18th August | 2019 | Sunday | 2:54:06 AM

नेकपाले लगायो ७७ जिल्ला र ६ महानगरका इन्चार्ज र सहइन्चार्जको टुंगो

हिमालय टाइम्स   POSTED ON : श्रावण ५, २०७६ (१२:४० PM)

नेकपाले लगायो ७७ जिल्ला र ६ महानगरका इन्चार्ज र सहइन्चार्जको टुंगो

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जिल्ला इन्चार्ज र सह–इन्चार्ज टुंगो लगाएको छ ।

बालुवाटारमा आइतबार बसेको पार्टीको सचिवालय बैठकले ७७ जिल्ला र ६ महानगर कमिटीका इन्चार्ज र सहयन्चार्जहरुको टुंगो लगाएको हो ।

४५ इन्चार्ज पूर्वएमाले र ३८ जना पूर्वमाओवादीको भागमा परेको छ । काठमाडौंको इन्चार्ज तत्कालीन एमालेको भागमा परेको छ भने भक्तपुर र ललितपुरमा पूर्वमाओवादीको भागमा परेको छ ।

सचिवालय बैठक बस्नुअघि आफ्नो भागमा परेका विभागको नेतृत्व कसलाई दिने भन्नेबारे छलफल गर्न आइतबार बिहान पूर्वमाओवादी केन्द्रका नेताहरूको बैठक नेकपा अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा भएको थियो।

सचिवालय बैठककै तयारीस्वरूप शनिबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल भएको थियो । पार्टीका केन्द्रीय विभाग तथा आयोगहरूमा भागबण्डा भइसके पनि केही नेताले असन्तुष्टि जनाएका कारण दुई अध्यक्षले छलफल गरेका थिए । 

नेकपाका ३२ विभागमध्ये पूर्व–एमालेको भागमा परेका १८ र पूर्व–माओवादी केन्द्रको भागमा परेका १४ विभाग नेतृत्व गर्ने समझदारी भएको थियो । 

स्रोतका अनुसार स्कुल विभागको नेतृत्वका बारेमा पछिल्लो समय विवाद बढेको छ । वैचारिक हिसाबले महŒवपूर्ण मानिने स्कुल विभाग कसलाई दिने भन्नेमा अध्यक्षद्वयबीच नै सहमति जुट्न सकेको छैन । सो विभागमा ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठ आकांक्षी छन् । अध्यक्षद्वयसँगै सचिवालय सदस्यहरू समेत दुवै आकांक्षीलाई लिएर विभाजित बनेका छन् ।

श्रेष्ठको पक्षमा अध्यक्ष दाहालका साथै वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमसमेत छन् । पोखरेलको पक्षमा अध्यक्ष ओली र महासचिव विष्णु पौडेल मात्र छन् । सचिवालय सदस्य रामबहादुर थापा भने कुनै पनि पक्षमा खुलेका छैनन् ।

नेपाल लगायतका नेताहरूले यसअघि नै दुई अध्यक्ष र मन्त्री पदमा बहाल रहेका नेताले कुनै पनि विभागको जिम्मेवारी पाउन नहुने मत जाहेर गरिरहेका छन् । ओली भने पोखरेललाई नै स्कुल विभागको जिम्मेवारी दिने मनस्थितिमा छन् । पोखरेल उप्रधानमन्त्री एवं रक्षामन्त्रीसमेत रहेका कारण उनलाई दोहोरो जिम्मेवारी दिन नहुने नेपाल पक्षको तर्क छ ।

पूर्व–माओवादीले आफ्नो भागमा परेका विभागका नेतृत्वको टुंगो लगभग लगाइसकेको स्रोत बताउँछ । पूर्वएमाले र पूर्व–माओवादीबीच केही विभागको नेतृत्व साट्नुपर्ने अवस्था देखिएको बताइएको छ । शनिबार अध्यक्षद्वयबीच यस विषयमा समेत छलफल भएको स्रोतको भनाइ छ ।

  


आइतबार बसेको पार्टीको सचिवालय बैठक केही विभाग बाँडफाँडमा सहमति जुटिनसकेको स्रोतको भनाइ छ  । विभागहरुको टुंगो  भने मंगलबार बस्ने सचिवालय बैठकले लगाउने छ ।


Views: 75