18th November | 2019 | Monday | 5:21:33 AM

पाँच बर्ष बितिसक्दा पनि बनेका खाँडो नदीको पुल

अनिल पोखरेल   POSTED ON : कार्तिक १, २०७६ (६:१९ PM)

पाँच बर्ष बितिसक्दा पनि बनेका खाँडो नदीको पुल

सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठी स्थित खाँडो नदीमा पक्की पुल निर्माण शुरु गरेको पाँच वर्ष वितिसक्दा पनि निर्माण कार्य पुरा हुन सकेको छैन ।

समयमा पुल निर्माण नहुँदा दक्षिणी क्षेत्रका सर्वसाधारणलाई सदरमुकाम राजविराजसम्मको यात्रा कठिन बनेको छ ।

सप्तरीको सदरमुकाम राजविराजलाई मुख्य भन्सार नाकासँग जोड्ने राजविराज–कुनौली सडकखण्डमा पर्ने खाँडो नदीमा पक्की पुल निर्माण गर्न ०७१ असार ३१ गते सम्झौता भयो । दुई वर्ष (०७३ असार ३० गते) मा निर्माण सम्पन्न गर्ने हस्ताक्षर गरेर साढे ५ करोड रुपैयाँमा ठेक्का पाएका काठमाडौं स्थित पप्पुरमृत सञ्जीविनी जेयूले निर्माण कार्य शुरु गरे, तर निर्माण कार्य शुरु पनि अझैसम्म पुल निर्माण कार्य पुरा हुन सकेको छैन । निर्माण कम्पनीको चरम लापरवाहीका कारण समयमा पुल निर्माण नहुँदा दक्षिणी क्षेत्रका सर्वसाधारणलाई राजविराजसम्मको यात्रा कठिन बनेको छ ।

पुल निर्माणमा ढिलाई र निर्माण कम्पनीले सर्वसाधारणलाई आउजाउ गर्न आवश्यक डाइभर्सनको व्यवस्था नगरदिँदा नदी वारपार गर्न समस्या हुने गरेको छ । नदीमा बाढी आएको बेला झन् बालबालिकालाई विद्यालय पुग्न कठिन हुने गरेको स्थानीय बताउँछन् ।

सर्वसाधारणले निर्माण कम्पनीको लापरवाही तथा सडक विभागसहित सरोकारवाला निकायको निरीहता प्रति आक्रोश व्यक्त गरेका छन् । उनीहरुले पुल निर्माण कार्यलाई तीव्र तथा छिटो काम सम्पन्न गराउनेतर्फ सम्बन्धित निकायले ध्यान पुर्याउन पर्ने माग समेत गरेका छन् ।

पछिल्लो केही समय यता निर्माण कम्पनीले निर्माण कार्यमा तिव्रता दिएपनि चाडवाड शुरु भएसँगै पुनर्निर्माण कार्य ठप्प गरिएको छ । हाल निर्माण कम्पनी सम्पर्क विहीन अवस्थामा रहेको छ ।


Views: 96