसले नेपाल ट्रेड युनियन कांग्रेसमार्फत आप्mनो नेतृत्वको सरकारको पालामा पारित भएको ‘योगदानमा आधारित सामाजिक सुरक्षा कोष’ का बारेमा श्रमिकमाझ प्रभावकारी ढंगले सुसूचित गराउँदै सफल कार्यान्वयनका लागि सहयोग र दबाबमूलक भूमिका देशव्यापीरूपमा अघि बढाउने भएको छ । 
नेपाल दलित संघलाई नेपाली समाजमा व्याप्त सबै प्रकारका विभेद अन्त्य र ‘समताका लागि सशक्तता’ अभियान चलाउनेछ । कांग्रेसले नेपाल किसान संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल शिक्षक संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल आदिवासी जनजाति संघ, मुस्लिम संघ, नेपाललगायतका भ्रातृ तथा शुभेच्छुक संगठनहरूलाई पनि विभिन्न क्षेत्रमा परिचालन गर्ने भएको छ । 


कांग्रेसले राष्ट्रिय जागरण अभियानबाट असीमित संख्याको आशनग्रहणको परम्पराको अन्त्य गर्ने भएको छ । प्रवक्ता शर्माले अभियानका क्रममा सभापति, प्रमुख अतिथिपछि सबैलाई सामूहिक आसनग्रहण गराइने जानकारी दिए । 
यो अभियानमा कार्यक्रमको उद्घान एउटै समान शैलीमा हुनेछ । ‘दीर्घजीवन रहने कुनै विरुवा जस्तै बर, पीपल, समी या यस्तै कुनैमा जल सिञ्चन अथवा पानसमा दीप प्रज्ज्वलन गरेर उद्घाटन गर्छौं’ प्रवक्ता शर्माले भने । जल सिञ्चन गरिएको विरुवा सुरक्षित स्थानमा रोपिनेछ । 


Views: 89