19th September | 2019 | Thursday | 9:30:46 PM

कुनै जेन्टलमेन एग्रिमेन्ट भएपनि महत्वलाई ध्यानदिनु पर्छ– कार्यवाहक प्रधानमन्त्री पोखरेल

हिमालय टाइम्स   POSTED ON : जेठ २७, २०७६ (४:५५ PM)

कुनै जेन्टलमेन एग्रिमेन्ट भएपनि महत्वलाई ध्यानदिनु पर्छ– कार्यवाहक प्रधानमन्त्री पोखरेल

विराटनगर । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पार्टी एकताका बेला दुई नेताहरुबीच कुनै जेन्टलमेन एग्रिमेन्ट भएको भएपनि मर्यादा, सीमा र महत्वलाई ध्यानदिनु पर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा सोमबार कुरा गर्दै कार्यवाहक प्रधानमन्त्री समेत रहेका मन्त्री पोखरेलले दुई पार्टी एकताको सन्दर्भमा भएका सहमति कार्यान्वयनको विषयमा उनले उच्च तहका नेताहरूबीच कुनै जेन्टलमेन एग्रिमेन्ट भएको भए पनि त्यसको मर्यादा, सीमा, महत्व आदिलाई ध्यान दिन आवश्यक छ भने ।

पार्टीले अवलम्वन गर्ने बिचारको सन्दर्भमा उनले महाधिवेशनसम्म बहुदलीय जनवाद र एकाइसौं शताव्दीको जनवाद तथा माओवादको विषयमा छलफल बहस हुने बताए । 

महाधिवेशनले विचारको विषयमा निर्णय गर्ने भन्दै उनले बहुदलीय जनवाद नेपाली मौलिकतामा विकास भएको र अन्तर्रा्ष्ट्रिय कम्युनिस्ट आन्दोलनको निर्मम समीक्षा गर्दै निर्माण भएको सिद्धान्त भएकोले त्यसै अनुरुप नै अघि बढ्नु पर्ने उनको तर्क थियो।

फरक प्रसंगमा उनले स्थानीय तहमा कर्मचारी भर्ना गर्न लोकसेवा अयोगले प्रकाशन गरेको सूचनामाथि सरकारले हस्तक्षेप नगर्ने बताए । उनले संवैधानिक निकायले संविधानको व्यवस्था अनुरुप गर्ने काममा कार्यपालिकाले हस्तक्षेप नगर्ने बताए। 

 प्रदेश तहमा लोकसेवा आयोग गठन हुने संविधानको व्यवस्था भए पनि प्रदेशहरुमा लोकसेवा आयोग नबनेको हुँदा स्थानीय तहमा कर्मचारीको आवश्यकता पूर्ति गर्न आयोगले सूचना प्रकाशन गरेको मन्त्री पोखरेलले बताए ।

 मन्त्री पोखरेलले आयोगको सूचना समावेशी सिद्धान्तमै आधारित रहेको दाबी गरे। अस्थायी तथा करार सेवामा भर्ना गर्ने अधिकार दिँदा अनियमितता हुने गरेको गुनासो आइरहेकोले आयोगले निष्पक्षरुपमा कर्मचारी भर्ना गर्नु उचित हुने उनको प्रष्टोक्ति थियो ।

उनले संसदको राज्य व्यवस्था समितिले लोकसेवा आयोगको सूचना रद्द गर्न दिएको निर्देशन बारे जानकारी लिइनसकेको बताए।  संघीय सरकारमा आवश्यकता भन्दा बढी कर्मचारी राखेर तिनको व्यवस्थापन नगरी नयाँ भर्ना गर्ने प्रक्रिया अघि बढेको सम्बन्धमा उनले केन्द्रमा भएका कर्मचारीले पनि आवश्यकता पूरा हुन नसक्ने भएकैले प्रक्रिया अघि बढाएको दाबी गरे । 


Views: 98