25th May | 2019 | Saturday | 3:32:44 AM

मुख्यमन्त्री पोखरेल र चीनीया प्रदेश गर्भनर थाङबिच भेटवार्ता

चन्द्रकान्त खनाल   POSTED ON : जेठ १, २०७६ (११:३७ AM)

मुख्यमन्त्री पोखरेल र चीनीया प्रदेश गर्भनर थाङबिच भेटवार्ता

रुपन्देही  । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग मित्र राष्ट्र चीनको कान्छु प्रदेशका गर्भनर थाङ रनच्यानले बुधवार भेटवार्ता गरेका छन् । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटवार्तामा मुख्यमन्त्रीले प्रदेश ५ को विशेषता र संभावनाबारे जानकारी गराउँदै संघीयता कार्यान्वयनको एक वर्षमा आवधिक योजना र कानून निर्माणलाई प्राथमिकता दिएको र योजनाबद्ध विकासको बाटो तय गरेको बताए । 

गौतम बुद्धको जन्मस्थल लुम्बिनीसहित धेरै बौद्ध संस्कृतिसँग सम्बन्धित सम्पदास्थलहरू रहेको र ती क्षेत्रमा पर्यटन प्रवर्द्धन गरी लाभ लिने गरी योजना अघि सारिएको मुख्यमन्त्रीले बताए  ।

गर्भनर र नच्यानले प्रदेश ५ र बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्न पाउँदा खुशी लागेको बताए । उनले नेपाल र चीनबीचको सम्बन्ध निकै पुरानो र घनिष्ठ रहेको बताउँदै सम्बन्धलाई मजबूद र फराकिलो बनाएर द्विपक्षीय हितमा धेरै काम गर्न सकिने बताए । 

द्विपक्षीय सहकार्य मार्फत सांस्कृतिक तथा पर्यटन क्षेत्रमा धेरै गर्न सकिने उनको भनाइ थियो । उनले प्रदेश ५ को अवस्था बारे मुख्यमन्त्रीबाट जानकारी पाएपछि प्रदेश ५ र कान्छु प्रदेशको अवस्था मिल्दोजुल्दो भएको बताए । उनले कान्छु प्रदेशले कृषि उत्पादन र पर्यटन प्रवर्द्धन गरी राम्रो लाभ लिएको जानकारी दिँदै नेपाल आउने स्याउमध्ये आधाभन्दा धेरै कान्छुबाट आउने बताए ।

भेटवार्तामा मुख्यमन्त्रीले नेपालको विकास प्रयासमा चिनियाँ सहयोग आवश्यक रहेको र खासगरी पूर्वाधार विकासमा चिनियाँ सहयोगले धेरै लाभ लिन सकिने बताए  । स्याउ उत्पादन राम्रो रहेको र नेपाल आउने स्याउको ठूलो हिस्सा कान्छुबाट आएको जानकारी पाएपछि मुख्यमन्त्रीले हाम्रो हिमाली क्षेत्रमा पनि स्याउको सम्भावना राम्रो रहेको र प्रविधि हस्तान्तरणको अपेक्षा गरे । यसैगरी द्विपक्षीय सहयोग र साझेदारीका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

 मुख्यमन्त्री शंकर पोखरेल र गर्भनर थाङ रनच्यानको उपस्थितिमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव धनञ्जय पौडेल र कान्छु प्रदेशका सांस्कृतिक तथा पर्यटन निर्देशक थन वइतोङले हस्ताक्षर गरी समझदारी पत्र आदानप्रदान गरे । 

सांस्कृतिक आदान प्रदान र पर्यटन प्रवर्द्धनका लागि दुई देशका विज्ञ, उद्यमी र सरकारी अधिकारीको भ्रमण आदानप्रदान बढाउने, नेपालको पर्यटन विकासका लागि चिनियाँ लगानी बढाउने समझदारीपत्रमा उल्लेख छ ।

त्यसैगरी रुपन्देहीको सैनामैना नगरपालिका र चीनको गाननान स्वायत्त प्रिफेक्चरबीच भगिनी सम्बन्ध कायम गर्ने प्रारम्भिक सहमति भएको छ । सहमतिपत्रमा सैनामैना नगरपालिकाका मेयर चित्रबहादुर कार्की र गाननान स्वायत्त प्रिफेक्चरका डेपुटी गर्भनर शी चानयानले हस्ताक्षर गरी सहमति पत्र आदानप्रदान गरेको मुख्यमन्त्रीका  प्रेस सल्लाहकार  शेर बहादुर केसीले जनाएका छन । 


Views: 57