24th July | 2019 | Wednesday | 9:19:52 AM

गुठियारको आन्दोलनमा कांग्रेसको समर्थन

हिमालय टाइम्स   POSTED ON : असार ३, २०७६ (६:२६ AM)

गुठियारको आन्दोलनमा कांग्रेसको समर्थन

काठमाडौं । मुख्य विपक्षी दल नेपाली कांग्रेसले गुठी विधेयकविरुद्ध जारी सडक आन्दोलनमा ऐक्यबद्धता जनाउँदै विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले गुठी विधेयकको विरुद्धमा सडकमा चलिरहेको आन्दोलनमा कांग्रेसको समर्थन रहने प्रतिबद्धता जनाउँदै विधेयक फिर्ता लिन सरकारसँग माग गरेका हुन् । 

नेपाल र नेपाली समाजको धार्मिक, सांस्कृति, सामाजिक मूल्यमान्यता र मौलिक पहिचान समाप्त पार्नेगरी सरकारले विधेयक ल्याएको उनको आरोप छ । गुठी विधेयक फिर्ता नलिए गम्भीर परिस्थिति सिर्जना हुनसक्ने चेतावनी दिँदै सांसद बडूले भने, ‘समयमै सचेत नभए त्यसबाट उत्पन्न हुने गम्भीर परिस्थितिका लागि सरकार स्वयं जिम्मेवार हुनुपर्नेछ ।’ 

प्रधानमन्त्री केपी शर्मा ओलीले विधेयकका बारेमा ‘सोचिनेछ, विचार गरिनेछ’ भन्ने र सरकारकै प्रवक्ता गोकुल बाँस्कोटाले ‘सामन्ती अवशेष समाप्त पारी छाडिनेछ’ भन्ने अभिव्यक्ति दिने गरेकोे भन्दै बडूले सरकारले दोहोरो चरित्र देखाएको टिप्पणी गरे । उनले आफैं कुटेजस्तो र रोएजस्तो गरेर सरकारको दोहोरो चरित्र अपनाएको टिप्पणी पनि गरे । 

सभामुख कृष्णबहादुर महराले बैठक प्रारम्भ भएको जानकारी गराएलगत्तै कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसदहरूले बोल्न समय मागेका थिए । सभामुखबाट समय पाएपछि बोलेका राजपाका सांसद लक्ष्मणलाल कर्णले लोकसेवा आयोगको विज्ञापन समावेशी बनाउनुपर्ने धारणा दोहो¥याए । 

उनले राज्यव्यवस्था तथा सुशासन समितिको निर्देशन नमानेको भन्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको आलोचना गरे । संसद्प्रति जवाफदेही हुनुपर्ने मन्त्री पण्डितले निर्देशन नमान्नु स्वीकार्य नहुने सांसद कर्णको भनाइ थियो । उनले लोकसेवा आयोगले पनि संसदीय समितिको निर्देशन नमान्ने भनेर दिएको अभिव्यक्तिको आलोचना गरेका थिए ।

‘समितिको निर्देशन मान्दिनँ भनेर मन्त्रीले भन्ने ?’ प्रश्न गर्दै कर्णले भने, ‘मन्त्रीको जन्म यही संसद्बाट भएको हो । मन्त्री आकाशबाट आएको होइन । मन्त्रीले बुझ्नुपर्छ । यो संसद्ले जन्माएको हो मन्त्री ।’ उनले संसदीय समितिको निर्देशन मान्दिनँ भन्न नपाइने सांसद कर्णको भनाइ छ । ‘लोकसेवा आयोगको अध्यक्षले भन्छ म मान्दिनँ । प्रवक्ताले भन्छ म मान्दिनँ,’ कर्णले प्रश्न गरे, ‘अब कसको कुरा मान्ने त ? संविधान पनि नमान्ने, कानुन पनि नमान्ने र संसद्लाई पनि नमान्ने हो भने यो देश कसले चलाइरहेको छ ? एकजना मन्त्री र एकजना लोकसेवा आयोगले चलाउन सक्छ यो देश ?’ लोकसेवा आयोगले गरेको विज्ञापनको विरोधमा आन्दोलन भइरहँदा कसैलाई चिन्ता नभए पनि आफ्नो पार्टीलाई चिन्ता भएको कर्णले बताए । उनले भने, ‘समानुपातिक समावेशीका लागि हामीले लडाइँ ग¥या हो, आन्दोलन ग¥या हो ।’ 


Views: 49