18th August | 2019 | Sunday | 2:39:13 AM

अनमोल हिरो, भुवन भिलेन

हिमालय टाइम्स   POSTED ON : श्रावण २८, २०७६ (८:४६ AM)

अनमोल हिरो, भुवन भिलेन

काठमाडौं । एक समयका चर्चित तथा लोकप्रिय अभिनेता भुवन केसी अहिलेको चलचित्रमा खासै देखिँदैनन् । अहिले पुस्ता हस्तान्तरण भइसकेको छ । अर्थात् भुवनका छोरा अनमोलको दिन आइसकेका छन् । अनमोल हिरो भएर अभिनय गरेका चलचित्रलाई दर्शकले रुचाउन थालेका छन् । हाललाई भुवन हिरो भएर देखिने चलचित्र दर्शक हेर्न छाडिसकेका छन् ।

यसैबीच अब भुवन केसी चलचित्रमा देखिनका लागि आफू भिलेन (खलनायक) भएर आउन लागेका छन् । यी बाबु–छोराले हालसम्म एकै चलचित्रमा सँगै काम गरेका छैनन् । अब अनमोल हिरो र भुवन भिलेन भएर एकै चलचित्रमार्फत देखिने भएका हुन् । यी दुईले सँगै अभिनय गर्ने चलचित्रको नाम ‘एन्टी हिरो’ राखिएको छ

तिहारपछि फ्लोरमा जाने तयारीमा रहेको यस चलचित्र गएको सोमबार विकास बोर्डमा दर्ता गरिएको छ । दि सुपर काजल फिल्मस्को ब्यानरमा निर्माण हुने यस चलचित्र भुवन केसीले निर्माण गर्नेछन् । एफडी कम्पनीले वितरण गर्नेछ । चलचित्रको शीर्ष भूमिका अर्थात् हिरोको भूमिका अनमोलले निर्वाह गर्नेछन् भने भुवनले नकारात्मक भिलेनको भूमिका निर्वाह गर्नेछन् । बाबु–छोरालाई एकसाथ स्क्रिनमा निकै गजब देखिने अनुमान गर्न सकिन्छ । भिलेनको लुक्सका लागि अभिनेता भुवनले केही महिनादेखि दाह्री काटेका छैनन् ।

निर्देशक र अभिनेत्रीको टुंगो लागेको छैन । सिने जगतमा ‘एन्टी हिरो’ प्रदीप भट्टराईले निर्देशन गर्ने चर्चा छ । छिट्टै अभिनेत्रीको पनि छनोट गरिने भुवनले बताएका छन् । यसअघि गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘क्याप्टेन’मा समावेश ‘कर्ली कर्ली कपाल बोलको आइटम गीतमा भुवन र अनमोल एकसाथ पर्दामा देखिएका थिए । दुवैले अभिनेत्री निरुता सिंहसँग नृत्य गरेका थिए । तर चलचित्रमा भुवन थिएनन् । 

पछिल्लो समय अनेमालले अभिनय गरेका सबैजसो चलचित्रले बक्स अफिसमा कमालको ब्यापार गरेका छन् । त्यसैले पनि अनमोलका लागि निर्माता जति पनि पारिश्रमिक दिन तयार हुन्छन् । उनले हालसम्म ५० लाख रूपैयाँ पारिश्रमिक लिइसकेका छन् । तर बुबा भुवनले अनमोलले कुनै पनि चलचित्रमा काम गर्नुअघि आफूले स्क्रिप्ट हेर्ने गर्छन् । 

अनमोलले कुनै चलचित्रमा काम गर्नुअघि बुबा–भुवनसँग सल्लाह लिन्छन् । चलचित्र बजारमा त अनमोलको चलचित्रसँग सम्पुर्ण काम भुवनले नै गरिदिने हल्ला चलेको पाइन्छ । पारिश्रमिक तोक्ने, चलचित्रको स्क्रिप्ट पढ्नेदेखि नायिका छान्नेसम्म भुवनकै हात रहेको हल्ला छ । भुवनले भने अनमोललाई नै सबै जिम्मा दिइने र सल्लाह आफूले दिने गरेको बताउँदै आएका छन् ।


Views: 44