18th August | 2019 | Sunday | 3:04:03 AM

काम नगर्ने र बिगार्ने कर्मचारीमाथि ठाउँको ठाउँ कारबाही गर्ने मन्त्री बाँस्कोटाको चेतावनी

हिमालय टाइम्स   POSTED ON : श्रावण १, २०७६ (२:२३ PM)

काम नगर्ने र बिगार्ने कर्मचारीमाथि ठाउँको ठाउँ कारबाही गर्ने मन्त्री बाँस्कोटाको चेतावनी

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले काम नगर्ने र बिगार्ने कर्मचारीमाथि ठाउँको ठाउँ कारबाही गर्ने चेतावनी दिएका छन् ।

बुधबार मन्त्रालयमा चालु आर्थिक वर्षको कार्यक्रम र विभागीय प्रमुखहरुसँग कार्यसम्पादन करार सम्झौता हस्ताक्षर कार्यक्रममा उनले सरकारका कर्मचारीले समयको ख्याल गर्दै काम संपादन गर्नु पर्ने बताए ।

उनले भने “वैशाखमा ब्युझने, जेठको मध्यतिर आङ तान्ने, असार लागेपछि खुइइ दौडदै काम देखाउने, अन्ततिर हस्याङ फस्याङ गर्ने !”  यस्तो हुनु भएन ।

कर्मचारलिे कागजको झन्झट बनाउने काम गर्ने गरेको उनको भनाइ थियो । कर्मचारीहरुको काम चोर र काम ठग प्रवृत्तिबारे व्याख्या गर्दै अब निर्देशन मात्र दिएर नबस्ने बताए । उनले एक कानले सुन्ने अर्को कानले उडाउने कर्मचारी विरुद्ध उनले लौरोसहित ढोका उघार्दै कार्यालयहरु पस्ने बताए । कठोर बोलीका साथ बाँस्कोटाले बुधबार मन्त्रालयमा बोल्दै लौरो र कुचो लिएर कर्मचारीमाथि कारबाही गर्न हिंड्ने चेतावनी दिएका थिए । 

मन्त्री बाँस्कोटाले भने,‘रातो कलम बोकेर हिंड्छु र ठाउँको ठाउँ कारबाही गर्छु ।’ अल्छी कर्मचारीलाई पटुकी कसेर बाटो लाग्न भने ।

देशमा काम ठग प्रवृत्ति चुनौती रहेको भन्दै अब नतिजामुखी बनेर काम गर्न लगाउने बताए । जसले काम गर्दैन त्यसमाथि कारबाही गर्ने उनको चेतावनी थियो ।

उत्तरदायित्व र जिम्मेवारी मात्र आफूलाई थाहा भएको भन्दै शक्ति देखाउन आउनेलाई पनि ठाउँको ठाउँ कारबाही गर्ने मन्त्री बाँस्कोटाले बताए । उनले जनता जोडिने र विकासको विषय भएको क्षेत्रमा आलटाल गरेमा कडा कारबाही भोग्नुपर्ने चेतावनी दिए । 

‘सरकार पनि स्थायी र कर्मचारी पनि स्थायी भएको बेलामा विकास नभए कहिले हुन्छ,’ बाँस्कोटाले भने । 

अबको वर्ष नतिजा खोज्ने वर्ष हुने उनको भनाइ थियो ।


Views: 78