19th September | 2019 | Thursday | 9:04:48 PM

लोकसेवाको विज्ञापन खारेज हुँदैन : मन्त्री पण्डित

हिमालय टाइम्स   POSTED ON : जेठ २९, २०७६ (१०:०८ AM)

लोकसेवाको विज्ञापन खारेज हुँदैन : मन्त्री पण्डित

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय तहमा विभिन्न पदका लागि लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापन संविधान र कानुनअनुसार भएको दाबी गर्दै खारेज गर्न नपर्ने बताएका छन् ।

मंगलबार सञ्चार केन्द्र नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री पण्डितले विज्ञापन खारेज गर्न निर्देशन दिएको राज्य व्यवस्था समितिलाई आप्mनो निर्देशनको कानुनी वैधता पुष्टि गर्न चुनौतीसमेत दिए । समितिको सोमबार बसेको बैठकले लोकसेवा आयोगले प्रकाशित गरेको विज्ञापन संविधानविपरीत भएको भन्दै खारेज गर्न निर्देशन दिएको थियो ।

‘उक्त निर्देशनको पुष्टि सम्बन्धित समितिले नै गर्नुपर्छ,’ मन्त्री पण्डितले भने, ‘लोकसेवा आयोगले विज्ञापन कानुनसम्मत भएको पुष्टि गर्छ ।’ उनले संवैधानिक विवाद उत्पन्न भए त्यसको निरूपण सर्वोच्च अदालतले नै गर्ने बताए । विज्ञापन कानुनसम्मत नै रहेको दाबी गर्दै उनले तत्काल खारेज नहुने प्रस्ट पारे । ‘आयोगले गरेको विज्ञापन संवैधानिक, कानुनी र लोकसेवा आयोगको मूल्यमान्यताअनुसार छ,’ उनले भने, ‘त्यसैले यसलाई खारेज गर्नुपर्ने अवस्था देखिँदैन ।’

मन्त्री पण्डितले संघीय निजामती सेवा ऐन अझै नबनिसकेकाले पुरानै ऐनअनुसार आरक्षण कोटा निर्धारण गरेर विज्ञापन गरेको बताए । सम्बन्धित स्थानीय तहका प्रमुख र प्रशासकीय अधिकृतको हस्ताक्षर गरेर नै रिक्त पदको तथ्यांक लिएर विज्ञापन गरिएको उनको भनाइ थियो ।

उनले प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा सञ्चालन ऐन बनेपछि मात्र स्थानीय तहका करार र अस्थायी कर्मचारीलाई परीक्षामा सहभागी गराउने जानकारी दिए । आयोगले नभनेसम्म कर्मचारी भर्नाका लागि खुलेको आवेदन फाराम नरोकिने प्रस्ट पार्दै उनले समितिले दिएको निर्देशन पालना गरिरहनुपर्ने अवस्था नरहेको बताए ।

लोकसेवा आयोगका पूर्वसदस्य प्राडा भीमदेव भट्टले समितिले बाटो बिर्सिएर आयोगले प्रकाशन गरेको विज्ञापन रोक्न निर्देशन दिएको जिकिर गरे । उनले आप्mनो निर्णयलाई समितिले पुनर्विचार गर्नुपर्ने बताए ।

आयोगका पूर्वसदस्य टीकादत्त निरौलाले विज्ञापनमा आरक्षणको व्यवस्थाका लागि सच्याउन निर्देशन दिनसक्ने अवस्था देखिए पनि खारेज गर्न निर्देशन दिनुको अर्थ नरहेको बताए ।

आयोगले ५१५ स्थानीय तहका लागि विभिन्न पदमा ९ हजार १६१ कर्मचारी भर्नाका लागि विज्ञापन प्रकाशित गरेको थियो । हालसम्म करिब ९० हजारले आवेदन गरिसकेको जनाइएको छ ।


Views: 62