15th September | 2019 | Sunday | 8:23:31 PM

नेकपा सचिवालय बैठकद्वारा केन्द्रीय विभागहरूको नेतृत्व चयन

हिमालय टाइम्स   POSTED ON : श्रावण ३२, २०७६ (१०:०९ AM)

नेकपा सचिवालय बैठकद्वारा केन्द्रीय विभागहरूको नेतृत्व चयन

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले लामो प्रयासपछि केन्द्रीय विभागहरूको नेतृत्व चयन गरेको छ । केही विभागको नेतृत्वमा आकांक्षीहरू बढेसँगै लामो समय सचिवालय बैठक अनिर्णित हुँदै आएको थियो भने पछिल्ला दिनमा तीन पटकसम्म मिति तोकेर पनि बैठक नै नबसी स्थगित भएको थियो ।

शुक्रबार बसेको बैठकले विभागहरूमा नेतृत्व चयन गरेको हो । ९ सदस्यीय सचिवालय बैठकले प्रदेश कमिटीमा सहइन्चार्जसमेत थप गरेको छ । आन्तरिक विवाद सल्टाउनकै लागि सचिवालय सदस्य बामदेव गौतमलाई उपाध्यक्षमा मनोनित गर्ने प्रस्तावसमेत गरिएको छ । उक्त प्रस्ताव अनुमोदनका लागि स्थायी कमिटीमा पेश गरिने जनाइएको छ ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकले सहमतिमै ३२ वटा विभागको नेतृत्व टुंगो लगाएको हो । ३२ मध्ये पूर्वएमालेले १८ र पूर्वमाओवादीले १४ विभागको नेतृत्व पाएको छ । वरिष्ठ नेता माधवकुमार नेपाललाई विदेश विभागको जिम्मेवारी दिइएको छ भने अर्का नेता झलनाथ खनाललाई नीति अनुसन्धान प्रतिष्ठानको संयोजक बनाइएको छ ।

वरिष्ठ नेता नेपाल पक्षले जिम्मेवारी प्रदान गर्दा ‘एक व्यक्ति एक पद’ हुनुपर्ने अडान राख्दै आए पनि विभागका प्रमुखहरूको जिम्मेवारी दिँदा यसअघि विभिन्न जिम्मेवारीमा रहेका नेताहरूले समेत अवसर पाएका छन् । केही मन्त्रीहरूले पार्टीको विभागीय प्रमुखको जिम्मेवारी पाएका हुन् । 

यस्तै संगठन विभाग प्रमुखमा बामदेव गौतम, अर्थ तथा योजना विभागमा सुरेन्द्र पाण्डे, उद्योग तथा वाणिज्य विभागमा राधा ज्ञवालीलाई नेतृत्वको जिम्मेवारी दिइएको छ । लामो समयदेखि आकांक्षीहरूबीच होडबाजीको विषय बन्दै आएको स्कुल विभागको नेतृत्व सचिवालय सदस्य ईश्वर पोखरेललाई दिइएको छ । रक्षा मन्त्रीसमेत रहेका उनी पार्टीका सचिवालय सदस्यको जिम्मेवारीमा समेत छन् । सो विभागका लागि प्रवक्ता श्रेष्ठका साथै नेताहरू घनश्याम भुसाल, बेदुराम भुसाल, राम कार्कीलगायत आकांक्षी थिए । यस्तै, उपभोक्ता हित तथा आपूर्ति विभाग प्रमुखमा मातृका यादव, कृषि तथा भूमिसुधार विभागमा चक्रपाणि खनाल, कोष तथा आर्थिक व्यवस्थापन विभागमा हरिबोल गजुरेल, खानेपानी तथा सरसफाइ विभागमा विना मगर तोकिएका छन् । यीमध्ये यादव, खनाल र मगरले दोहोरो जिम्मेवारी पाएका हुन् । उनीहरू सरकारमा समेत सहभागी छन् ।

सरकारमा रहेर पार्टीको केन्द्रीय विभागको नेतृत्व सम्हाल्न पाउने भाग्यमानीहरूमा वर्षमान पुन, प्रदीप ज्ञवाली, योगेश भट्टराई, रघुवीर महासेठ पनि छन् । मन्त्री पुनलाई जलस्रोत, सिँचाइ तथा ऊर्जा विभागको जिम्मेवारी दिइएको छ भने परराष्ट्र मन्त्री ज्ञवालीलाई निर्वाचन विभाग, पर्यटन मन्त्री भट्टराईलाई पर्यटन प्रवद्र्धन तथा नागरिक उड्डयन विभाग र भौतिक पूर्वाधार तथा यातायात मन्त्री महासेठलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागको नेतृत्व दिइएको छ ।

त्यसैगरी, न्याय, कानुन तथा मानवअधिकार विभागमा रघुजी पन्त, प्रचार तथा प्रकाशन विभागमा नारायणकाजी श्रेष्ठ, प्रादेशिक मामला विभागमा घनश्याम भुसाल, पुस्तकालय तथा अभिलेख विभागमा नारायणप्रसाद शर्मालाई नेतृत्वको जिम्मेवारी दिइएको छ । यस्तै, युवा तथा खेलकुद विभाग प्रमुखमा टोपबहादुर रायमाझी, राजकीय मामला तथा सुशासन विभागमा रामबहादुर थापा, वन तथा वातावरण विभागमा शक्ति बस्नेत, विज्ञान तथा प्रविधि विभागमा गणेश शाह, शिक्षा तथा मानव स्रोत विभागमा गिरिराजमणि पोखरेल, श्रम तथा रोजगार विभागमा गोकर्ण विष्टलाई नेतृत्व दिइएको छ । यीमध्ये थापा, बस्नेत, पोखरेल र विष्टले पार्टी र सरकारमा गरी दोहोरो भूमिका पाएका हुन् ।

संसदीय दलका उपनेता सुवास नेम्वाङलाई संघीय संसदीय विभाग प्रमुख बनाइएको छ । समाज कल्याण विभाग प्रमुखमा केशवलाल श्रेष्ठ, सहकारी तथा गरिबी निवारण विभागमा विष्णु रिमाल, सहरी विकास विभागमा लेखराज भट्ट, सामान्य प्रशासन विभागमा लालबाबु पण्डित, साहित्य, कला तथा संस्कृति विभागमा मणि थापा, स्थानीय तह विभागमा युवराज ज्ञवाली र स्वास्थ्य तथा जनसंख्या विभागमा राजेन्द्र पाण्डेलाई नेतृत्वको जिम्मेवारी दिइएको छ । यीमध्ये पण्डितले सरकारमा समेत जिम्मेवारी सम्हाल्दै आएका छन् । यी सबै विभागमा उपप्रमुखसमेत चयन गरिएको छ । बैठकले सातवटै प्रदेशमा थप दुई–दुईजना सहइन्चार्ज नियुक्त गरेको छ । यसअघि नै सबै प्रदेशमा इन्चार्ज र एक सहइन्चार्ज चयन भइसकेका थिए । शुक्रबार थप भएसँगै अब प्रत्येक प्रदेशमा तीनजना सहइन्चार्ज भएका छन् ।


Views: 83