25th August | 2019 | Sunday | 6:09:30 PM

युवालाई उत्पादन, श्रम र रोजगारसँग जोड्नुपर्छ : उपप्रम पोखरेल

  POSTED ON : श्रावण २७, २०७६ (४:०९ PM)

युवालाई उत्पादन, श्रम र रोजगारसँग जोड्नुपर्छ : उपप्रम पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले जीवनोपयोगी शिक्षा दिएर युवालाई मुलुकको विकासका लागि लगाउनुपर्ने बताएका छन् ।

अन्तर्रा्ष्ट्रिय युवा दिवसका अवसरमा युवा तथा खेलकूद मन्त्रालय र राष्ट्रिय युवा परिषद्ले आज यहाँ आयोजना गरेको ‘राष्ट्रिय  युवा प्रतिभा सम्मान तथा युवा उद्यमशीलता सम्मेलन’ मा उनले युवालाई व्यावहारिक शिक्षा दिनुपर्नेमा जोड दिए । 

विश्वभर आज ‘शिक्षामा रुपान्तरण’ र नेपालमा ‘शिक्षामा रुपान्तरण : उद्यमशीलता र नवप्रवर्तन’ भन्ने नाराका साथ सो दिवस मनाइएको छ । “अहिलेसम्म जीवन उपयोगी शिक्षा नभएर युवा पढेर पनि बेरोजगार भएका छन्”, उनले भने, “अब प्राविधिक तथा व्यावसायिक जस्ता जीवनोपयोगी शिक्षातर्फ जोड दिनुपर्दछ ।”

रक्षामन्त्री पोखरेलले उत्पादन, श्रम र रोजगारसँग जोडिएको शिक्षा अहिलेको आवश्यकता रहेको उल्लेख गदै सरकार त्यस्तो खालका शिक्षा दिन केन्द्रित रहेको छ भने । उनले बाध्यताले विदेश जानुपर्ने स्थितिलाई बदल्नुपर्ने बताए । 

नेपालमा पहिलो पटक सन् २००४ बाट विभिन्न सङ्घसंस्थाको आयोजनामा दिवस मनाउन थालिएको हो । युवाका सवाललार्ई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्त १२ लाई अन्तर्रा्ष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमित रूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रमहरू हुँदै आएको छ । 

कार्यक्रममा युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्माले विकासको मेरुदण्ड युवा भएकाले राष्ट्र निर्माणको दिशामा युवालाई परिचालन गर्नुपर्ने बताए । उनले युवालाई श्रम, उत्पादन, स्वरोजगारसँग जोड्न सके मात्र मुलुकको विकास हुने बताए । 

“युवाका आकाङ्क्षा धेरै नै रहेका छन् । ती आकाङ्क्षालाई पुरा गर्नका लागि युवालाई राष्ट्र निर्माणमा परिचालन गर्नुपर्दछ”, उनले भने, “युवालाई राष्ट्र निर्माणमा परिचालन गर्नका लागि यस वर्ष युवा परिचालन वर्ष घोषणासमेत गरिएको छ ।”

कार्यक्रममा प्रतिनिधिसभा अन्र्तगत शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले युवाले मुलुकमा रहेका प्राकृतिक स्रोत साधनलाई सही सदुपयोग गर्न सके विकासमा फड्को मार्न सकिन्छ भनिन ।


Views: 73