10th December | 2019 | Tuesday | 11:29:06 AM

कांग्रेसमा अब सहसभापति पनि

हिमालय टाइम्स   POSTED ON : श्रावण २८, २०७६ (११:५२ AM)

कांग्रेसमा अब सहसभापति पनि

काठमाडौं । नेपाली कांग्रेसले संघीय संरचनाअनुसार अन्तरिम संरचना गठन गर्दा सभापति हुन नसकेका वडा, गाउँ, नगरपालिका तथा प्रतिनिधिसभा क्षेत्रीय समितिका निवर्तमान सभापतिहरूलाई सम्बन्धित कार्यसमितिमा सहसभापति बनाउने भएको छ ।

अन्तरिम संरचना गठनका लागि तयार ‘नेपाली कांग्रेस स्थानीय तह संगठन पुनर्संरचनाको अन्तरिम व्यवस्था निर्देशिका, २०७६’ मा सभापति हुन नसकेका निवर्तमान सभापतिहरूलाई सम्बन्धित कार्यसमितिमा सहसभापति बनाउने व्यवस्था गरिएको छ । आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकले सर्वसम्मतिले पारित गरेको निर्देशिकाको ‘अन्य व्यवस्था’ अन्तर्गत राखिएको ९ नम्बर बुँदामा भनिएको छ, ‘सभापति हुन नसकेका साबिकका वडा, गाउँ, नगरपालिका तथा प्रतिनिधिसभा क्षेत्रीय समितिका सभापतिहरू हाल कायम भएका सम्बन्धित कार्यसमितिका सहसभापति हुनेछन् ।’

कांग्रेसले प्रतिनिधिसभा क्षेत्रीय समिति र प्रदेशसभा क्षेत्रीय समिति आगामी भदौ २० गतेभित्र र वडा, गाउँ, नगरपालिकास्तरीय समितिहरू कात्तिक महिनाभित्र गठन गरिसक्ने कार्यतालिका बनाएको छ । पार्टीको विधानले संघीय संरचनाअनुसार कार्यसमिति गठनका लागि निर्वाचन प्रक्रिया अपनाउने व्यवस्था गरे पनि बैठकले सहमतिमै गठन गर्ने पनि निर्णय गरेको छ । 

गत फागुन १२ गते केन्द्रीय कार्यसमितिले अनुमोदन गरेको कांग्रेस विधानमा टोल, वडा, गाउँ र नगर, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्र गरी आठ तहमा पार्टी संरचनाको व्यवस्था गरिएको छ । 

निर्देशिकामा नेपालको संविधानबमोजिम स्थानीय तह तथा संसदीय निर्वाचन क्षेत्र निर्धारण भएपछि सीमांकन हेरफेर नभएका वडा, गाउँ, नगर, उपमहानगर, महानगरपालिका र प्रतिनिधिसभा क्षेत्रमा अहिलेकै कार्यसमितिलाई यथावत राखिने उल्लेख छ । साबिक गाउँपालिका पूरै गाउँ अथवा नगरपालिकाको वडामा रूपान्तरण भएको भए साबिककै कार्यसमितिलाई वडा कार्यसमितिमा रूपान्तरण गरिने निर्देशिकामा व्यवस्था गरिएको छ । 

संविधानबमोजिम स्थानीय तह तथा संसदीय निर्वाचन क्षेत्र निर्धारण भएपछि साबिकका वडा, गाउँ, नगर, उपमहानगर, महानगरपालिका वा तत्कालीन व्यवस्थापिका संसद् निर्वाचन क्षेत्रको सीमाबाट पूरै वा आंशिक भूभाग अन्य वडा, गाउँ, नगर, उपमहानगर, महानगरपालिका वा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको भूगोलमा समायोजन हुँदा सीमांकन हेरफेर भएर नयाँ कायम भएका वडा, गाउँ, नगर, उपमहानगर, महानगरपालिका वा प्रतिनिधिसभा निर्वाचन क्षेत्रभित्र बस्ने साबिकका कार्यसमितिका सबै पदाधिकारी र सदस्यहरू आफ्नो पदमा कायम रहने बताइएको छ । पुनर्संरचनापछि बनेको नयाँ क्षेत्रभित्रको कार्यसमितिमा भने समायोजन गरिने निर्देशिकामा व्यवस्था गरिएको छ ।

पुनर्संरचनामा सीमांकन परिवर्तन भएर अहिले कायम रहेको क्षेत्रभित्र एक मात्र सभापति भए सोही व्यक्तिलाई पार्टीको सम्बन्धित निकायको कार्यसमितिको सभापति बनाइने भएको छ । सीमांकन हेरफेर भएर नयाँ कायम भएका क्षेत्रभित्र दुई वा दुईभन्दा बढी सभापतिहरू भए उनीहरूले आफूमध्येबाट एकजनालाई सभापतिमा सहमति गरेर लिखित सहमतिपत्र हस्ताक्षरसहित पार्टीको माथिल्लो निकायमा पठाउनुपर्ने व्यवस्था कांग्रेसले गरेको छ । 

सीमांकन हेरफेर भएर नयाँ कायम भएका क्षेत्रभित्र रहेका सभापतिहरूबीच सहमति नजुटे साबिकको वडा, गाउँ, नगर, तत्कालीन व्यवस्थापिका संसद्को जुन क्षेत्रमा बढी संख्यामा पार्टीका क्षेत्रीय अधिवेशनका प्रतिनिधि भएको क्षेत्रको सभापतिलाई कार्यसमितिको सभापति बनाइने भएको छ । सहमति नजुटेका क्षेत्रमा क्षेत्रीय अधिवेशनका प्रतिनिधिहरूको संख्या बराबर भए क्रियाशील सदस्यता संख्या बढी भएको क्षेत्रको सभापति कार्यसमिति सभापति हुनेछ । क्रियाशील सदस्यताको संख्या पनि बराबर भए सम्बन्धित सभापतिहरूबीच गोलाप्रथाद्वारा सभापति चयन गरिने निर्देशिकामा उल्लेख छ ।

दुई वा दुईभन्दा बढी सभापति रहेको क्षेत्रमा सभापतिहरूबीच सहमति नजुटेको अवस्थामा हाल तोकिएको केन्द्रमा रहेको सभापतिलाई कार्यसमितिको सभापति बनाइने भएको छ । प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको हकमा सभापति पदका लागि सहमति नजुटे साबिकका सभापतिमध्येबाट क्षेत्रीय कार्यसमितिको सभापति पदमा बढी कार्यकाल काम गरेको व्यक्तिलाई कार्यसमितिको सभापति बनाइने निर्देशिकमा उल्लेख छ । 

प्रदेशसभा क्षेत्रीय कार्यसमिति गठन गर्दा जुन जिल्लामा साबिकमा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र भई हाल एक कायम भएको छ, त्यहाँ साबिकको प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको सभापतिसहित सम्पूर्ण कार्यसमिति प्रदेशसभा क्षेत्रीय कार्यसमितिमा रूपान्तरण हुनेछन् । 

साबिकमा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र १ वा २ को भूगोलमा रहेका जिल्ला सभापति बाहेकका जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्यहरू सोही प्रदेशसभा क्षेत्रीय कार्यसमितिको पदाधिकारी र सदस्य हुनेछन् । प्रदेशसभा क्षेत्रीय कार्यसमितिको सभापतिको हकमा सम्बन्धित क्षेत्रको ज्येष्ठ पदाधिकारी र पदाधिकारी नभए कार्यसमितिको ज्येष्ठ सदस्य सो प्रदेशसभा क्षेत्रीय कार्यसमितिको सभापति हुनेछ । 

पुनर्संरचनापछि दुई वा दुईभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र कायम रहेको जिल्लामा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र १ वा २ को भूगोलमा रहेका प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरू सोही प्रदेशसभा क्षेत्रीय कार्यसमितिको सभापतिको हकमा प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको सभापति हुन नसकेका सभापति उक्त प्रदेशसभा निर्वाचन क्षेत्रमा भए निज नै प्रदेशसभा क्षेत्रीय कार्यसमितिको सभापति हुनेछ । निजले मञ्जुर नगरेमा वा त्यस्तो सभापति नभएको खण्डमा पदाधिकारीमध्ये ज्येष्ठ पदमा रहेको र पदाधिकारी पनि नभएको खण्डमा ज्येष्ठ सदस्य सभापति हुनेछ । 

कांग्रेसले अन्तरिम संरचना गठन गर्दा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका स्थानीय संगठन भएको स्थानमा संगठनको सभापति र आवश्यकताअनुसार पदाधिकारीलाई अनिवार्य रूपमा छलफलमा सहभागी गराउने निर्देशिकामा उल्लेख छ । कांग्रेसले लोकतान्त्रिक फोरमका नेता–कार्यकर्ताको समायोजन पार्टीले गठन गरेको उपसभापति विमलेन्द्र निधिको संयोजकत्वको समायोजन समितिले सिफारिसका आधारमा केन्द्रीय कार्यसमितिको निर्णयअनुसार गरिने पनि निर्देशिकामा भनिएको छ । 

प्रशिक्षण चलाउँदै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले महाधिवेशन प्रतिनिधिहरूका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रशिक्षण प्रतिष्ठानले गण्डकी प्रदेश, ५ नम्बर प्रदेश र कर्णाली प्रदेशमा महाधिवेशन प्रतिनिधिहरूका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको हो । 

कांग्रेस केन्द्रीय कार्यालयका सचिव मुक्ति आचार्यले पहिलो चरणअन्तर्गत साउन ३१ देखि भदौ ६ सम्म तीनवटा प्रदेशमा महाधिवेशन प्रतिनिधिहरूका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिए । उनकाअनुसार साउन ३१ र ३२ गते कास्कीको पोखरामा गण्डकी प्रदेशस्तरीय, भदौ २ र ३ गते रुपन्देहीको भैरहवामा ५ नम्बर प्रदेशस्तरीय र भदौ ५ र ६ गते सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेशस्तरीय प्रशिक्षण सञ्चालन हुन लागेको हो ।

प्रशिक्षणका लागि कांग्रेसको सांगठनिक संरचना, विधान र विशेषता, राजनीतिक, आर्थिक प्रस्ताव दृष्टिकोण, नेपाल कम्युनिस्ट पार्टीको सरकारको मूल्यांकन तथा जनतासँग सम्पर्क र संवाद जस्ता विषयहरू राखिएका सचिव आचार्यले बताए । प्रशिक्षणको मूल लक्ष्य कांग्रेसका सदस्यहरूलाई जनतासँग कसरी आत्मीय सम्पर्क राख्ने भन्ने रहेको उनले बताए ।

सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित केन्द्रीय पदाधिकारी तथा सदस्यसमेत सहभागी रहने कांग्रेसले जनाएको छ ।


Views: 18