20th July | 2019 | Saturday | 9:02:03 AM

प्रधानमन्त्री भन्दा अघि बोल्न पाउनुपर्ने कांग्रेसको मागका कारण – बैठक स्थगन

  POSTED ON : असार ३, २०७६ (९:२२ AM)

प्रधानमन्त्री भन्दा अघि बोल्न पाउनुपर्ने कांग्रेसको मागका कारण – बैठक स्थगन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको आजको बैठक स्थगन भएको छ । 

सभामुख कृष्णबहादुर महराले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्ष दलका सांसदहरूले उठेर विरोध जनाएका थिए ।

नेपाली काँग्रेसले समसामयिक विषयमा विपक्षी दलका नेताले बैठकको शुरुमै बोल्न पाउनुपर्नेमा सभामुखले  समय उपलब्ध नगराएकोले विरोध गर्नुपरेको जनाएको छ । प्रमुख प्रतिपक्षी दलका सांसदहरु आ–आफ्नो स्थानमा उठेर विरोध जनाइरहँदा  सभामुख महराले प्रधानन्त्रीले सार्वजनिक महत्वको विषयमा वक्तव्य दिन चाहनुभएकाले उहाँको वक्तव्यपछि तपाईंहरुलाई बोल्न समय दिन्छु भने ।

सभामुखले प्रतिपक्ष दलका सांसदलाई  उक्त आग्रह गरिरहँदा नेपाली काँग्रेसका सांसदले संसदीय मर्यादा कायम गरियोस् र  प्रतिपक्षलाई पहिला बोल्न दिइयोस् भनी रोष्टम अगाडि गएर नाराबाजी गरेका थिए । नेकाका सांसदलाई पहिले प्रधानमन्त्रीको कुरा सुनौँ त्यसपछि तपाईंहरुलाई बोल्न समय दिन्छु भनी सभामुखले पटक पटक आग्रह गरे पनि लगातार नाराबाजी चलिरह्यो ।

प्रधानमन्त्री केपी शर्मा ओली सार्वजनिक महत्वको वक्तव्य दिन रोष्टममा पुगे पनि सम्बोधन नगरी त्यहीँ उभिरहेका थिए । प्रतिपक्षको लगातार नाराबाजी चलिरहेकाले सभामुखले बुधबार ११ बजे बस्ने गरी बैठक स्थागित गरिएको घोषणा गरे । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीले सार्वजनिक महत्वको विषयमा वक्तव्य दिने कार्यसूचीमा उल्लेख थियो ।

रासस


Views: 57