19th September | 2019 | Thursday | 8:15:39 PM

राजपा केन्द्रीय सदस्यद्वय कारागार चलान

हिमालय टाइम्स   POSTED ON : जेठ ७, २०७६ (११:५६ AM)

राजपा केन्द्रीय सदस्यद्वय कारागार चलान

राजविराज । किर्ते उपभोक्ता समिति गठन प्रकरणको आरोपमा पक्राउ परेका राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रीय सदस्यद्वय पुर्पक्षका लागि राजविराज कारागारमा चलान भएका छन् । सप्तरी जिल्ला अदालतका न्यायाधीश उमेश कोइरालाको इजलासले राजपाका केन्द्रीय सदस्यद्वय वीपी यादव र हरि मण्डललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । सोही प्रकरणमा पक्राउ परेका पूर्वाधार विकास डिभिजन कार्यालय सिरहाका प्रमुख सिनियर डिभिजनल इन्जिनयर राजकुमार गोइत ४ लाख धरौटीमा रिहा भएका छन् । उनीहरूमाथि सप्तरी जिल्लामा सञ्चालित योजनाको रकम हिनामिना गर्न गाउँपालिका तथा वडा कार्यालयको लेटरप्याड तथा दस्तखत किर्ते गरी सडक निर्माण उपभोक्ता समिति बनाएको आरोप छ ।

पक्राउ परेका रुपनी गाउँपालिका–६ का रामानन्द ठाकुर र सोही ठाउँका दिलीप दाससँग अदालतले साढे दुई लाख धरौटी माग गरेको छ । उनीहरूमाथि प्रदेश–२ को भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत अग्निसाइर कृष्णासवरण गाउँपालिका २ र ३ मा पर्ने सडकमा माटो तथा ग्राभेल गर्न स्वीकृत २५ लाख रुपैयाँको योजना हात पार्न नागरिकतामा समेत केरमेट गरी प्रमुख प्रशासकीय अधिकृत र वडा अध्यक्षहरूको किर्ते हस्ताक्षर गरी उपभोक्ता समिति गठन गरिएको विषयमा प्रहरीमा उजुरी परेपछि प्रहरीले अनुसन्धान थालेको थियो ।


Views: 66