19th November | 2019 | Tuesday | 2:44:50 PM

महराद्वारा बयान दिन अस्वीकार, म्याद थप्ने तयारीमा प्रहरी

हिमालय टाइम्स   POSTED ON : कार्तिक २, २०७६ (१०:०१ AM)

महराद्वारा बयान दिन अस्वीकार, म्याद थप्ने तयारीमा प्रहरी

काठमाडौं । यौैन दुव्र्यवहारको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराले स्वास्थ्यको कारण जनाउँदै बयान दिन अस्वीकार गरेका छन् । अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका महरामाथि गत असोज १९ गते संसद सचिवालयकी एक कर्मचारीलाई यौन दुव्र्यहार गरेको आरोप छ ।

प्रहरी स्रोतका अनुसार अहिले बोल्नसक्ने अवस्थामा नभएको भन्दै महराले प्रहरीसमक्ष बयान नदिएका हुन् । उनी उपचाररत नर्भिक अस्पतालले नै महरा अस्वास्थताका कारण बोल्नसक्ने अवस्था नरहेको भनेपछि उनको बयान लिन नसकिएको प्रहरीको भनाइ छ । 

काठमाडौं प्रहरी परिसरका प्रमुख उत्तमराज सुवेदीले बयानका लागि अस्पताल प्रशासनसँग अनुमति मागेको र अस्पतालले महरा बयान दिनसक्ने अवस्थामा नरहेको जानकारी गराएको बताए । ‘बयानका लागि हामीले अस्पताललाई पत्र लेखेर अनुमति दिनुप¥यो भनेर पत्र लेखेका थियौं,’ उनले भने, ‘अस्पतालले अहिले स्वास्थ्य अवस्थाका कारण बयान लिन सकिने अवस्था छैन भन्यो । त्यसैले बयान हुन सकेको छैन ।’

प्रहरीले आफ्नो कोणबाट अनुसन्धान गरिरहेको र बयान लिन नसकेको अवस्थामा आइतबार पुनः म्याद थपका लागि महरालाई अदालतमा पेश गर्ने उनले बताए । उनले भने, ‘२८ गते दिएको म्याद सकिएको छ । शनिबार अदालत खुल्दैन । आइतबार म्याद थपका लागि अदालतसमक्ष निवेदन गर्छौं ।’

आइतबार महरा अदालत जान नसक्ने अवस्थामा पनि अदालतले म्याद थप गर्न सक्ने उनले बताए । ‘उहाँलाई लगेर भए पनि, नलगेर भए पनि आइतबार म्याद थप हुन्छ,’ उनले भने, ‘त्यो उहाँको स्वास्थ्य अवस्थामा भर पर्छ । तर हालसम्मको केसमा म्याद थपका लागि आरोपीलाई अदालतमै लगेर म्याद थप हुने गरेको छ ।’

बयान नदिए के हुन्छ ?

अदालतले दिएको समयभित्र प्रहरीले महराको बयान लिन नसकेको अवस्थामा के हुन्छ भन्ने प्रश्न उठेको छ । पहिलोपटक थप भएको म्यादभित्र बयान नआएपछि फेरि अर्को पटक म्याद थप हुने र २५ दिनसम्म पनि बयान नआएको खण्डमा प्रहरीले आफ्नो प्रतिवेदन बुझाउने परिसरका प्रमुख सुवेदीले बताए । 

‘कुनै स्टेटमेण्ट नै नदिई होल्ड गरेर बस्ने भन्ने हुँदैन । यस्तो अवस्था रहेमा प्रहरीले आफ्नो काम गर्छ,’ उनले भने, ‘अन्तिम समयसम्म पनि उहाँको स्टेटमेण्ट आएन भने हामीले रायसहितको प्रतिवेदन सरकारी वकिलकोमा बुझाउँछौं । त्यसपछि बाँकी पक्रिया अगाडि बढ्छ ।’

अधिवक्ता स्वागत नेपाल महराले बयान दिनु र नदिनुले प्रहरी अनुसन्धानमा कुनै फरक नपर्ने तर्क गर्छन् । ‘बयान आयो भने प्रहरीले बयानसहितको प्रतिवेदन सरकारी वकिलकोमा बुझाउने हो । बयान आएन भने पनि प्रहरीले आफूसँग भएका अन्य प्रमाणहरूको आधारमा प्रतिवेदन बुझाउँछ,’ उनले भने । महराले बयान नदिएर मुद्दा कमजोर नहुने बरु महरालाई नै कमजोर बनाउने नेपालले बताए । उनले भने, ‘प्रहरीले त आफूसँग भएको प्रमाण पेश गर्छ । बयान नहुने अवस्था आयो भने अनुसन्धानमा सहयोग गरेन भन्ने प्रहरी प्रतिवेदन आयो भने महरा सरलाई थप गाह्रो हुन्छ ।’ 

असोज २३ गतेबाट अस्पताल भर्ना भएका महराको शरीरमा सुगरको मात्रा, अनिद्रा र तनाव बढेको नर्भिक अस्पतालले जनाएको छ । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले महराविरुद्ध यौन दुव्र्यवहारको जाहेरी दायर गरेकी थिइन् । शाहीको जाहेरीका आधारमा जिल्ला अदालतबाट पक्राउ पूर्जी लिएर महरालाई १९ गते सभामुखको सरकारी निवासबाटै प्रहरीले पक्राउ गरेको थियो । दुव्र्यवहारको आरोप लागेपछि महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए ।


Views: 95