18th August | 2019 | Sunday | 2:30:55 AM

‘मेरो स्वास्थ्य सामान्य छ’

हिमालय टाइम्स   POSTED ON : श्रावण २८, २०७६ (८:१७ AM)

‘मेरो स्वास्थ्य सामान्य छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षण गरी सोमबार अपराहृन स्वदेश फर्किएका छन् । साउन १८ गते सिंगापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षणका लागि गएका उनी ९ दिनपछि स्वदेश फर्किएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेल लगायतले स्वागत गरेका थिए ।

विमानस्थलमा पत्रकारहरूसँग बोल्न नचाहेका प्रधानमन्त्री ओलीले ट्वीटरबाट आफ्नो स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिएका छन् । उनले ट्वीट गर्दै भनेका छन्, ‘सिंगापुरमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्किएको छु, मेरो स्वास्थ्य सामान्य रहेको छ ।’ उनले आफ्नो स्वास्थ्य परीक्षणमा संलग्न सबै चिकित्सकप्रति आभार व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार साउन १९ गतेदेखि प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण सुरु भएको थियो । उनले एक हप्तासम्म अस्पतालमै रहेर स्वास्थ्योपचार गराएको बताइएको छ ।

गत शुक्रबार नै स्वदेश फर्कने भनिए पनि प्रधानमन्त्री ओली थप तीन दिन सिंगापुरमै रहे । स्वास्थ्य परीक्षणसम्बन्धी काम नसकिएका कारण उनको बसाइ लम्बिएको बताइए पनि ९ दिन लामो बसाइका क्रममा उनको सचिवालयले एकपटक पनि स्वास्थ्य परीक्षणसम्बन्धी जानकारी सार्वजनिक गरेको थिएन । प्रधानमन्त्री स्वदेश फर्किएपछि उनकै ट्वीटर तथा प्रधानमन्त्री ओलीकै निकट सहयोगीहरूले सामाजिक सञ्जालमार्फत व्यक्त गरेका सीमित सूचनाका आधारमा मात्र ‘स्वास्थ्य अवस्था सामान्य रहेको’ सन्देश प्रवाह भएको हो । प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी चिकित्सक डा. दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यलगायत नौ सदस्य सिंगापुर गएका थिए । 


Views: 33