18th November | 2019 | Monday | 11:20:48 PM

आलमको थुनछेक बहस आज सकिएन– शुक्रबार जारी रहने

श्याम कार्की   POSTED ON : कार्तिक २१, २०७६ (६:०२ PM)

आलमको थुनछेक बहस आज सकिएन– शुक्रबार जारी रहने

रौतहट । बम विष्फोटनमा परेर घाँइतेलाई जिउँदै इट्टाभट्टामा पोलेको अभियोगमा पक्राउ परेका पूर्व मन्त्री तथा रौतहट क्षेत्र नम्बर २ का निलम्वित सांसद मोहम्मद अफताव आलमको थुनछेक बहस शुक्रबारलाई सरेको छ । जिल्ला अदाललत रौतहटमा बिहीबार १ बजेदेखि सुरु भएको थुनछेक बहस अदालतको समय सकिँदा पनि बहस गर्नेहरु नसकिएपछि शुक्रबारका लागि सरेको रौतहट जिल्ला अदालतका श्रेस्तेदार गुणराज पराजुलीले जानकारी दिए । बिहीबार जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा आलमको बयान सकिएपछि थुनछेक बहस सुरु भएको थियो । बिहीबार अदालतमा सरकारका तर्फबाट सरकारी वकिल खडिन्द्रराज कटवाल, सहन्यायाधीवक्ता अर्जुन कोइराला र सुर्यराज दाहालले बसह गरेका श्रेस्तेदार पराजुलीले बताए । शुक्रबार सरकारी वकिल कार्यालय पर्साका उप न्यायधिबक्ता रुद्र प्रसाद पन्थी र सरकारी वकिल कार्यालय रौतहटका सह न्यायधिबक्ता राम प्रसाद पन्थीले बहस गर्ने उनले बताए । सरकारी वकिलको बहस सकिएपछि जाहेरवालाहरुको तर्फबाट पुर्व महान्यायधिबक्ता डा. युवराज संग्रौलाले बहस गर्ने जानकारी दिए । जाहेरवालाको तर्फबाट ९ जना वकिलले बहस गर्ने भएका छन । सरकारी पक्ष, पीडित र आलमका कानुन व्यवसायीको बहस बाँकी भएकाले बहस शुक्रबार पनि जारी रहको हो ।  दुवै पक्षका कानुन व्यवासायीको बहस सकिएपछि अदालतले थुनामा राख्ने, धरौटीमा छाड्ने वा साधारण तारिखमा छाड्ने भन्ने अदालतले आदेश दिनेछ । आलममाथि जिल्ला सरकारी वकिल कार्यालयले तीनवटा मुद्दा दर्ता गराएको छ । 

पीडितको पक्षबाट पूर्वमहान्यायाधिवक्ता डा. युवराज सङग्रौला, वरिष्ठ अधिवक्ता पुष्पराज पौडेल, आशिकराम कार्की, गोविन्द शर्मा बन्दी ओमप्रकाश अर्याल दिनेश त्रिपाठी डा. कुमार शर्मा आचार्य लगायतले बहस गर्नेछन् । प्रतिवादी आलमको पक्षबाट वकालत गर्न वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, योगेन्द्र अधिकारी, सुनील पोखरेल, कृष्ण घिमिरे (भुषण) रौतहट आएका छन् ।

यसअघि बिहीबारनै आलमको बयान सकिएको थियो । बयानको क्रममा आलमलाई ५१ बटा प्रश्न सोधिएको थियो । बिहीबार दिउँसो १ बजे सकिएको बयानको क्रममा आलमलाई ज्यान मार्ने उद्योग र बम विष्फोटसम्बन्धी कसुरबारे प्रश्नहरु सोधिएका थिए । न्यायाधीशले सोधेको अधिकांश प्रश्नको आलमले इन्कारी बयान दिएका छन् । 

२०६४ चैत २७ गते राति राजपुर नगरपालिकाको फरदवा गाउँमा भएको बम बिस्फोट सम्बन्धी घटनामा संलग्न रहेको आरोपितमा आलमलाई जन्मकैदको माग दाबी सहित रौतहट जिल्ला अदालतमा सोमबार मुद्दा दर्ता भएको थियो । प्रहरले आलमलाई असोज २६ गते गौर नजिकैको शेख इद्रिस गेटबाट पक्राउ गरेको थियो । 

फोटो : म्याद थपका लागि जिल्ला अदालत गौरमा परिसरमा नेता मोहम्मद अफताव आलम ।

 तस्विर - श्याम कार्की


Views: 139