7th December | 2019 | Saturday | 7:14:39 PM

‘सरकारको नेतृत्व फेर्ने बेला भएको छैन’

चन्द्रकान्त खनाल   POSTED ON : श्रावण ५, २०७६ (४:३८ PM)

‘सरकारको नेतृत्व फेर्ने बेला भएको छैन’

रुपन्देही । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता देवेन्द्र पौडेलले सरकार र पार्टी सञ्चालनको लागि दुई अध्यक्षबीच भएको पाँचबुँदे सहमति पालना गर्दै सरकार र पार्टी सञ्चालन हुनुपर्ने बताएका छन् ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको सहमतिकै आधारमा सरकार र पार्टीको गतिविधि अघि बढ्ने भन्दै उनले त्यसमा कसैले पनि शंका उपशंका गर्न नहुने बताए । स्थायी समिति सदस्यसमेत रहेका पौडेलले दुई अध्यक्षबीच भएको लिखित सहमतिलाई आफूखुसी व्याख्या या तोडमोड गर्न नमिल्ने प्रस्ट पारे ।

रिपोर्टर्स क्लब नेपालले शनिबार बुटवलमा आयोजना गरेको साक्षात्कारमा उनले दुई अध्यक्षबीच लिखित सहमति भए पनि अहिल्यै प्रधानमन्त्रीबाट ओलीलाई हटाउने बेला नभएको बताए । सहमतिअनुसार ढिलोचाँडो सरकारमा फेरबदल हुने उनको भनाइ थियो ।

सरकारका काम कारबाही प्रभावकारी बनाउन तत्काल मन्त्रीहरू फेरबदल गर्न सकिने बताउँदै उनले केही विषयमा सरकार चुकेको टिप्पणीसमेत गरे । हचुवाको भरमा विधेयक ल्याउने र विरोधपछि फिर्ता गर्ने परिपाटी राम्रो नहुने उनले प्रस्ट पारे । विधेयक ल्याउनुअघि नै पर्याप्त गृहकार्य हुनुपर्नेमा जोड दिँदै उनले निर्मला हत्याकाण्ड, भ्रष्टाचार, महँगी, सुशासन, सामाजिक उत्तरदायित्वको विषयमा सरकारको भूमिका कमजोर देखिएको उनको भनाइ थियो ।



Views: 86