24th July | 2019 | Wednesday | 9:22:18 AM

उपराष्ट्रपति अस्ट्रियातिर

हिमालय टाइम्स   POSTED ON : जेठ १३, २०७६ (७:२० AM)

उपराष्ट्रपति अस्ट्रियातिर

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन युरोपेली मुलुक अस्ट्रिया प्रस्थान गरेका छन् । उनी साताव्यापी भ्रमणका लागि आइतबार बिहान प्रस्थान गरेका हुन् । अस्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनको निमन्त्रणामा जलवायुसम्बन्धी आर–२० विश्व शिखर सम्मेलनमा सहभागी हुन पुन अस्ट्रिया प्रस्थान गरेका हुन् । जेठ १४ गते भियनामा शिखर सम्मेलन आयोजना हुनेछ ।

उपराष्ट्रपति पुन कतार एयरवेजको विमानमार्फत दोहा हुँदै अस्ट्रिया पुग्ने उनका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए । विश्व शिखर सम्मेलनमा उपराष्ट्रपति पुनले नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ ।  

भ्रमणको क्रममा उपराष्ट्रपति पुनले अस्ट्रियाका राष्ट्रपति बेलेनसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । उनी भियना अन्तर्राष्ट्रिय केन्द्रको ४०औं वार्षिकोत्सवको अवसरमा सोमबार आयोजना हुने कार्यक्रममा पनि सहभागी हुनेछन् । उपराष्ट्रपति पुन अस्ट्रियास्थित नेपाली राजदूतावासले अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आयोजना गर्ने कार्यक्रममा पनि सहभागी हुने प्रेस संयोजक घर्तीमगरले जानकारी दिए ।

उपराष्ट्रपति पुनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शंकरदास बैरागीले बिदाइ गरेका थिए । उपराष्ट्रपति पुनको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मानगारत अर्पण गरेको थियो । भ्रमण टोलीमा उपराष्ट्रपति पुनकी धर्मपत्नी हस्तमाली पुन, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलगायत छन् । उपराष्ट्रपति पुनको भ्रमण टोली जेठ १८ गते स्वदेश फर्कने छ ।


Views: 47