19th October | 2019 | Saturday | 8:04:37 PM

सभामुख पद रिक्त

हिमालय टाइम्स   POSTED ON : आश्विन १६, २०७६ (९:५८ AM)

सभामुख पद रिक्त

काठमाडौं । यौन दुव्र्यवहारको आरोप लागेपछि राजीनामा दिएका प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा बुधबार औपचारिक रूपमा पदमुक्त भएका छन् । उनले मंगलबार राजीनामा दिए पनि संसद् सचिवालयले बुधबारमात्र राजीनामाबारे जानकारी दिँदै सूचना प्रकाशित गरेको हो । यससँगै सभामुख पद रिक्त भएको छ । 

संसद् सचिवालयका सचिव भरतराज गौतमले जारी गरेको सूचनामा उपसभामुख शिवमाया तुम्बाहाम्फेको आदेशअनुसार प्रतिनिधिसभाको नियमावली, २०७५ को नियम २११ को उपनियम (२) बमोजिम सूचना प्रकाशन गरेको जनाइएको छ । नियमावलीको नियम २११ मा सभामुखले उपसभामुखलाई सम्बोधन गरी आफ्नो पदबाट राजीनामा दिन सक्ने व्यवस्था छ भने सोही नियमको उपनियम (२) मा सभामुखले दिएको राजीनामा प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्ने व्यक्तिले बैठकमा पढेर सुनाउनुपर्ने र बैठक चालु नरहेको अवस्थामा सूचनापत्रमा प्रकाशन गर्ने व्यवस्था छ ।

संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोपपछि सभामुख महराले राजीनामा दिएका हुन् । उनलाई सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राजीनामा गर्न सुझाव दिएको थियो । मंगलबार बसेको नेकपा सचिवालय बैठकले सुझाव दिएलगत्तै महराले राजीनामा दिएका थिए ।

महराको राजीनामा पत्रमा प्रयोग गरिएको भाषालाई लिएर विभिन्न टीकाटिप्पणी भएको थियो । उनले आफूमाथि लागेको आरोपको ‘छानविन प्रक्रिया नसकिँदासम्मका लागि’ भन्दै घुमाउरो भाषामा आफू फेरि सो पदमा आउन सक्ने सम्भावना औंल्याउने प्रयत्न गरेका थिए । संसद् सचिवालयले जारी गरेको सूचनामा भने ‘सम्माननीय सभामुख श्री कृष्णबहादुर महराले मिति २०७६ साल असोज १४ गते हिजोदेखि विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, तिष्पक्ष र स्वतन्त्र छानविनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजकै मितिदेखि राजीनामा दिएको छु भनी प्रतिनिधिसभाको सभामुख पदबाट राजीनामा दिनुभएकोले माननीय उपसभामुखज्यूको आदेशानुसार’ सूचना प्रकाशित गरिएको उल्लेख गरिएको छ । 

महराले भाषा सच्याएर अर्को राजीनामा बुझाएका थिए । उनको सांसद पद भने कायम छ । संसद सचिवालयले आफ्नो वेबसाइटबाट सभामुखको नाम र फोटो हटाएको छ । 

संविधानको धारा ९१ उपधारा ६ को (ख) मा सभामुखले लिखित राजीनामा दिए पदमुक्त हुने व्यवस्था छ । सभामुखले राजीनामा दिएपछि रिक्त पद कहिलेसम्ममा पदपूर्ति गर्नुपर्ने हो भन्ने प्रष्ट छैन । संविधानले नयाँ संसद् गठन भएको अवस्थामा बैठक बसेको १५ दिनभित्र सभामुख चयन गर्नुपर्ने तोके पनि सभामुखले राजीनामा दिएको अवस्थामा अर्को सभामुख कहिलेसम्म चयन गर्नुपर्ने हो भन्ने खुलाएको छैन ।

संसद् बैठक आरम्भ भएपछि सभामुख चयनसम्बन्धी प्रक्रिया अघि बढाइने संसद् सचिवालय स्रोतले जनाएको छ । उपसभामुख महिला भएका कारण सभामुखमा पुरुषले मात्र दाबी गर्न पाउनेछन् । संविधानले सभामुख र उपसभामुख फरक लिंगको हुनुपर्ने व्यवस्था छ ।

यथास्थितिमा सत्तारूढ दल नेकपाले सभामुख पदमा दाबी गर्न पाउने छैन । संविधानले सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने व्यवस्था गरेको छ । यसअघि, सभामुख र उपसभामुख चयन हुँदा महरा र तुम्बाहाम्फे अलग अलग दलमा थिए । तत्कालीन एमाले र माओवादीबीच एकता भई नेकपा गठन भइसकेको अवस्थामा भने सो पार्टीले दाबी गर्न नमिल्ने भएको हो । नेकपाले सभामुख पदमा दाबी गर्न उपसभामुखले समेत राजीनामा दिनुपर्ने हुन्छ । अन्यथा सभामुख पदमा अर्को दलबाट दाबी गर्नेछ । नेकपाले उपसभामुखलाई राजीनामा दिन लगाएर सभामुख पदमा दाबी गरेमा भने उपसभामुख पद अर्को दलले पाउनेछ ।

सभामुखमा नेकपाकै दाबी

काठमाडौं । प्रतिनिधिसभाको सभामुख पद भएसँगै नयाँ सभामुखबारे दाबी र  चर्चा सुरु भएको छ । 

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै शिवमाया तुम्बाहाङ्फे उपसभामुख रहेकाले यही अवस्थामा नेकपाले सभामुख पाउने सम्भावना नरहेको संविधानविद् बताउँछन् । तत्कालीन माओवादी केन्द्रबाट सभामुखमा महरा र तत्कालीन एमालेबाट उपसभामुखमा तुम्बाहाङ्फे निर्वाचित भएका थिए । अहिले दुई पाटीए एकीकृत भइसकेका छन् । एकै पार्टीबाट सभामुख र उपसभामुख हुन नपाउने संवैधानिक व्यवस्था छ । 

पार्टी एकता भइसकेको अवस्थामा महरा र तुम्बाहाङ्फे एकै दलका भएको भन्दै दुईमध्ये एक पदमा अर्को दलको प्रतिनिधित्व माग गर्दैसर्वोच्च अदालतमा रिट विचाराधीन छ । विपक्षी दल नेपाली कांग्रेसले सभामुख र उपसभामुख एउटै दलको भएको भन्दै आपत्ति जनाउँदै आएको छ ।

रिक्त सभामुख पदमा नेकपाले दाबी गर्न संविधानतः नमिल्ने विज्ञहरू बताउँछन् । नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङ भने उपसभामुख नेकपाकै भए पनि पार्टीले सभामुख पाउने सम्भावना नसकिएको बताउँछन् । उपसभामुख नेकपाकै रहेको अवस्थामा पनि सभामुखमा आफ्नो पार्टीको दाबी स्वाभाविक हुने उनको भनाइ छ ।

सभामुखका विषयमा के गर्ने भन्ने निर्णय गर्ने अधिकार पार्टीलाई भएको भन्दै  नेम्वाङले सभामुखका लागि दाबी गर्न संविधानअनुसार कुनै रोकटोक नभएको तर्क गरे । ‘संविधानबमोजिम निर्वाचन हुँदा दुई फरक–फरक पार्टी हुनुपर्छ भन्ने छ । निर्वाचनमा एमाले र माओवादी एकता भइएको थिएन । यो (सभामुख र उपसभामुख एउटै पार्टीको भन्ने) विषयमा सर्वोच्चमा मुद्दा पनि छ,’ उनले भने, ‘म यस्तै हुनुपर्छ । यस्तै हुन्छ, भनेर भन्दिनँ तर यति भन्छु संविधानबमोजिम निर्वाचन हुँदा फरक–फरक सभामुख र उपसभामुख हुनुपर्छ भन्ने कुरामा विवाद नै छैन ।’

आफूहरू संविधान, कानुनी अभ्यास र सर्वोच्च अदालतको निर्णयअनुसार अगाडि बढ्ने उनले बताए । ‘संसद्मा नेकपाले चाहँदा सभामुख पदमा नेकपाले दाबी गर्न सक्छ । कुनै अप्ठ्यारो छैन । त्यसलाई मिलाउन सक्ने ठाउँ छ । तर, सबैलाई मिलाएर अगाडि बढ्छौँ । सबैलाई साथ लिएर, सल्लाह गरेर अगाडि बढ्छौँ,’ उनले भने । 

नेपाली कांग्रेसले पनि सभामुखमा दाबी गर्ने भएको छ । यसअघि, सभामुखका लागि कांग्रेसले दाबी नगरे पनि अहिले अवस्था फेरिएको छ । कांग्रेसले एउटै पार्टीको सभामुख र उपसभामुख स्वीकार्य नहुने भन्दै सभामुखमा दाबी गर्ने तयारी गरेको हो । 

सभामुखका लागि जुनसुकै पार्टीले दाबी गरे पनि नयाँ सभामुख पाउन हिउँदे अधिवेशनसम्म कुर्नुपर्ने अवस्था आएको छ । 

संविधानको धारा ९१ अनुसार, सभामुखको अनुपस्थितिमा उपसभामुखले सबै कार्यभार सम्हाल्ने व्यवस्था छ । संसद् चलेको अवस्थामा मात्र सभामुखको चयन हुने संवैधानिक प्रावधान छ । यस्तो अवस्थामा हिउँदे अधिवेशन नभएसम्म उपसभामुख तुम्बाहाम्फेले नै सभामुखको हैसियतमा जिम्मेवारी लिनेछिन् ।

सत्तारूढ नेकपाले यथास्थितिमा सभामुख पदमा दाबी गर्न नपाए सभामुख उपसभामुखलाई राजीनामा गर्न लगाएर सभामुख पद हासिल गर्ने सम्भावना औंल्याउन थालिएको छ । यद्यपि, सभामुख नरहेको अवस्थामा उपसभामुखले कसलाई राजीनामा दिने भन्ने संवैधानिक प्रश्न खडा भएको छ । 

पूर्वसभामुखसमेत रहेका नेम्वाङले उपसभामुखले राजीनामा दिने विषयमा कुनै द्विविधा नराख्न आग्रह गरे । उपसभामुखले राजीनामा दिनैपर्ने अवस्था सिर्जना भएमा त्यसका लागि पनि कानुनमै व्यवस्था रहेको उनले बताए । 

‘उपसभामुखले राजीनामा दिने ठाउँ नभएको होइन । उपसभामुखले राजीनामा दिने प्रष्ट ठाउँ छ । त्यस्ता कुराहरू सबैलाई दिमागमा राखेर हामीले नियम पनि बनाएका छौँ,’ उनले भने, ‘उदाहरणका लागि नियममा सभामुखले उपसभामुखसमक्ष दिने र उपसभामुखले सूचना पार्टीमा टाँस्ने व्यवस्था छ । त्यही निमयमा उपसभामुख वा सदस्यले राजीनामा दिन चाहेको अवस्थामा र सभामुख पद रिक्त रहेको अवस्थामा सभामुखलाई सम्बोधन गरी राजीनामा दिन पाउने भनेर लेखेको छ ।’ 

सभामुख पद रिक्त रहेको अवस्थामा संसद्मा ज्येष्ठ सदस्यले अध्यक्षता गरेर उपसभामुखको राजीनामा वाचन गरेर सदनमा सुनाउनासाथ उपसभामुखको पद स्वतः रिक्त हुने उनले बताए ।

Views: 70