19th October | 2019 | Saturday | 8:14:03 PM

डेरा खोज्दै महरा : सरकारी गाडी र सुरक्षाकर्मी फिर्ता

हिमालय टाइम्स   POSTED ON : आश्विन १७, २०७६ (९:२८ AM)

डेरा खोज्दै महरा : सरकारी गाडी र सुरक्षाकर्मी फिर्ता

काठमाडौं । यौन दुव्र्यवहारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराले सुरक्षाकर्मी र सरकारी गाडी फिर्ता गरेका छन् । महराका प्रेस सल्लाहकार डिल्ली मल्लका अनुसार महराले दुईजना सुरक्षाकर्मी आफूसँग राख्दै नेपाली सेनाका १७ र नेपाल प्रहरीका ९ जना सुरक्षाकर्मी फिर्ता गरेका हुन् । महराले संसद् सचिवालयमा गाडीसमेत फिर्ता पठाएको मल्लले जनाए ।

सभामुख रहँदा महराले बा२झ १२६८ नम्बरको गाडी चढ्दै आएका थिए । त्यसैगरी उनको सुरक्षाका लागि क्याप्टेनको नेतृत्वमा १७ सैनिक र प्रहरी निरीक्षकको नेतृत्वमा ११ जना प्रहरी सुरक्षामा खटिएका थिए । महराले अन्य सरकारी सुविधा छाडे पनि सरकारी निवास छोडेका छैनन् । उनी सभामुखकै सरकारी निवासमा बस्दै आएका छन् । महराका लागि डेरा खोज्न थालिएको र फेला नपरुन्जेल सरकारी निवासमै रहने सल्लाहकार मल्लले बताए ।

‘निवास खाली गर्ने तयारी भए पनि डेरा नपाएकाले तत्काल सम्भव भएको छैन’, मल्लले भने ‘डेरा पाउनासाथ सरकारी निवास खाली हुन्छ ।’ जबर्जस्ती करणीको आरोप लागेपछि महराले मंगलबार पदबाट राजीनामा दिएका थिए ।

वास्तविकता पुष्टि गर्न अपिल

यसैबीच महिला तथा मानव अधिकारका क्षेत्रमा क्रियाशील विभिन्न सामाजिक संघसंस्थाले महरामाथि लगाइएका आरोप र त्यसपछिका घटनाको अनुसन्धान गर्न अपिल गरेका छन् । विभिन्न १७ वटा संस्थाले बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय महिला आयोगलाई घटनाको सत्यतथ्य अध्ययन गरी बास्तविकता पुष्टिका लागि अपिल गरेका हुन् ।

संयुक्त विज्ञप्ति जारी गर्ने संस्थाहरुमा महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल, महिला पुनस्र्थापना केन्द्र (ओरेक), तान नेपाल (लुम), साथी, द स्टोरी किचेन, वातावरणीय कृषि तथा विकास केन्द्र (केड), शक्ति समूह, महिलाका निम्ति महिला मञ्च नेपाल, नेपाल महिला एकता समाज नेपाल, तरंगनी महिला अधिकार प्रशिक्षण केन्द्र, महिला तथा बालबालिका बेचबिखनविरुद्ध सहकर्मी समूह नेपाल (एटविन), पौरखी नेपाल, नेपाल अपांग महिला संघ, नील हिरा समाज, दिगो सामाजिक विकासका लागि मित्रता, जागृति महिला महासंघ, हिमराईट्स र सिविन नेपाल छन् ।


Views: 63