19th October | 2019 | Saturday | 8:33:37 PM

सभामुखमाथिको कलंक

गोविन्द लुइँटेल   POSTED ON : आश्विन १५, २०७६ (११:१५ AM)

सभामुखमाथिको कलंक

संसद् सचिवालयका एक कर्मचारीले यौन दुर्व्यबहार-बलात्कारको आरोप लगाएपछि सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा गरेका छन् । उनले राजीनामापत्रमा आफ्नो ‘चरित्रमा गम्भीर प्रश्न’ उठेको भनेका छन् तर त्यसका लागि सञ्चारमाध्यमलाई देखाएका छन् । सञ्चारमाध्यमले आरोप लगाएको भनेका छन् । आफ्नै कार्यालयकी महिलाले आरोप लगाएको कुरा उनले ओझेलमा पारेका छन् । 

पार्टीले सुझाव÷दबाब दिएर होस् वा आफ्नै नैतिकताको विवेकले, महराले ‘आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानविनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा राजीनामा’ दिएका छन् । उनले ‘छानविन प्रक्रिया नसकिँदासम्मका लागि’ राजीनामा दिएको भनेर आफू निर्दोष रहेकोले पदमा यथावत फर्किने आशा प्रकट गरेको संकेत दिएका छन् । 

महराले बुझ्नुपर्ने हो; राजीनामामा कुनै शर्त हुँदैन । सभामुखले सशर्त राजीनामा गर्ने व्यवस्था संविधान र प्रतिनिधिसभा नियमावली कतै पनि छैन । आफूले आफैँलाई निलम्बन गर्नेगरी आवधिक राजीनामा गर्ने व्यवस्था छैन । उनले भनेझैँ साँच्चै सत्यतथ्य पत्ता लगाउन ‘निष्पक्ष र स्वतन्त्र छानविन’ भयो र उनी सबै निकायबाट निर्दोष सावित भए भने उनीप्रति सहानुभूति जाग्ने नै छ । उनको प्राथमिक कर्तव्य सबै पदबाट राजीनामा दिएर उनले भनेझैँ निष्पक्ष र स्वतन्त्र छानविन गर्न सघाउनु नै हो । यससँगै उनको निजी सचिवालयले आरोपको खण्डन गर्न सोमबार अबेर जारी गरेको विज्ञप्तिमा दाबी÷जिकिर गरेझैँ आफूलाई निर्दोष सावित गर्ने अवसर पनि उनलाई छ । 

कुनै उपायद्वारा घटना सामसुम पारियो वा कुनै कारण देखाएर आरोपी महिला नै पछि हट्छिन् भने पनि महरा आजीवन कलंकित हुनेछन्≤ कहिल्यै सफाइ पाउने छैनन् । त्यसैले निष्पक्ष र स्वतन्त्र छानविनका सम्पूर्णरूपले सघाउनु महराको कर्तव्य हुनेछ । जसले उनलाई निर्दोष सावित गरोस् । म चाहन्छु सभामुख महराको सचिवालयले जारी गरेको विज्ञप्ति साँचो ठहरियोस् । 

महराको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको आकस्मिक बैठकले सांसद पदबाट समेत राजीनामा गर्न सुझाव दिएको कुरा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सार्वजनिक गरेका छन् । यसविपरीत महराले आफूले आफूलाई निलम्बन गरेको शैलीमा आवधिक राजीनामा दिएका छन् । महरा जान्दछन् भने राजीनामा सच्याऊन् र सांसद पदबाट समेत बाहिरयून् । 

यहाँ भन्नै पर्छ, महरामाथि लागेको आरोपमा गणतन्त्रमाथि खतरा र प्रतिगमनको षड्यन्त्र देख्नु मूर्खताबाहेक केही हुनेछैन । उनीमाथिको आरोप व्यक्तिगत विषय हो । कुनै उच्च पदस्थ व्यक्ति विशेषलाई यौन दुव्र्यवहार÷बलात्कारको आरोप लगाएर व्यवस्था बद्नाम गर्ने वा उल्ट्याउने नै षड्यन्त्र कसैले गरेको छ भने झन् महामुख्र्याइँ हुनेछ । उच्च पदस्थहरूले आफूलाई व्यवस्थाको पर्याय नसोचून् वा यसभित्रबाट आफूलाई निर्दोष सावित गर्ने दुष्प्रयास नगरून् । नखाएको विष लाग्दैन भने हाम्रा पुर्खाले त्यसै भनेका छैनन् । 

नेकपाको कुरा गरौँ । नेकपाले कुनै पनि किसिमले बचाउको प्रयत्न नगरी महरालाई राजीनामाको सुझाव दिएको हो । यो निर्णयलाई सकारात्मक मान्नुपर्छ । र, महराले यही भावनाअनुसार आफ्नो राजीनामा सच्याउनुपर्छ ।

महराले किन ‘छानविन नसकिँदासम्म’ भनेर निलम्बनमा रहने गरी राजीनामा गरे ? राजीनामापछि आमरूपमा आएको एउटा जबर्जस्त टिप्पणी के छ भने यो नेकपाकै योजनाबमोजिम हुनसक्छ । राजीनामा सशर्त र आवधिक भएपछि सभामुख पद रिक्त नरहेको अर्थ लगाउन पनि सकिने भयो । यस्तो अर्थ भएपछि सभामुख र उपसभामुख एउटै दलबाट नहुने संवैधानिक व्यवस्था कार्यान्वयन नगरी अल्झाएर राख्न सकिने भयो । साँच्चै यस्तो मनशाय हो भने सत्तापक्षले नै संविधानको अपमान गरेको ठहरिने छ । 

म अपेक्षा गर्छु सत्तारूढ दल नेकपा यति तलसम्म झर्ने छैन । 

संविधानमा सभामुख र उपसभामुखले लिखित राजीनामा दिएमा पद रिक्त हुने व्यवस्था छ । प्रतिनिधिसभा नियमावलीले यो व्यवस्था थप प्रष्ट पारेको छ । सभामुखले राजीनामा उपसभामुखलाई दिने र बैठकको अध्यक्षता गर्ने व्यक्तिले त्यो राजीनामा बैठकमा पढेर सुनाउने व्यवस्था छ । बैठक चालु नरहेको अवस्थामा सूचनापत्रमा प्रकाशन गर्नुपर्छ । यसबाहेक सभामुख र उपसभामुखको सन्दर्भमा राजीनामा स्वीकृतिको थप कुनै व्यवस्था छैन । राजीनामा आउनु नै स्वीकृति हो । न राजीनामा महराले लेखेजस्तो सशर्त नै हुन्छ ।

मंगलबार राति अबेरसम्म संसद् सचिवालयको वेब साइटमा महरा नै सभामुख छन् । 

आरोपी महिलाको बारेमा पनि थोरै सोचौँ । उनले घटना साँचो भएर नै सार्वजनिक गरिन् भन्ने मानौँ । झुठो सावित नहुन्जेल साँचो र झुठो दुवैलाई आधाआधामा राखेर छानविन र अनुसन्धान हुनेछ । यतिन्जेल आरोपी महिलालाई पूर्ण–सुरक्षा दिने अनि उनलाई निर्धक्क र निडर भएर बयान दिने वातावरण बनाउने दायित्व सरकारको हो । महरा आफैँले मागेको ‘निष्पक्ष र स्वतन्त्र छानविन’ नहुँदै मंगलबार राति अबेरसम्ममा घटनाले अर्को मोड लिएको छ । महिलाले नागरिक खबर डटकमसँग कुरा गर्दै आफ्नै आरोप खण्डन गरेको भन्ने विवरण आएको छ । 

मानौँ आरोपी महिलाले झुठो आरोप लगाएकी थिइन् । यसो हो भने सभामुखकै कार्यालयकी कर्मचारी ती महिलाले किन त्यति गम्भीर आरोप लगाइन् ? के उनले सोमबार सञ्चारमाध्यमलाई दिएका बयानको विवरण फगत सनकीको परिणाम थियो । उनले तीन वर्षअघि नै आफूले उजुरी गरेको भनेर एक नेतृको नाम लिएकी छन् । यसरी जोडिन आएकी ती नेतृ केही थाहा नपाएजस्तो गरेर बस्न मिल्छ ? उनको कुनै उत्तरदायित्व हुँदैन ? उजुरी दिएको थियो भने त्यसमाथि के कारबाही भएको थियो ? 

हाम्रा कुरा डटकममा ती महिलासँग गरिएको भनिएको कुराकानीका क्रममा उनको सेल फोनमा आएको फोन र त्यसमा देखिएको फोन नम्बर कसको हो ? राज्यको त्यति उच्च पदस्थ पदाधिकारीमाथि लागेको यति गम्भीर आरोपमा राज्यसंयन्त्र र सरकारले कुनै उजुरीको बहानमा आलटाल गर्ने विषय होइन । यो फगत बहानावाजी हो । 

एक पटक सोचौँ त, एउटा सामान्य नागरिकमाथि यति गम्भीर आरोप लागेर प्रहरी कोठैमा पुगेको भए के हुने थियो ? 

कतै हाम्रा पुर्खाले ‘सानालाई ऐन ठूलालाई चैन’ ठिकै भनेका रहेछन् कि !

म चाहन्छु, महरामाथिको आरोप झुटो होस् । महरा ती महिलाकोमा गएर मदिरा पिएर दुव्र्यवहार गरेका नहुन् तर म र मजस्ताका चाहनाले मात्रै त हुने होइन । महरा गएका थिए भनेर शंकाको नजर गर्ने हो, ती महिलाको भनाइ ठिक हो भनेर मान्ने हो भने एक्लै गएका थिए कि उनका सुरक्षाकर्मी पनि थिए ? यो पक्ष छानविनको एउटा मुख्य कडी हुनसक्छ । 

Views: 188