19th October | 2019 | Saturday | 9:43:55 PM

सभामुख चयनबारे नेकपाको दोहोरो रणनीति

हिमालय टाइम्स   POSTED ON : आश्विन १७, २०७६ (९:३९ AM)

सभामुख चयनबारे नेकपाको दोहोरो रणनीति

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सभामुख पद अन्य दललाई नदिने रणनीति बनाएको छ । यौन दुव्र्यवहारको आरोप लागेपछि निवर्तमान सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि रिक्त रहेको पदमा नेकपाले आफ्नै पार्टीबाट उम्मेदवार खडा गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।

कानुनविद् एवं संविधानका ज्ञाता भने नेकपाले सभामुखमा दाबी गर्न नमिल्ने तर्क गर्छन् । संविधानविद् तथा अधिवक्त भीमार्जुन आचार्यले यथास्थितिमा नेकपाले सभामुखमा दाबी गर्न नमिल्ने बताए । संविधानमा एउटै पार्टी र एउटै लिंगको सभामुख र उपसभामुख हुन नपाउने व्यवस्था रहेको प्रष्ट पार्दै उनले उपसभामुख पनि नेकपाकै रहेका कारण सभामुखमा नेकपाले दाबी गर्नै नमिल्ने तर्क गरे । ‘नेकपाले सभामुखमा दाबी गर्नसक्ने आधार तबमात्र तय हुन्छ जब उपसभामुखको राजीनामा आउँछ,’ उनले भने, ‘अहिलेको अवस्थामा नेकपाले सभामुखमा दाबी गर्नसक्ने संवैधानिक आधार छैन’, उनले भने ।

पूर्वसभामुखसमेत रहेका नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले भने सभामुखमा दाबी गर्न नेकपालाई केहीले नरोक्ने अभिव्यक्ति दिएका थिए । उपसभामुखले नेकपा एमालेबाट उम्मेदवारी दिएको र अब सभामुखमा नेकपाका तर्फबाट उम्मेदवार हुने भन्दै नेम्वाङले एउटै दलको उम्मेदवार भन्न नमिल्ने बताएका थिए ।

अधिवक्ता आचार्य नेम्वाङको भनाइसँग सहमत हुन नसकिने बताउँछन् । ‘केही कुरामा शंका छ भने संविधान पल्टाएर हेरे हुन्छ,’ उनले भने, ‘उहाँ (सुवासचन्द्र नेम्वाङ) ले भनेजस्तो चुनाव लड्दा फरक दलको भए हुन्छ भन्ने तर्कमा कुनै तुक छैन । हिजो हामी फरक दल थियौं भन्न सक्ने अवस्था छैन ।’

महरा तत्कालीन नेकपा माओवादी केन्द्रबाट र उपसभामुख शिवमाया तुम्बाहाङफेले तत्कालीन नेकपा एमालेबाट उम्मेदवारी दिएका थिए । एमाले र माओवादी मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भइसकेको अवस्थामा उपसभामुखलाई अब नेकपाको भनेर व्याख्या गर्न नमिल्ने भन्दै नेकपाले सभामुखमा उम्मेदवार खडा गर्ने रणनीति बनाएको हो । संविधानमा सभामुख र उपसभामुख फरक दल र फरक लिंगको हुनुपर्ने व्यवस्था छ ।

महरा र तुम्बाहाङफेलाई उम्मेदवार बनाएका दलहरूबीच एकता भई एउटै पार्टी बनिसकेको अवस्थामा दुईमध्ये एकजनाले संविधानको मर्मअनुसार पद छाड्नुपर्ने तर्क विपक्षी दल नेपाली कांग्रेसले गर्दै आएको थियो । सत्तारुढ दलले भने दुवैको उम्मेदवारी दर्ता हुँदा अलग दलमा आबद्ध रहेको जिकिर गर्दै राजीनामा दिन नपर्ने अडान राख्दै आएको थियो । यो विषयमा उत्पन्न विवाद सर्वोच्च अदालतमा विचाराधीन छ ।

महराले सभामुखबाट राजीनामा दिएपछि सो पदमा फेरि पनि नेकपाले दाबी गर्ने तयारी गरेपछि विपक्षी दल कांग्रेस चिढिएको छ । अधिनायकवादतर्फ उन्मुख सरकारले राज्यका सबै अंग आफ्नो नियन्त्रणमा राख्नका लागि हरसम्भव प्रयास गर्ने भएकाले संविधानविपरीत गएर नेकपाले सभामुखमा दाबी गर्नु अनौठो नभएको कांग्रेस नेताहरू बताउँछन् ।

नेकपाले भने सकेसम्म उपसभामुख कायम रहेकै अवस्थामा सभामुखमा पनि दाबी गर्ने, आलोचना बढेको खण्डमा उपसभामुखलाई राजीनामा दिन लगाएर सभामुख पद आफैंसँग राख्ने रणनीति तयार पारेको छ । उपसभामुख तुम्बाहाङफेले पार्टीबाट आफूलाई राजीनामाबारे अहिलेसम्म नभनिएको र त्यसरी राजीनामा दिन लगाउनेमा आफूलाई विश्वास नलागेको प्रतिक्रिया दिइन् । सभामुख निर्वाचनका बारेमा दलहरूबीच छलफल भएर सहमतिमै निष्कर्षमा पुगिनेमा आफू आशावादी रहेको उनको भनाइ थियो ।


Views: 123