10th December | 2019 | Tuesday | 10:51:30 AM

मिडिया काउन्सिल विधेयक सहमतिमै अघि बढाउने प्रयास

हिमालय टाइम्स   POSTED ON : श्रावण २८, २०७६ (११:५५ AM)

मिडिया काउन्सिल विधेयक सहमतिमै अघि बढाउने प्रयास

काठमाडौं । राष्ट्रियसभामा दर्ता भएको नेपाल मिडिया काउन्सिल सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई संसद्मा टेबुल गर्ने विषयमा छलफल भएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पहलमा सोमबार विधेयकलाई सदनमा अगाडि बढाउने विषयमा सत्तापक्ष, प्रतिपक्षसँगै पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघबीच छलफल भएको हो । 

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भएको छलफलमा उपाध्यक्ष शशिकला दाहाल, सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, राष्ट्रियसभा दलका नेता दिनानाथ शर्मा, विपक्षी दलका नेता सुरेन्द्र पाण्डे, सत्तापक्षका प्रमुख सचेतक खिमलाल भट्टराई, विपक्षी दलका सचेतक सरिता प्रसाईं, समाजवादी पार्टीका नेता प्रमिला कुमारी, पत्रकार महासंघका प्रतिनिधिलगायत सहभागी थिए । 

अध्यक्ष तिमिल्सिनाको निजी सचिवालयले छिट्टै नै मिडिया काउन्सिलसम्बन्धी विधेयक सदनमा अगाडि बढाउन सबै पक्ष सहमत भएको जानकारी दिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सचेतक प्रसाईंले छलफल सकारात्मक भए पनि सहमति भइनसकेको प्रतिक्रिया दिइन् । 

उनले हिमालय टाइम्ससँग कुरा गर्दै मंगलबार फेरि छलफल गरेर विधेयकका विषयमा निर्णय गरिने बताइन् । ‘राष्ट्रियसभाका अध्यक्षज्यूको पहलमा हामी सत्तापक्ष, प्रतिपक्ष र पत्रकार महासंघबीच विधेयकका बारेमा छलफल भएको हो,’ उनले भनिन्, ‘छलफलमा सबै सहमतिकै पक्षमा देखिनुभएको छ । तर, भोलि (मंगलबार) फाइनल हुन्छ । सहमतिमै जाने कुरा भएको छ ।’

सरकारले मिडियालाई नियन्त्रण गर्ने ढंगबाट विधेयक ल्याउन लागेको भन्दै सुरुवातबाटै विरोधमा उत्रिएको पत्रकार महासंघका महासचिव रमेश विष्टले पनि फेरि छलफल गरेर टुंगोमा पुगिने बताए । ‘छलफलमा साथीहरू जानुभएको हो । उहाँहरूले मलाई सहमति भइनसकेको जानकारी दिनुभएको छ,’ उपत्यकाबाहिर रहेका महासचिव विष्टले भने, ‘फेरि छलफल गरेर विधेयकका बारेमा कसरी अगाडि बढ्ने भन्ने निर्णय गर्छौंं ।’


Views: 49