20th July | 2019 | Saturday | 9:24:28 AM

बाढीसँगै उद्धारका लागि सुरक्षाकर्मी परिचालित भएको प्रधानमन्त्रीद्धारा जानकारी

  POSTED ON : असार २७, २०७६ (१:३९ PM)

बाढीसँगै उद्धारका लागि सुरक्षाकर्मी परिचालित भएको प्रधानमन्त्रीद्धारा जानकारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षासँगै आएको बाढीबाट हुनसक्ने क्षति न्यूनीकरण तथा उद्धार गर्न तदारुकताका साथ सुरक्षाकर्मी परिचालन गरिएको बताएका छन् । 

आज ट्वीट गर्दै उनले सम्भावित जोखिमबाट जोगाउनका लागि पूर्वसूचना प्रणालीलाई अझ प्रभावकारी बनाउन सम्बन्धित मन्त्रालय सक्रिय रहेकोसमेत जानकारी गराए । उनले सर्लाहीस्थित भारतसँगको सीमा क्षेत्रमा डुबानको समस्या समाधान गर्न दुई देशबीच समन्वय गरी बहाव खुलाउने काम भइरहेको जनाए । 

प्रधानमन्त्रीले बिहीबारदेखिको अविरल वर्षाका कारण आएको बाढीमा परी छ जनाले ज्यान गुमाएको, सात जना बेपत्ता तथा ४०० भन्दा बढी घरमा क्षति पुगेको जानकारी दिएका छन् । बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले मृतकका परिवारजनप्रति समवेदना व्यक्त गरे । 

यसैबीच, मधेसी आयोगले अविरल वर्षाका कारण मधेश क्षेत्रमा भएको डुबान र यसबाट सिर्जित मानवीय सङ्कट समाधान गर्न सरोकारवाला निकायसमक्ष आग्रह गरेको छ । 

आयोगद्वारा आज जारी विज्ञप्तिमा स्थानीय समाजसेवी, सङ्घ संस्था, स्थानीय जनप्रतिनिधि, स्थानीय प्रशासन, नेपाल रेडक्रस तथा अन्य सरोरकारवालाबीच समन्वय र सहकार्य गरी पीडितको तत्काल उद्धार, राहत र पुनःस्थापना कार्य प्रभावकारी बनाउन आग्रह गरिएको छ । 


Views: 62