18th November | 2019 | Monday | 10:30:39 PM

लिपुलेकका विषयमा प्रधानमन्त्रीले बोलाए सर्वपक्षिय परामर्श बैठक

  POSTED ON : कार्तिक २२, २०७६ (६:२१ PM)

लिपुलेकका विषयमा प्रधानमन्त्रीले बोलाए सर्वपक्षिय परामर्श बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विवादित लिपुलेकका बिषयमा सर्वपक्षिय परामर्श बैठक बोलाएका छन् ।

शनिबार (भोलि) दिनको ४  बजेका लागि बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले हिमालय टाइम्सलाई जानकारी दिए । 

बैठकमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीका साथै प्रमुख दलका प्रतिनिधिहरुलाई समेत बोलाइएको अर्यालले बताए । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस पनि यस विषयमा सबै दल एकजुट हुनु पर्ने बताउँदै आएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार काठमाडौंस्थित भारतीय राजदूतलाई फोन गरी कालापानी र लिपुलेक नेपालको भूमि भएको बताएका थिए।

भारतले हालसालै जारी गरेको कालापानी र लिपुलेकको नेपाली भूभाग आफ्नो नयाँ नक्सामा पारेको भन्दै विरोध हुँदै आएको छ । केही दिन अघि एक प्रेस विज्ञप्ति मार्फत नेपाल सरकार परराष्ट्र मन्त्रालयले कालापानी क्षेत्र नेपालको भूभाग भएको स्पष्ट गरेको छ ।

यसैबीच बिहीबार नेपालस्थित भारतीय राजदूतावासले पत्रकार सम्मेलन मार्फत कालापानी र लिपुलेकबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको थियो । विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता रविस कुमारले भारतले सार्वजनिक गरेको नयाँ नक्शामा कुनैपनि पूनरावलोकन नगरेको बताएका थिए । 


Views: 95