19th September | 2019 | Thursday | 9:44:59 PM

ओली–मे भेटवार्ता

हिमालय टाइम्स   POSTED ON : जेठ २९, २०७६ (१०:०२ AM)

ओली–मे भेटवार्ता

काठमाडौं । बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बेलायती समकक्षी टरिजा मेसँग भेटवार्ता गरेका छन् । बेलायती प्रधानमन्त्रीको कार्यालय ‘टेन डाउनिङ स्ट्रिट’ मा दुई नेताबीच करिब आधा घण्टा भेटवार्ता भएको थियो । भेटवार्तामा दुई देशबीचको सम्बन्ध सुधारबारे चर्चा भएको बताइएको छ । उच्चस्तरीय भेटवार्तामा कुनै सम्झौता भने नभएको बेलायती अधिकारीहरूले जनाएका छन् ।

बेलायती प्रधानमन्त्री मेको बहिर्गमनकै हुनै लागेका बेला उच्चस्तरीय भेटवार्ता भएका कारण पनि दुई देशबीच कुनै प्रकारको सम्झौता हुन नसकेको हो ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार भेटवार्तामा नेपाल–बेलायत विकास साझेदारी, पर्यटन प्रवद्र्धन र ब्रिटिस गोर्खासम्बन्धी विषयमा छलफल भएको थियो । प्रधानमन्त्री ओलीले नेपाल, भारत र बेलायत बीच सन् १९४७ मा भएको त्रिपक्षीय सन्धि पुनरावलोकन गर्नुपर्ने धारणा राखेको जनाइएको छ । 

प्रधानमन्त्री ओलीले मंगलबारै बेलायती राजकुमार हृयारीसँगसमेत भेटवार्ता गरेका छन् । राजकुमार हृयारी पछिल्लो समय भूकम्पपछि पुनर्निर्माणका क्रममा नेपाल आएका थिए । उनी आफ्नो भ्रमण लम्ब्याएर पुनर्निर्माणमा समेत सक्रियतापूर्वक सहभागी भएका थिए । भेटमा प्रधानमन्त्री ओलीले भूकम्पपछिको पुनर्निर्माणमा नेपाल पुगेर गरेको सहयोगका लागि राजकुमार हृयारीलाई धन्यवाद दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार अर्यालले जनाए ।

प्रधानमन्त्री ओलीले बेलायतको प्रमुख विपक्षी दल ‘लेबर पार्टी’ का नेता जेरेमी कोर्बिनसँग पनि भेट गरेका छन् । 


Views: 52