18th August | 2019 | Sunday | 3:00:37 AM

त्रिभुवन विमानस्थललाई मन्त्रीको ८ बुँदे निर्देशन

हिमालय टाइम्स   POSTED ON : श्रावण २८, २०७६ (८:२५ AM)

त्रिभुवन विमानस्थललाई मन्त्रीको ८ बुँदे निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले ‘नेपाल भ्रमण वर्ष २०२०’ सफल बनाउने पूर्वतयारीस्वरूप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई ८ बुँदे निर्देशन दिएका छन् । 

उनले भ्रमण वर्ष अवधिमा रात्रिकालीन उडान तथा अवतरण गर्ने वायुसेवा कम्पनीलाई विमानस्थलमा लाग्ने नेभिगेसन सेवा शुल्क एवं नेपाल वायुसेवा निगमबाट प्रदान गरिने ग्राउन्ड हृयान्डलिङ सेवा शुल्कमा दिने सकिने सहुलियत रकम र यसबाट बढ्न सक्ने उडान संख्याको निक्र्योल गर्न निर्देशन दिएका छन् । उक्त विषयमा अध्ययन गरी ७ दिनभित्र मन्त्रालयमा जानकारी पेस गर्न भनिएको छ ।

त्यसैगरी, हवाई इन्धनमा लिइने मूल्य अन्य मुलुकको तुलनामा निकै महँगो भएको सन्दर्भमा विमानस्थलमा रहेको नेपाल आयाल निगमका डिपो प्रमुखलाई तालुक निकायमा सोबारे छलफल गर्न मन्त्री भट्टराईले निर्देशन दिएका छन् । सो विषयमा आफूले समेत आवश्यक पहल गर्ने उनले बताए । 

त्यस्तै, बाहिरी मुलुकमा पढ्न जाने विद्यार्थीहरूको सहुलियत र उनीहरूको आफू पढ्न जाने कलेज तथा विश्वविद्यालयमा भ्रमण वर्षको बारेमा जानकारी गराई पर्यटन प्रवद्र्धनमा सहयोग गर्न सक्ने अपेक्षा पनि मन्त्री भट्टराईले राखेका छन् । यसका लागि अध्यागमनमा छुट्टै डेडिकेटेड काउण्टर स्थापना गर्ने र बेलाबेला आयोजना हुने अन्तर्राष्ट्रियस्तरका सभा, सम्मेलन, बैठक छलफलहरूमा आउने विदेशी अतिथिहरूका लागि छुट्टै डेडिकेटेड काउण्टर स्थापना गर्न उनले निर्देशन दिएका छन् ।

मन्त्री भट्टराईले भ्रमण वर्षका शुभारम्भको पहिलो दिन बुटिक विमानस्थलको उद्घाटन गर्नका लागि आवश्यक कामहरू सक्न पनि निर्देशन दिएका छन् । विमानस्थलबाट प्रवाह गरिने अध्यागमन सेवालाई प्रभावकारी, चुस्त, दुरुस्त बनाउनका लागि भिसा शुल्क अनलाइनबाट तिर्ने व्यवस्था मिलाउने र अन्य आवश्यक सुधारहरूमा पनि ध्यान दिन मन्त्री भट्टराईले निर्देशन दिएका छन् ।

त्यस्तै, विमानस्थलबाट सञ्चालन हुने ट्याक्सी सेवालाई सरल, सहज र वैज्ञानिक बनाउन एवं रात्रिकालीन समयमा सञ्चालन हुने ट्याक्सी मा ट्र्याकिङ सिस्टमको व्यवस्था गरी सुरक्षालाई सुनिश्चित गर्न आवश्यक गृहकार्य गर्ने, विमानस्थलको सरसफाइ, सौन्दर्यीकरण, ट्रली सुविधा, ब्यागेजहरूको उचित व्यवस्थापन, छिटोछरितो यात्रु एवं ब्यागेजहरूको प्रोसेसिङमा गम्भीर भएर लाग्न पनि मन्त्री भट्टराईले निर्देशन दिएका छन् । 

त्यस्तै, विभिन्न कारणले हुनसक्ने उडानको ढिलाइ, कुनै आकस्मिक कारणले पर्नसक्ने असुविधाजस्ता विषयमा यात्रुहरूलाई छिटो जानकारी गराउनका लागि एप्स वा उपयुक्त माध्यमको विकास गरी शीघ्र सूचना सम्प्रेषणको व्यवस्था मिलाउन पनि उनले निर्देशन दिएका छन् । 


Views: 64