19th September | 2019 | Thursday | 8:16:35 PM

काठमाडौंको दुई स्थानमा भएको विस्फोटमा परि तीन जनाको मृत्यू

  POSTED ON : जेठ १२, २०७६ (५:५० PM)

काठमाडौंको दुई स्थानमा भएको विस्फोटमा परि तीन जनाको मृत्यू

काठमाडौं । काठमाडौंका दुई स्थानमा आइतबार विस्फोट भएका छन्  । विस्फोटमा परि तीन जनाको मृत्यु भएको छ ।

दुई स्थानमा विष्फोटमा परि घाइते भएका ८ जना मध्ये तीन जनाको मृत्यु भएको हो ।

बुढानिलकण्ठ नगरपालिका–४ सुकेधारास्थित एक सैलुनमा ग्यास सिलिन्डर विस्फोट भएको थियो । उक्त विस्फोटमा परि दुईजनाको मृत्यू भएको हो ।

त्यसैगरि आजै अनामनगरस्थित घट्टेकुलोमा विस्फोट भएको छ । घट्टेकुलोमा भएको विस्फोटमा २ जना घाइते भएका थिए । जसमध्ये एक जनाको मृत्यु भएको छ भने एक जना घाइतेको उपचार भइरहेको छ । 

समाचार स्रोतका अनुसार अनामनगरमा बम बनाउने क्रममा पड्कीएर एक जनाको ज्यान गएको हो । त्यहाँ निजी घरमा विस्फोट भएको थियो । 

सोमबारका लागि आह्वान गरिएको विप्लव समूहको नेपाल बन्दमा विस्फोट गराउने योजनाअनुरुप सिलिण्डर बम परीक्षणका क्रममा विस्फोट भएको हुन सक्ने प्रहरी स्रोतले जनाएको छ ।

 विप्लव समूहका कार्यकर्ताको मृत्यु भएको हुनसक्ने उसको अड्कल छ ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए । 

मृतकको पहिचान खुलेको छैन । सुकेधारा विस्फोटमा घाइते भएका पाँच जनालाई उपचारका लागि ओम अस्पतालमा लगिएको र घट्टेकुलोमा घाइते भएका एक जनालाई उपचारका लागि वीर अस्पताल लगिएको छ । 

साँझ करीब ५ बजेको आसपासमा काठमाडौँको सुकेधारास्थित ढलानी पुल र घट्टेकुलो नजीकै विस्फोट भएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख शैलेश थापा क्षेत्रीले जानकारी दिए । सुकेधारामा एक सैलुन पछाडि विस्फोट भएको र घट्टेकुलोमा भने घरमा विस्फोट भएको प्रहरीले जनाएको छ । 

अहिले घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । सुकेधारमा भने सिलिण्डर पड्किएको जानकारी आएकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ ।


Views: 159