23rd August | 2019 | Friday | 11:56:18 PM

प्रधानमन्त्री ओली भेटवार्तामा

रासस   POSTED ON : जेठ १, २०७६ (१०:०८ AM)

प्रधानमन्त्री ओली भेटवार्तामा

कम्बोडिया । प्रधानमन्त्री केपी शर्मा र कम्बोडियाका कार्यवाहक राष्ट्र प्रमुख भिबोल सेना फिक्डे से छुन्मबीच मंगलबार सिनेट हाउसमा भेटघाट भएको छ । राष्ट्र प्रमुख राजा नोरोदम सिंहमोनी ‘एसियाली सभ्यता बहस सम्मेलन’का लागि हाल बेइजिङमा छन् । उनले सिनेट प्रिसिडेण्टलाई कार्यवाहक राष्ट्र प्रमुख तोकेका हुन् ।

थाइल्याण्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीका अनुसार उनीहरूबीच द्विपक्षीय सम्बन्ध, संसद् र संस्कृतिसम्बन्धी विषयमा छलफल भएको थियो । भियतनामको पाँचदिने भ्रमण पूरा गरी प्रधानमन्त्री ओली हाल कम्बोडियामा छन् । कम्बोडियाको विदेश मामिला मन्त्रालयका अधिकारीले सो भेटघाटले दुई देशबीचको सम्बन्ध बलियो बनाउनुका साथै अर्थ, व्यापार, पर्यटन र संस्कृतिसम्बन्धी सहयोग र संसदीय अनुभव आदानप्रदान गर्न बढावा दिने विश्वास व्यक्त गरेका छन् ।

यसैबीच, प्रधानमन्त्री ओलीले कम्बोडियाका नेसनल एसेम्ब्ली अध्यक्ष साम्देक आक्का मोहा पोन्हिया चक्री हेङ सामरिनसंँग मंगलबार संसद् भवनमा भेटवार्ता गरेका छन् । दुवै मुुलुकका समसामयिक राजनीति, द्विपक्षीय सम्बन्ध तथा संसदीय मामिलासम्बन्धी छलफल भएको राजदूत अधिकारीले बताए ।

दुवै नेताबीच दुई देशका संसद्बीच आदानप्रदान गर्ने तथा सुदृढ बनाउने सहमति भएको पनि उनले बताए ।

सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल र परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवका साथै नेपाली प्रतिनिधिमण्डलका अन्य सदस्यको पनि उपस्थिति थियो ।


Views: 51