19th October | 2019 | Saturday | 7:33:46 AM

एक्लाएक्लै हिँडेर समृद्धि सम्भव छैन–मुख्यमन्त्री गुरुङ

  POSTED ON : असार ९, २०७६ (४:१८ PM)

एक्लाएक्लै हिँडेर समृद्धि सम्भव छैन–मुख्यमन्त्री गुरुङ

दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तीन तहका सरकारले एक्लाएक्लै हिँडे समृद्धि सम्भव नहुने बताएका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिकाको आज दुलेगौडामा आयोजित पाँचौँ नगरसभालाई सम्बोधन गर्दै उहाँले सङ्घ, प्रदेश र स्थानीय सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए ।

उनले तीन तहका सरकारको लक्ष्य र उद्देश्य एउटै भएकोले सबै सरकारहरु एउटै दिशामा हिँड्नुपर्नेमा जोड दिए । मुख्यमन्त्री गुरुङले भने, “प्रधानमन्त्री केपी ओली, सात वटा मुख्यमन्त्री र ७५३ वटा स्थानीय तहका प्रमुख एउटै डुङ्गामा सवार छाँै, सबैको सहकार्य भए मात्रै डुङ्गा पार लगाउन सक्छौँ, विकासका सवालमा पनि सबै एक हुन आवश्यक छ ।” उनले तीन तहका सरकारको कदम एउटै भए अबका दश वर्ष्भित्र मुलुकमा चमत्कार हुने दाबी गरे । 

उनले नीति तथा कार्यक्रममा आधारित भएर बजेट ल्याउनुपर्नेमा जोड दिँदै धेरै स्थानीय तहले नीति र बजेट एकसाथ पेश गरेको गुनासो गरे । उनले भने, “पहिला नीति तथा कार्यक्रम ल्याउने, त्यसमाथि छलफल गर्ने र नीति तथा कार्यक्रम पारित भएपछि बजेट ल्याउने पद्धति हो । तर केही स्थानीय तहहरुले पद्धति अनुसरण गर्न सकेनन् ।”

केन्द्र सरकारको भर पर्नुभन्दा स्थानीय तहले आम्दानीको स्रोत बढाउनुपर्नेमा सुझाव दिँदै मुख्यमन्त्री गुरुङले त्यसका लागि करको दायरालाई फराकिलो बनाउनुपर्ने बताए । प्रदेश सांसद आशा कोइरालाले गरीबी र बेरोजगारी विकासको बाधक रहेकोले स्थानीय तहहरुले गरीबी र बेरोजगारी निवारणका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिइन् ।

सो अवसरमा नगरपालिकाका उपप्रमुख सविता रसाइलीले आगामी आर्थिक वर्ष २०७६÷७७ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिन् । प्रत्येक वडाका टोलमा पुगेर जनताका आवश्यकता र मागलाई प्राथमिकतामा राखेर योजना छनौट गरिएको उपप्रमुख रसाइलीले जानकारी दिइन् । 


Views: 68