20th July | 2019 | Saturday | 8:47:15 AM

कोमामा रहेका २८ कामदारलाई ल्याउने तयारी

हिमालय टाइम्स   POSTED ON : असार १०, २०७६ (७:३१ AM)

कोमामा रहेका २८ कामदारलाई ल्याउने तयारी

काठमाडौं । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीका क्रममा करार अवधिभित्र बिरामी भई स्वदेश फर्किएर उपचारका क्रममा मृत्यु भएका तथा बिदामा फर्किएको अवस्थामा बिरामी भई उपचारका क्रममा मृत्यु भएका ११४ जना कामदारका परिवारका आफन्तलाई आर्थिक सहायता उपलब्ध गराउने भएको छ । बोर्ड अध्यक्ष श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको अध्यक्षतामा आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । ११४ जनालाई आर्थिक सहायताका लागि बोर्ड सचिवालयले थप ६ करोड ६६ लाख व्यवस्था गरेको छ । 

त्यस्तै वैदेशिक रोजगारीका क्रममा विभिन्न देश अचेत अवस्था (कोमा)मा रहेको २८ जना नेपाली कामदारलाई स्वदेशमै ल्याएर उपचारको व्यवस्था गर्ने भएको छ । रोजगारदाता देशको कार्यस्थलमा दुर्घटनामा परेर अथवा अन्य विभिन्न रोगका कारण २८ जना कामदार विभिन्न अस्पतालको कोमामा छन् । 

बैठकले त्यस्ता कामदारलाई स्वदेशमै ल्याएर उपचार गराउने उद्देश्यका साथ एक कार्यदल बनाउने बनाउने निर्णय पनि गरेको छ । श्रम मन्त्रालयअन्तर्गत सम्बद्ध महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन गर्ने गरी काम तत्काल अघि बढाइने बोर्डले जनाएको छ । जसमा स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, कानुन मन्त्रालय, सम्बद्ध क्षेत्रका अनुभवी चिकित्सक, वैदेशिक रोजगार व्यवसायी संघ र ट्रेड युनियनका प्रतिनिधिसमेत रहनेछन् । 

कार्यदलमा बोर्ड सचिवालयबाट सदस्य सचिव रहनेछन् । कार्यदलले विभिन्न देशका अस्पतालमा उपचारार्थ गम्भीर प्रकृतिका बिरामीको संकलित तथ्यांकमाथि छानविन गरी नेपाल ल्याउने प्रक्रिया तथा मापदण्ड र नेपालमा उपचारका लागि आवश्यक पर्ने नीतिगत तथा कानुनी संयन्त्रलगायत अनुमानित खर्च विवरणको अध्ययन गरी सुझाब पेश गर्नेछ । 

कोमामा रहेका बिरामीलाई सरकारी तथा निजी अस्पतालमा उपचारका लागि आवश्यक व्यवस्था मिलाइने वैदेशिक रोजगार बोर्डले जनाएको छ । बोर्डका अनुसार चिकित्सकसँगको परामर्शपछि उनीहरूलाई नेपालमा ल्याउन लागिएको हो । 

हाल खाडी मुलुकका साथै मलेसिया र दक्षिण कोरियामा गरी २८ जना नेपाली कोमामा रहेको बोर्डल जनाएको छ । ती मध्ये ४ जनाको भने अचेत अवस्थामा छन् । त्यस्तै बैठकमा बाग्लुङका तेजेन्द्र भण्डारीको सवारी दुर्घटनामा परी साउदी अरेवियामा मृत्यु भएको र अस्पतालबाट शव पठाउँदा चिन्न नसकिने अवस्थामा रहेकोले मोरङका सुवास तामाङ भनी पठाएकोे र सुवास तामाङको परिवारले तामाङ संस्कारअनुसार दाह संस्कार गरी नियमानुसार सचिवालयवाट आर्थिक सहायतासमेत प्राप्त गरिसकेपछि तामाङ जीवितै फर्केको विषयमा पनि गम्भीर छलफल भएको थियो ।

मृतक तेजेन्द्र भण्डारीको हकमा निजको वृद्ध आमा र नावालकलाई क्षतिपूर्तिबापत आर्थिक सहायता उपलब्ध गराउने र पीडित सुवास तामाङको परिवारले नियमानुसारको प्राप्त गरेको आर्थिक सहायताका सम्बन्धमा निजको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी स्वास्थ्य उपचार खर्चमा रूपान्तरण गर्ने निर्णय गरेको छ । 

त्यस्तै पीडित सुभास तामाङका विषयमा पनि आवश्यक व्यवस्था गर्ने निर्णय गरेको छ । बोर्ड बैठकमा राष्ट्रिय योजना आयोगका डा. रामकुमार फुयाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दहालका साथै बोर्ड सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो ।

Views: 33