6th December | 2019 | Friday | 6:48:10 AM

एसियन कृषि सम्मेलन, युवामुखी कृषि कार्यक्रममा जोड

हिमालय टाइम्स   POSTED ON : श्रावण २८, २०७६ (१२:३५ PM)

एसियन कृषि सम्मेलन, युवामुखी कृषि कार्यक्रममा जोड

काठमाडौं । काठमाडौंमा सोमबारदेखि एसियन कृषि सम्मेलन तथा पदर्शनी सुरु भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा फोर एच नेपालद्वारा आयोजित सम्मेलन तथा पदर्शनीको उद्घाटन गर्दै कृषि तथा पशु पक्षी विकास चक्रपाणि खनालले नेपालको कृषिले युवालाई आकर्षित गर्न सकेमा कृषि क्षेत्रले १० वर्षभित्र फड्को मार्ने बताए । 

१० वर्षअघि भुटान, बंगलादेश, श्रीलंका र भारतले कृषि क्षेत्रमा फड्को मारे पनि नेपाल भनेपछि परेको उनको गुनासो थियो । तथापी वर्तमान सरकारले नेपालको कृषि क्षेत्रमा युवा आकर्षणलाई उच्च प्राथमिकता दिएको उनले बताए । मन्त्री खनालले भने, ‘युवालाई कृषिमा आकर्षित गर्नुपर्छ । त्यसो भएमा युवाहरू विदेश जाने छैनन्, जानै परेपनि टुरिष्टका रूपमा घुम्न जानेछन् ।’ उनले युवालाई कृषिमा आकर्षित गर्नेमात्र नभई राज्यप्रति जिम्मेवारसमेत बनाउनुपर्ने उनले बताए । उनले कृषिमा युवा कार्यक्रमका लागि ५० करोड बजेट विनियोजन गरिएको जानकारी दिँदै कार्यक्रमलाई आगामी ५ वर्ष निरन्तरता दिइने बताए । यसवर्ष ५ हजार युवाबीच कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिए ।

उनले अर्गानिक उत्पादन जोड दिइने बताउँदै विषादी परीक्षणबाट सरकार पछि नहटेको दाबीसमेत गरे । उनले भने, ‘विषादी परीक्षणमा फिर्ता लियो भन्ने कुरामा सत्यता छैन, यो निरन्तर चलिरहेको छ । उपत्याकाबाहिर ६ वटा ल्याब रहेका छन्, जसले २ वटा समूहमात्र चेक गर्छ । काठमाडौंमा भएको ल्याबले सबै समूहको चेकजाँच गर्छ तर हरेक नाकामा हरेक ट्रक चेकजाँच भने सम्भव हुँदैन । 

सम्मेलनमा नेपाली कांग्रेसका नेता तथा पूर्वसिचाइमन्त्री एनपी साउदलगायतले सिँचाइ दक्ष, उन्नत जातको बीउ विजन, रासायनिक मल, दक्ष जनशक्ति परिचालनबाट कृषिमा क्रान्ति ल्याउन सकिने बताएका थिए । उनीहरूले नेपालमा उत्पादन गर्ने किसान नै भोको रहनुपर्ने बाध्यता अन्त्यका लागि किसानलाई विभिन्न राहत र सहुलियत दिएर उत्पादनसँग जोड्नुपर्ने बताए ।

आयोजक संस्थाका अध्यक्ष लोकराज अवस्थीले युवालाई कृषि क्षेत्रमा आकर्षण गर्न सम्बनिधत निकाय गम्भीर हुनुपर्ने बताए । युवा शक्तिलाई कृषिमा भविष्य छ भनेर देखाउन सके युवाहरू विदेशमा नजाने उनको भनाइ थियो । नेपालस्थित भारतीय दूतावासका डिसिएम डा. अजय कुमारले नेपालमा अर्गानिक उत्पादनका लागि भारत सरकारले सक्दो सहयोग गर्ने बताए । हाल विश्व बजारमै अर्गानिक उत्पादनको माग उच्च रहेको भन्दै नेपालले अर्गानिक उत्पादनबाट फाइदा लिनसक्नुपर्ने बताए । सम्मेलनमा नेपालका साथै भारत, चीन, इण्डोनेसिया, बेलायत, आयरल्याण्डलगायत मुलुकको सहभागिता रहेको आयोजकले जनाएको छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालय तथा भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश ३ को सहकार्यमा भएको कार्यक्रम मंगलबारसम्म सञ्चालन हुनेछ । कार्यक्रममा कृषिमा युवा सहभागिता, नेपाली कृषि उपजकोे बजारीकरण, जलवायु परिवर्तन तथा नेपाली खाना संस्कृतिलगायत विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्नेछन् । सम्मेलनमा हामी सक्छौं नामक कृषि गीति नाटक, सांस्कृतिक कार्यक्रम, कृषि योगा तथा मोटिभेसनल शत्रलगायत थप कार्यक्रम छन् । सम्मेलनले नेपाल कृषि घोषणापत्रसमेत जारी गर्ने आयोजकले जनाएको छ ।


Views: 771