18th August | 2019 | Sunday | 3:33:54 AM

आर्थिक समृद्धिमा नेपाल ‘टप पोजिसन’मा : महासेठ

हिमालय टाइम्स   POSTED ON : श्रावण २८, २०७६ (८:१४ AM)

आर्थिक समृद्धिमा नेपाल ‘टप पोजिसन’मा : महासेठ

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आर्थिक समृद्धिमा विश्वका १७० देशलाई पछि पार्दै नेपाल टप पोजिसनमा आएको दाबी गरेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा मन्त्री महासेठले सरकार गठन भएको डेढ वर्षमात्र भए पनि निकै ठूलो उपलब्धि हासिल गरेको बताए ।

‘आज हामी अन्तर्राष्ट्रिय पत्रपत्रिका हेरौं, विकाशील देशहरूले यो डेढ वर्षभित्रमा जति राम्रो गरिरहेका छन्, त्यसको टप स्थानमा आज नेपाल पुगेको छ,’ उनले भने, ‘भर्खरभर्खर पाइला टेक्दै गरेको अवस्थामा धेरै राम्रो काम गरेका छौं ।’

सरकारले विकास र आर्थिक वृद्धिमा ठूलो फड्को मारेको दाबी गर्दै उनले आगामी साढे तीन वर्षभित्र नेपालले दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने बताए ।

मन्त्री महासेठले भौतिक पूर्वाधार लगायतका विकास निर्माणका क्षेत्रमा पनि रेकर्ड नै ब्रेक गर्नेगरी काम भएको सुनाए । उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनअनुसार नै मैले काम गरिरहेको छु । हामी १० वर्षभित्र १५ हजार किलोमिटर नयाँ सडक बनाउँछौं । त्यस्तै, २८ सय किलोमिटरको रेलमार्गले जोड्छौं ।’

उनले विद्युतीय रेलमार्ग निर्माणको काम पनि धमाधम भइरहेको बताए । उनले भने, ‘पूर्व–पश्चिम विद्युतीय रेलमार्गको काम हामी तीन वर्षभित्र सम्पन्न गरिसक्छौं । अहिले डिपिआर त सम्पन्न नै भइसकेको छ । हामीले रेलमार्गको निर्माणमा पनि फड्को मारेका छौं ।’

सडक निर्माणमा पनि धेरै राम्रो काम भइरहेको दाबी गर्दै उनले भने, ‘असार २४ गतेसम्मको डेटाको कुरा गर्नुहुन्छ भने हामीले ९१५ किलोमिटर बराबरको ६, ४ र २ लेनका नयाँ पिच सडकहरू बनाएका छौं, जबकि योभन्दा अघिका सरकारको पालामा एक वर्षमा १२५ किलोमिटरमात्रै हुन्थे ।’ एक वर्षमा २४३ वटा पुल निर्माण भइसकेको भन्दै उनले विकास निर्माणका कामलाई सरकारले प्राथमिकता दिएको बताए ।

उनले काठमाडौंलाई सुन्दर सहर बनाउनेगरी काम गरिरहेको बताए । कोटेश्वर, गौशाला, थापाथली लगायतमा ‘ओभरहेड ब्रिज’ बनाउन लागिएको जानकारी दिँदै उनले काठमाडौंमा स्मार्ट ट्राफिक लाइटहरू राख्ने बताए । यो आर्थिक वर्षको अन्तिमतिर काठमाडौंवासीले सुन्दर काठमाडौं उपहार पाउने उनको भनाइ थियो ।

मन्त्री महासेठले उनले आगामी दुई वर्षभित्र आफ्नै झण्डा र लोगो भएको पानीजहाज पनि सञ्चालनमा ल्याइने दाबी गरे । क्रस–बोर्डर रेलहरू पनि छिट्टै सञ्चालनमा ल्याइने उनले दाबी गरे ।

यातायात क्षेत्रमा पनि धेरै सुधारका काम भएको दाबी गर्दै उनले सिण्डिकेट पूर्णरूपमा अन्त्य भएको र अहिले संघ, संस्थाहरू कम्पनीमा आइसकेको बताए । उनले भने, ‘अहिले उहाँहरू करको दायरामा आउनुभएको छ । अब हामी यो क्षेत्रलाई सुधार गर्दै अघि बढाउँछौं ।’


Views: 25