27th June | 2019 | Thursday | 3:43:47 PM

लोकसेवाको विज्ञापन रद्द गर्न राज्य व्यवस्था समितिको निर्देशन

हिमालय टाइम्स   POSTED ON : जेठ २७, २०७६ (९:३६ AM)

लोकसेवाको विज्ञापन रद्द गर्न राज्य व्यवस्था समितिको निर्देशन

काठमाडौ । संसदको राज्य व्यवस्था समितिले स्थानीय तहमा कर्मचारी माग गर्दै लोकसेवा आयोगले निकालेको विज्ञापन रद्द गर्न निर्देशन दिएको छ ।

 स्थानीय तहमा कर्मचारी पदपूर्तिका लागि लोकसेवा आयोगले आह्वान गरेको विज्ञापन रद्द गर्न सरकार र लोकसेवा आयोगलाई संसदको राज्य व्यवस्था तथा सुशासन समितिले निर्देशन दिएको हो ।

 संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसँगको छलफल पछि समितिले विज्ञापन रद्द गर्न निर्देशन दिएको हो ।  

कानुन मन्त्रालय, सरकारका उच्च अधिकारी र मन्त्रिपरिषद्मा समेत लामो छलफल पछि मात्र विज्ञापन स्वीकृत भएकाले मन्त्री पण्डितले मन्त्रालयस्तरबाट मात्र विज्ञापन रद्द गर्न नसक्ने सरकारी अधिकारीहरुको बुझाईछ । 

मन्त्री पण्डितले पनि विज्ञापन फिर्ता नहुने अडान लिदै आएका छन् ।  

लोकसेवा आयोगले यही जेठ १५ गते स्थानीय तहका विभिन्न नौ हजार १६१ पदका लागि विज्ञापन खोलेको थियो । स्थानीय तहको कार्यबोझलाई मध्यनजर गरी सङ्घको दरबन्दीमा रहेका पुल तथा फाजिलका कर्मचारीलाई काजमा खटाउन र स्थायी पदपूर्ति नभएसम्मका लागि निश्चित मापदण्डका आधारमा आ–आफनो तहमा कर्मचारी करारमा नियुक्ति गर्ने व्यवस्था मिलाउन पनि बैठकले मन्त्रालयलाई निर्देशन दिएको छ ।

यसअघि बैठकमा सांसदहरुले प्रदेश लोकसेवा आयोगले गर्नुपर्ने काम सङ्घीय लोकसेवाबाट गराउन खोज्ने तथा संविधानले आत्मसात गरेको समानुपातिक र समावेशी सिद्धान्त विपरीत गएर ठूलो सङ्ख्यामा स्थानीय तहमा कर्मचारी भर्ना गर्ने कार्यले सरकार सङ्घीयता र संविधानको भावना विपरीत जान लागेको हो कि भन्ने भान भएको टिप्पणी गरेका थिए ।



Views: 83