20th July | 2019 | Saturday | 9:13:44 AM

समझदारीहरूबाट पछाडि फर्कन थाले दुर्भाग्य : दाहाल

हिमालय टाइम्स   POSTED ON : असार १०, २०७६ (७:११ AM)

समझदारीहरूबाट पछाडि फर्कन थाले दुर्भाग्य : दाहाल

चितवन । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताका क्रममा तय गरिएका आधारबाट कोही विचलित हुन नहुने बताएका छन् । सोमबार पार्टीको चितवन जिल्ला समितिको शपथग्रहण कार्यक्रम र पहिलो बैठकलाई सम्बोधन गर्दै दाहालले पार्टी एकताका क्रममा भएका समझदारीहरूबाट पछाडि फर्कन थाले दुर्भाग्य हुने चेतावनीसमेत दिए ।

पार्टीमा पछिल्लो समय राजनीतिक दस्तावेजका विषयमा विवाद बढ्दै गएपछि दाहालले यस्तो चेतावनी दिएका हुन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दस्तावेज सम्पादनको अन्तिम चरणमा पुग्दा ‘धेरै कुरा संशोधन गर्नुपर्ने’ भन्दै पार्टीको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ उल्लेख गर्न चाहेको प्रकाशमा आएको छ । दाहालले विगतमा भएको सहमतिअनुसार नै अघि बढ्दा पार्टीको भविष्य, कार्यकर्ताको भावनाको सम्मान हुने तर्क गरे । उनले भने, ‘अलिअलि आफ्नो स्वार्थतिर केन्द्रित हुनुभएन । पार्टी एकता गर्दा हामीले जे–जे कुरालाई आधार बनाएर समझदारी र हस्ताक्षर गरेका छौं, दस्तावेजमा राखेका छौं, अब ती कुराबाट पछाडि हट्ने कुरा आउँदैन ।’

पार्टी एकतालाई धमिल्याउनका लागि प्रतिक्रियावादी शक्ति र अवसरवादी शक्तिहरू सल्बलाइरहेको उनको भनाइ थियो । गठबन्धन, पार्टी एकता र अहिले पनि एकता भाँडियोस् भन्ने उद्देश्यका साथ प्रतिक्रियावादी र अवसरवादी शक्तिहरू लागिपरेका छन्,’ कसैको नाम नतोकी उनले भने । विगतदेखि नै यस्ता प्रयास हुँदै आएको भन्दै उनले जनताको नैतिक दबाबका साथ खबरदारीले पार्टी एकता सम्भव भएको बताए ।

‘हामीले बनाएका दस्तावेजहरू, हामीले गरेका सहमतिहरू, एकताका आधार जेलाई बनाएका छौं, त्योबाट जो कोही अलिकति पनि विचलित हुन थाल्यो भने त्यसलाई हामीले खण्डन, आलोचना गर्नुपर्छ,’ उनले भने, ‘र उसलाई हाम्रो ऐतिहासिक एकताको आधारहरूमा केन्द्रित गर्नुपर्छ भन्नेमा सर्वसम्मति भएको छ ।’ पार्टी एकताको प्रक्रिया अन्तिम चरणमा पुगेको उनले बताए । एकता प्रक्रियाअन्तर्गत अब केन्द्रीय संरचना, विशेष कमिटी, आयोग, विभाग र कार्यविभाजनको काम मात्रै बाँकी रहेको भन्दै उनले चाँडै नै ती काम टुंग्याउने गरी गृहकार्य भइरहेको बताए ।

सहमति र एकताको आधारबाट विचलित नभई सबै एक भएर अघि बढ्नुको विकल्प नभएको उनले बताए । जनताले ठूलो विश्वासका साथ कम्युनिस्ट पार्टीलाई झण्डै दुईतिहाइको बहुमत दिएको जिकिर गर्दै उनले जनताको त्यो मतलाई सम्मान गर्दै अघि बढ्नुपर्ने बताए । पार्टी एकताबाट कोही विचलित हुन खोजेमा खण्डन र आलोचनाले सच्चिन मद्दत पुग्ने उनको भनाइ थियो ।


Views: 39